८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेशसभा र प्रतिनिधिसभाको मतपत्र एउटै

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी दुईवटा मतपत्र बनाइने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फ एउटा र समानुपातिकतर्फ अर्को मतपत्र बनाउन लागेको हो ।
एउटै मतपत्रमा माथिल्लो भागमा प्रतिनिधिसभाका लागि र तल्लो भागमा प्रदेशसभाका लागि मत दिन मिल्ने गरी मतपत्र तयार पारिने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
आगामी मंसिर १० र २१ मा हुन लागेको दुईवटा चुनावका लागि पहिले समानुपातिकतर्फको मतपत्र छापिनेछन् । प्रत्यक्षतर्फको मतपत्रचाहिँ दलहरूले उम्मेदवार दर्ता गरिसकेपछि छाप्न सुरु गरिनेछ ।
समानुपातिक र प्रत्यक्षका लागि छुट्टाछुट्टै गरी करिब एक करोड ८० लाख मतपत्र छाप्नुपर्ने आयोगको तथ्यांक छ । स्थानीय तह चुनावमा एक करोड ४० लाख बढी मतदाता थिए । नामावली छुट भएकाले आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि गरिएको मतदाता नामावली दर्तामा १० लाख बढी मतदाता थपिएका छन् । मतदाताको अन्तिम नामावली भने आयोगले प्रकाशित गरेको छैन ।
निर्वाचन आयोगले कात्तिक ५ मा प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ता गर्दैछ । आयोगका प्रवक्ता ढकालका अनुसार कति दलहरूले प्रत्यक्ष चुनावमा भाग लिन्छन् सोही आधारमा कात्तिक ८ मा आयोगले चुनाव चिह्न प्रदान गर्नेछ । दलहरूलाई चुनाव चिह्न दिइसकेपछि बल्ल आयोगले मतपत्र छाप्नेछ ।
मतदाता अलमल नपर्नेगरी एउटै मतपत्र बनाउन लागिएको आयोगको दाबी छ । मतपत्र १ र मतपत्र २ गरी स्पष्ट रूपमा तलमाथि दुईवटा प्रयोजनका लागि मतपत्र तयार पारिने प्रवक्ता ढकालले बताए ।
प्रत्यक्ष र समानुपातिकलाई माथि र तल दुई खण्डमा मत दिई मतदाताले एउटै मतपेटिकामा खसाल्ने गरी सरल तरिकाले बनाइएको छ । मतपत्रको रङ हल्का रातो र हल्का हरियो हुने आयोगको बैठकले निर्णय गरेको छ । अघिल्लो संविधानसभा चुनावमा हल्का रातो समानुपातिक र हल्का हरियो प्रत्यक्षतर्फका लागि राखिएको थियो । यसपटक पनि सोहीअनुसार हुने आयोगले जनाएको छ ।
समानुपातिकका लागि ८८ वटा राजनीतिक दलले चुनावमा भाग लिने भएका छन् । त्यसैले समानुपातिकतर्फ तलमाथि गरी ८८÷८८ वटा चुनाव चिह्न मतपत्रमा हुनेछन् ।
आयोगले समानुपातिकतर्फको मतपत्र दसैंलगत्तै छाप्ने निर्णय गरेको छ । समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने बेला मतपत्र छापिसक्नुपर्नेछ । राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची असोज २९ मा पेस गर्नुपर्ने गरी आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

प्रकाशित: ८ आश्विन २०७४ ०३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App