७ वैशाख २०८१ शुक्रबार
अन्य

मदिरामय समाज

मदिराको ‘म’ उच्चारण गर्न हिच्किचाउने बागलुङकी सञ्जिता शर्माको अहिले हरेक विकेन्ड ‘वाइन’सँगै बित्छ । शर्माले होटल रेस्टुराँमा होइन, घरमै पति र सासूससुरासँगै बसेर वाइनको चुस्की लगाउँछिन् ।
‘श्रीमान् र ससुराले बियर खानुहुन्छ,’ ब्राह्मण संस्कारमा हुर्किएकी शर्माले भनिन्, ‘हामीलाई वाइन ल्याइदिनुहुन्छ ।’ बागलुङबाट बिहे गरेर काठमाडौँ आएकी शर्मा सुरुका दिनमा निकै संकोच मानेको बताइन् । ‘माइतीमा वाइन खान त के, कुरा गर्नु पनि हुँदैनथ्यो,’ उनले भनिन्, ‘अहिले घरमा सबै–सँगै बसेर रमाइलो गर्दै पिउँछौं । मलाई एप्पलको फ्लेवरको वाइन मन पर्छ,’ उनले निर्धक्कसँग भनिन् ।
महिलाले मदिरा सेवन गरेको हेर्न त के सुन्न नसक्ने समाज अहिले ‘मदिरामय’ बन्दैछ । कुनै बेला ब्राह्मण समुदायमा वर्जित मदिरा अहिले अनिवार्यजस्तै भएको छ । व्यक्तिगत प्रयोगमा मात्र नभएर बिहेबारी, भोजभतेरमा अनिवार्य ‘भेराइटी’ बनेको छ । जनजाति समुदायले बाहेक ‘लुकिछिपी’ उपयोग गर्ने मदिराका ब्रान्डहरु ‘घरानियाका सोकेसमा सजिन’ थालेका छन् ।
पश्चिमी संस्कृति, खुला अर्थतन्त्रको बढ्दो प्रभाव । नेपालीको वैदेशिक भ्रमण र रोजगारीमा वृद्धि । आम्दानी बढेसँगै क्रयशक्तिमा भएको उच्चदरले पनि ‘मदिरा सोसल ड्रिङ्क’ बनेको छ ।
पुराना सामाजिक मूल्य, मान्यता फेरिएसँगै परम्परागत संस्कार पनि तोडिएको छ । अहिले पुरुष मात्र होइन महिलामा ‘वाइन कल्चर’को विकास भएको छ ।
वाइन प्रयोगकर्ताको संख्या बढेको डिभाइन वाइनका सन्तोष खड्काले बताए । ‘नेपालमा वाइनका उद्योग खोल्ने क्रम पनि बढेको छ,’ खड्काले भने, ‘वाइन व्यापार फस्टाउँदै गएको छ ।’
यसको व्यापार पनि वृद्धि भैरहेको छ । डिभाइन वाइनले रेड, ह्वाइट, हनी वाइन उत्पादन गरिरहेको उनले बताए । पछिल्लो समय भोजभतेर र पार्टीमा माग बढेसँगै चार लिटरको पार्टी प्याक वाइन पनि उत्पादन सुरु गरेको खड्काले बताए । अंगुर, स्थानीय फलफूल, लिची, अम्बा, नासपातीको सम्मिश्रण गरेर उत्पादन गरिरहेकाले लोकप्रियता बढेको कम्पनीको दाबी छ । ‘स्वास्थ्यमा चासो राख्नेहरुले हेल्दी ड्रिङ्कको रुपमा वाइन प्रयोग गर्छन्,’ उनले भने । डिभाइन वाइन स्वदेश मात्र नभएर विदेशी बजारमा पनि बिक्री सुरु गरेको बताए । नर्वेमा निर्यात गरिरहेको र दक्षिण कोरिया, मलेसिया, जापान लगायतक मुलुकमा पठाउने तयारी भएको जानकारी दिए ।
नेपालमा करिब चार दर्जन वाइन उद्योग दर्ता गरेको भए पनि दुई दर्जन कम्पनीले उत्पादन गर्दैआएका छन् । व्यक्तिको आम्दानीअनुसार न्यूनदेखि निकै महँगा मदिरा नेपाली बजारमा छन् । आम्दानीअनुसार ब्रान्डेन्ड ह्विस्की तथा वाइनहरु पिउने गरेका छन् । विदेशबाट आउनेहरुले ‘ह्विस्की तथा वाइन’ गिफ्ट ल्याउने प्रचलनको पनि विकास भएको छ । चाडपर्व, जन्मदिन, भोजभतेरमा पनि मदिरा उपहार लैजान संस्कृति बढ्दो छ ।
आफूले प्रयोग गर्ने मदिराको ब्रान्ड र मूल्यअनुसार ‘सोसल स्टाटस’लाई तुलना गर्ने प्रचलन पनि सुरु भएको छ । यहाँ घरपालुवा नामको तीन पानेदेखि अन्तर्राष्ट्रिय ब्रान्डका मदिराले बजारमा राम्रो हिस्सा जनाएका छन् ।  
नेपालमा छिमेकी मुलुक भारत, चीनसहित फ्रान्स, स्कटल्यान्ड, अमेरिका, अस्ट्रेलिया, युरोपेली मुुलुक स्पेन, बुल्गेरिया, पोर्चुगल, चिली, साउथ अफ्रिका दर्जनौँ देशबाट चर्चित ब्रान्डका रक्सी आउने गरेका छन् । प्रयोगकर्ताले सफ्टदेखि हार्ड ड्रिङ्ससम्म आ–आफ्नो रुचिअनुसार सेवन गर्छन् । निम्नदेखि उच्च वर्गीय परिवारका सदस्यको खुसी साट्ने माध्यम मदिरा बनेको छ । पुरुषले ह्विस्की, रम, रक्सी, बियर पिउने गरेकामा पछिल्लो अहिले महिला, पुरुष दुवैले उत्तिकै प्रयोग गर्न थालेका छन् ।
पारिवारिक तथा साथीभाइबीच ‘गेट टुगेदर’ गर्दा मदिरा अनिवार्य भैसकेको छ । मदिरा खुसियाली साटासाट गर्दा, तनावमा हुँदा, साथीभाइबीच रमाइलोसँग बिदा मनाउँदा, कुनै नयाँ काम सम्पन्न गर्दा या सुरु गर्दा मदिरा प्रयोग गर्ने चलन सुरु भएको स्विट हर्ट वाइनका बजार निर्देशक किसन खड्काले बताए । ‘पुरुषले हार्ड ड्रिङ्क प्रयोग गर्ने भएकाले वाइन महिलाहरुबीच लोकप्रिय छ,’ खड्काले भने, ‘यसले खपत पनि बढाएको छ ।’
घरेलु, स्वदेशी उद्योगले उत्पादन गरेका र विदेशबाट आयात गरेका ब्रान्डेड रक्सीले आ–आफ्नै वर्चस्व जमाएका छन् । मदिरासहित पेय पदार्थ अतिथिलाई सत्कार गर्ने प्रचलनको विकास भएको छ । नेपाली बजारमा टेन्सबर्ग, नेपाल आइस, रुस्लान, ओल्ड दरबार, समस्र्वी एप्पल साइडर, टुबोर्ग बियर, लन्डन आइस, गोर्खा, काल्सबर्ग बियर, रुस्लान भोड्का, ओल्ड दरबार ह्विस्की लगायत ब्रान्डले बजारमा हिस्सा बिस्तार गरिरहेका छन् । सबै कम्पनीले आ–आफ्नै ढंगले उपभोक्तालाई आकर्षित गरिरहेका छन् ।
स्वदेशी वाइनको बजार बढ्दै
नेपाली वाइन उद्योगले पनि प्रयोगकर्ताको मन जित्दै गएका छन् ।  महिलाले वाइनको प्रयोग गर्ने क्रम बढेपछि स्वदेशी उत्पादनले बजारमा राम्रो प्रभाव जमाउँदै गएको छ । वार्षिक १५ हजार बोटल वाइन उत्पादन गर्दै आएको मकालु वाइन इन्डस्ट्रिज प्रालिले क्षमता बढाएर अहिले वार्षिक साढे तीन लाख बोटल उत्पादन पु¥याएको छ । वनमा पाइने चुत्रो र ऐँसेलुको प्रयोग गरेर संखुवासभामा उद्योग सञ्चालन गरेको मकालुले हिन्वा ब्रान्डमा रेड र ह्वाइट वाइन उत्पादन गर्छ । करिब ४० लाख रुपैयाँ लगानीमा सुरु गरेको उद्योग अहिले करिब तीन करोड बढी पुगेको छ । स्वदेशी वाइनको बजारमा माग र लोकप्रियता बढेपछि लगानीकर्ता पनि उत्साहित छन् । अहिले तीनजुरे वाइन इन्ड्रस्ट्रिज प्रालि, मकालु वाइन इन्डस्ट्रिज प्रालि, स्नो म्यान वाइनरी प्रालि, महाकाली वाइन प्रालि, डिभाइन वाइन, डाँडाघरे वाइन, युनिभर्सल वाइन इन्डस्ट्रिज, रोयल काठमान्डु हिमालय वेभरज प्रालि लगायतका डेढ दर्जन कम्पनीले वाइन उत्पादन गर्दैआएका छन् ।
उद्योगीका अनुसार स्वदेशी बजारको आधा हिस्सा स्वदेशी उत्पादनले ओगट्न थालेका छन् । नेपालमा बहुराष्ट्रिय कम्पनीका ब्रान्ड आउने क्रमसँगै स्वदेशी उद्योगीले समेत लगानी बढाउँदै आएका छन् । चेसुङ्ग र डिसेन्ट ब्रान्डका वाइन तयार गर्दै आएको तीनजुरे वाइन इन्डष्ट्रिज प्रालिले पनि उत्पादन क्षमतासँगै लगानी पनि बढाएको छ । तीनजुरेले एक लाख बोटलबाट तेब्बर वृद्धि गरेर अहिले वार्षिक तीन लाख बोटल उत्पादन गर्न थालेको छ । नासपति, अंगुर लगायतका फलफूल, हर्वल हनी र यार्सागुम्बा सम्मिश्रण गरेर उत्पादन गरेको वाइन प्रयोगकर्ताले रुचाएका छन् । तीन जुरेको वाइन स्वीट, ड्राइसहित चार फ्लेवरमा छ । अंगुरको रेड वाइन, हर्वल हनी वाइन, फ्रुट(फलफूल) वाइन, यार्सा वाइन पनि उत्पादन गरेका छन् । करमा अझै सहुलियत दिए उद्योग फस्टाउने व्यवसायी बताउँछन् । स्वदेशी उद्योगलाई प्रोत्साहन दिनुपर्ने व्यवसायीको माग छ । खपत बढेपछि यस क्षेत्रमा लगानी बढेको हो ।
पाँच लाख रुपैयाँ पर्ने मदिरा
नेपाली बजारमा पाइने घरपालुवा रक्सी गाउँघरमा १० रुपैयाँ गिलास अथवा चियाकै मूल्यमा पाइन्छ । आफ्नो आर्थिक हैसियतअनुसार सेवन गर्ने गरेका छन् । नेपाली बजारमा अधिकतम करिब पाँच लाख रुपैयाँसम्मको मरिदा बिक्री हुन्छ । राजधानीको दरबारमार्गमा रहेको ग्रिन लाइन सेन्टरमा फ्रान्समा बनेको केन्याक ब्रान्डीको मूल्य चार लाख ९४ हजार सात सय रुपैयाँ राखिएको छ । यो ब्रान्डी फ्रान्समा बनेको हो । सो सेन्टरमा सात सय ५० मिलिलिटरका जोनवाल्क हिस्कीको मूल्य चार लाख रुपैयाँ रहेको छ । सो हिस्की स्टकल्यान्डमा बनेको हो ।
नेपालमा फ्रान्स, स्पेन, इटली, अस्ट्रेलिया, चिली लगायतका दर्जनौं देशबाट महँगा मदिरा आउने गरेको ग्रिन लाइन सेन्टरका सेल्स मेनेजर शिवकृष्ण श्रेष्ठले बताए । ‘पछिल्लो समय वेभरेजको नेपाली बजारमा स्कोप बढ्दै गएको छ,’ श्रेष्ठले भने, ‘हजारौँ प्रकार मदिरा बिक्री गरिरहेका छौं ।’
नयाँ लगानी थपिँदै
मदिरा प्रयोग गर्ने वृद्धि भएसँगै लगानीकर्ता पनि आकर्षित भएका छन् । पछिल्लो दुई वर्षमा करिब ४० वटा मदिरा उद्योग दर्ता भएर पूर्वाधार तयार गर्न सुरु गरेका छन् । वार्षिक करिब साढे पाँच करोड लिटर मदिरा उत्पादन गर्ने लक्ष्यसहित पूर्वाधार तयार गरिरहेको उद्योग विभागले जनाएको छ । करिब दुई अर्ब रुपैयाँ गर्ने तयारी गरेका छन् । रौतहटमा सुधा डिस्टिलरी, नवलपरासीमा सागर डिस्टिलरी, तनहुँको आँबुखैरनीमा सूर्य ब्लेन्डर्स प्रालि, नवलपरासीमा अरुणा डिस्टिलरी, सर्लाहीमा अभिनव डिस्टिलरी, काभ्रेमा शिखर लिकर्स एन्ड डिस्टिलरी, झापामा मनास्लु डिस्टिलरी, नवलपरासीमा लिकर्स प्रालि, महोत्तरीमा नटराज स्प्रिट इन्डस्ट्रिज प्रालि, फार वेस्ट लिकर्स प्रालि उद्योग सञ्चालन गर्ने तयारीमा छन् ।  
विदेशी मदिराको ‘हब’
नेपाल स्वदेशी मात्र नभएर विदेशी मदिराको पनि हब बनेको छ । दर्जनौं बहुराष्ट्रिय कम्पनीले नेपालमा ह्विस्की, वाइनलगायत मदिराजन्य पेय पदार्थ निर्यात गरिरहेका छन् । स्वदेशी उत्पादनले मात्र नथेगेर वार्षिक करिब सवा करोड लिटर मदिरा विदेशबाट आयात हुने गरेको भन्सार विभागले जनाएको छ । उपभोक्ताको आर्थिक क्षमता अनुसार न्यूनतम एक सय रुपैयाँ लिटरदेखि पाँच लाख रुपैयाँ लिटरसम्मका रक्सी नेपाली बजारमा बिक्री हुने गरेको छ ।
विश्वभरका चर्चित कम्पनीले नेपालमा रक्सी बिक्री गर्ने गरेको संघका अध्यक्ष रवि केसीले बताए । ‘विश्वभरबाट यहाँ रक्सी आउने गरेको छ,’ केसीले भने, ‘मदिराका लागि वार्षिक अर्बौं रुपैयाँ विदेशिएको छ ।’ यहाँ घरेलु, स्वदेशी उद्योग र विदेशबाट आयात भएको रक्सी बिक्री हुन्छ । ‘सरकारले गैरकानुनी भने पनि करिब ३० प्रतिशत बजार हिस्सा घरेलु रक्सीले ओगटेको छ,’ केसीले भने, ‘स्वदेशी उद्योगले बजार मागको ४५ प्रतिशत उत्पादन गरिरहेका छन् । २५ प्रतिशत विदेशबाट आयात हुन्छ ।
स्वदेशी उद्योगले वार्षिक करिब २५ अर्ब रुपैयाँको कारोबार गर्छन् । नेपालमा रक्सी उत्पादन गर्ने छ दर्जन बढी उद्योग छन् । वाइन उत्पादन गर्ने उद्योगको संख्या पनि बढ्दै छ । ‘एउटा रक्सी उद्योग चलाउन न्यूनतम सात करोडदेखि तीन अर्ब रुपैयाँ लगानी भएको छ,’ केसीले भने, ‘मदिरा उद्योगमा निजी क्षेत्रले खर्बौं रुपैयाँ लगानी गरेको छ ।’ मदिराको खपत बढेसँगै लगानी पनि बढेको बताए । स्वदेशीसहित दर्जनौं विदेशी ब्रान्डका रक्सीले नेपाली बजारमा हिस्सा जमाउँदै आएका छन् । नेपाली उद्योगीले गुणस्तरीय मदिरा उत्पादन गरेकाले विदेशी मदिराको प्रतिस्थापन हुने क्रम बढेको उनले बताए । सरकारले मदिरामा लगाउँदै आएको कर वृद्धि दर निकै बढी भएको संघका अध्यक्ष केसीले बताए । ‘सरकारले हरेक वर्ष अन्तशुल्क बढाउँदै आएको छ,’ केसीले भने, ‘बढाउँदै जाँदा अत्यधिक हुने सम्भाबना रहेकाले यसमा विचार गर्नुपर्छ ।’ सरकारले उपयुक्त नीति बनाएर रक्सी उद्योगलाई प्रोत्साहन गरे निर्यातको सम्भावना रहेको केसीले दाबी गरे ।

चाडबाडमा खपत वृद्धि
अन्यको तुलनामा दसैँतिहार सहितका चाडबाडमा दोब्बर खपत वृद्धि गरेको मदिरा व्यवसायी बताउँछन् । दसैँतिहारमा उपचार लैजाने चलन पनि छ । बिदाको समय आफन्त, साथीभाइ भेटघाट हुने भएकाले मदिरा प्रयोग गरेर रमाइलो गर्छन् । ‘अन्यको तुलनामा अब करिब दोब्बर खपत बढ्छ,’ अध्यक्ष केसीले भने ।
पछिल्लो समयमा सुगरका बिरामीलाई लक्षित गर्दै कम्पनीहरुले सुगर फ्रि मदिरासमेत बजारमा ल्याएका छन् । दुर्गम क्षेत्रमा स्थानीयले बनाएको रक्सी प्रयोग गर्छन् भने सहरी क्षेत्रमा स्वदेशीसहित विदेशी ब्रान्डका मदिरा प्रयोग गर्ने गरेका छन् । रुचिअनुसार गाउँमा पाइनले तीन पाने, जाँड, छ्याङसहित वियल, वाइन, भोड्का, रम, ह्विस्की, जीनको प्रयोग गर्ने गरेका छन् । मदिरा सरकारले राजस्व संकलन गर्ने गतिलो माध्यम पनि बनेको छ । लिमिटमा प्रयोग गरे बियर, वाइन, हिस्की लगायतका मदिराले स्वास्थ्य राम्रो भए पनि अत्यधिक प्रयोग गरे विभिन्न प्रकारका रोगको खतरा रहेको चिकित्सकहरु बताउँछन् । अत्यधिक रक्सी सेवन गर्नेलाई मुख तथा घाँटीको क्यान्सर हुने जोखिम, मुटुरोग, उच्च रक्तचाप, पाचनक्रियामा गडबडी, अनुहार फुल्ने, छाला चाउरिने, निद्रा नलाग्ने र निराशा बढ्ने समस्या पनि देखिने गरेका छन् । जनसंख्या वृद्धिकै अनुपातमा उपभोग गर्नेको संख्या पनि बढ्दै गएको छ । सफ्ट ड्रिङ्क्सको रुपमा रहेका वियरमा उपभोक्ताको मागअनुसार कम्पनीले अल्कोहलको मात्रा बढाएर ‘हार्ड ड्रिङ्क’ बनाउन थालेका छन् । बियरले अल्कोहलको मात्रा बढाएर सेवन गरेपछि लाग्ने (झम्म पार्ने) बनाएका हुन् । अरु सिजनको तुलनामा गर्मी मौसममा बियरको खपत बढ्छ ।

प्रकाशित: ७ आश्विन २०७४ ०७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App