७ वैशाख २०८१ शुक्रबार
राजनीति

पर्सामा १३ तहको नतिजा आयो, वीरगन्जको मात्र बाँकी

 वीरगन्ज- केही ठाउँमा आधिकारिक घोषणा बाँकी पनि शनिवार साँझ ७ बजेसम्म पर्सा जिल्लाका १४ मध्ये १३ स्थानीय तहको नतिजा आइसकेको छ। सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले तीन तीन, नेकपा एमाले र नेपाली जनता दलले दुईदुई स्थानीय तहमा जितेका छन्।

पोखरिया, पर्सागढी र बहदुरामाई गरी ३ नगरपालिका र १० वटा गाउँपालिकाको मत परिणाम सार्वजनिक भएपछि यहाँ एकमात्र वीरगन्ज महानगरपालिकाको नतिजा आउन बाँकी देखिएको छ। पर्सागढी नगरपालिका, बहुदरामाई नगरपालिका र धोबीनी गाँउपालिकामा नेपाली काँग्रेस जित्न सफल भएको छ। जिराभवानी र पटेर्वा सुगौली गाउँपालिकामा एमालेले जित हात पारेको छ। त्यस्तै जगरनाथपुर, छिपहरमाइ र ठोरी गाँउपालिकामा माओवादी केन्द्रले विजय हाँसिल गरेको छ । सखुवा प्रसौनी, पकाहामैनपुर र विन्दवासिनी गाउँपालिकामा फोरम नेपालले जित हात पारेको छ। पोखरीया नगरपालिका र कालीकामाई गाँउपालिकामा नेपाली जनता पार्टीको चुनावचिन्ह लिएर मैदानमा उत्रिएको नेपाल संघीय समाजवादी पार्टीले जित हात पारेको छ। ६ वटा मधेसवादी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीले जिल्लामा कुनै स्थानीय तहमा प्रमुख वा उपप्रमुख जित्न सकेको छैन। 

यता प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्जमा फोरम नेपालले नेपाली काँग्रेसलाई उछिन्दै अग्रता लिएको छ। सुरुमा तेस्रो र बीचमा चौथो स्थानमासम्म देखिएको फोरमले शुक्रवार राजपालाई उछिन्दै काँग्रेसलाई पछ्याउन सुरु गरेको थियो। मतान्तर घटाउदै लगेको फोरमले काँग्रेसलाई ७२ मतले उछिनेको छ । काँग्रेसको सुरुदेखि अग्रता थियो । शनिवार साँझ सावा ६ बजे आएको ३८ हजार ५ सय १८ मतको परिणाम अनुसार फोरम नेपालका उम्मेदवारले मेयरमा ८ हजार ४ सय १० र उपमेयरमा ८ हजार ९५ मत पाएका छन् । रुख छाप भएका काँग्रेस उम्मेदवारले ८ हजार ३ सय ३८ र उपमेयरमा ९ हजार ६ सय ४५ मत पाएका छन् । उपमेयरमा काँग्रेसकै अग्रता छ। परेको मतदानको करिब १५ प्रतिशत बदर मत निस्किरहेको देखिएको छ।

वीरगन्जपछि पर्सा जिल्लाको दोश्रो केन्द्र पोखरीया नगरपालिकाको मेयरमा नेपाल संघीय समाजवादी पार्टीका दीनारायण रौनियार (मन्टु)ले ३ हजार २६ मत ल्याएर मेयरमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्दी पूर्व सभासद एंव संघीय समाजवादी फोरम नेपालका उम्मेदवार प्रधुम्न चौहानले २ हजार ७ सय ६७ मत ल्याएका छन् । २७ बर्षे दीपनारायणले चौहान र काँग्रेसका रामेश्वर रौनियार गरी दुई जना पूर्व सभासदलाई पराजित गर्दै जित हात पारेका हुन् । उनी यसअघि कुनै राजनीतिक पदमा उम्मेदवार वा निर्वाचित भएका थिएनन्।

पोखरीया नगरपालिकको उपमेयरमा फोरम नेपालकी सलमा खातुन विजयी भएकी छिन । पत्रकारिता पेशामा रहेकी ३० बर्षे सलमाले २ हजार ७ सय ४ मत ल्याएर निटकतम प्रतिद्वन्दी नेपाल संघीय समाजवादी पार्टीकी विणा देवीलाई  हराएकी हुन । विणाले २ हजार ४ सय ९५ मत पाएकी छन् ।

प्रकाशित: ७ आश्विन २०७४ १४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App