१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

दक्षिणा महात्म्य

आयु द्रोण सुते, श्रीयं दशरथे

शत्रुक्षयं राघवे, ऐश्वर्य नहुषे
गतिश्च पवने, मानं च दुर्योधने
सौर्यं सान्तनवे, वलं हलधरे
सत्यंच कुन्तीसुत, विज्ञानं विदुरे
भवन्तु भवतां कीर्तीश्च नारायणे

दक्षिणामा पहिले–पहिले नगद बढी दिइन्थ्यो भने अचेल जिन्सी पनि दिन थालिएको छ । दक्षिणाको साटो पहिले धेरैले पहेँलो जमरा दिँदै आशीर्वाद दिने समेत गर्थे । अचेल भने दक्षिणामा समेत प्रतिस्पर्धा बढ्न थालेको छ । सहरमा त यो फेसनजस्तै बन्न थालेको छ ।

(ऋषि द्रोणाचार्यका पुत्र अस्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो शत्रुहरण क्षमता होस्, नहुषको जस्तो ऐश्वर्य होस्, पवनको जस्तो गति होस्, दुर्योधनको जस्तो सान र मान होस्, सूर्यपुत्र कर्णझैँ दानी स्वभाव होस्, भीमसेनको जस्तो बल होस्, युधिष्ठरको जस्तो सत्यवचन होस्, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कृति छाओस्)
दसैँमा पुरुषलाई दिइने आशीर्वाद हो यो । महिलाका लागि भने देवी स्वरूप बन्नु भन्ने कामना गर्दै आशीर्वाद दिने चलन छ ।
जयन्ती मंगलाकाली
भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवधात्री
स्वाहा स्वधा नमोस्तुते ।

(संसारलाई नै जित्न सक्ने सामथ्र्य राख्ने देवीझँै जसले हरेक अन्धकारमा ज्योति छर्न सक्छिन्, हरेक दुःख निदान गर्ने समयभन्दा बलवान देवी जसले मानव खप्परको माला लगाउँछिन्, त्यस्ती देवीलाई नमन गर्दछु ।)
मान्यजनबाट टीका थाप्दा दसैँमा हिन्दू धर्मावलम्बीले टीका, पहेँलो जमरा र आशीर्वाद पाउने गर्छन् । त्यत्ति मात्र होइन, छोरीचेली, ज्वाइँ, भाञ्जाभाञ्जीलगायतले त दक्षिणा समेत पाउँछन् ।
नेपाली समाजमा दसैँ र दक्षिणा एक–अर्काको पर्यायजस्तै बन्न थालेका छन् । समाजशास्त्रीका अनुसार पछिल्ला वर्षमा दसैँमा देखावटी चलन बढ्दा दक्षिणा संस्कृति अझ बढ्दो छ । त्यसले धन हुनेका लागि यो आडम्बर देखाउने अस्त्र बनेको छ भने नहुनेका लागि दसैँ नै दशा बन्न समेत थालेको छ ।
दक्षिणा दिने चलन कहिलेदेखि सुरु भयो भन्ने यकिन नभए पनि धार्मिक गुरुका वैदिक कालदेखि नै यसको सुरुवात भएको दाबी गर्छन् । धार्मिक गुरु आमोदवर्धन कौण्डिन्न्यायन दक्षिणाको प्रारम्भ प्राचीन वैदिककालका यज्ञयज्ञादिबाट सुरु भएको बताउँछन् ।
ऋŒिवकहरूले यज्ञ गर्दा गुरुहरूलाई कर्मबापत गाई, घोडा, सुन, पैसालगायत दिइन्थ्यो । कर्मबापत यस्ता कुरा नदिए कर्म फल प्राप्त हुँदैन भन्ने मान्यता भएकाले दक्षिण संस्कृति सुरु भएको हो ।
उनी वैदिक धर्मशास्त्र तथा पुराणमा काम अह्राएबापत प्रशन्न पार्न दक्षिणा दिनुपर्ने उल्लेख रहेको बताउँछन् ।
दक्षिणा शब्द निरूपत शास्त्र (जसले शब्दको व्युत्पत्ति गर्छ) मा रहेको दक्ष धातुमा प्रत्यय लागेर बनेको हो । यसको अर्थ कर्मलाई समृद्ध बनाउनु भन्ने हुन्छ । साह्रै समृद्धले धेरै ठूलो दक्षिणा दिने तथा नभएकाले पत्रम् पुष्पम् मात्र गर्न सकिने उनी बताउँछन् । ‘मानिसले कुरा नबुझेर हाम्रा चाडबाड खर्चालु भएका हुन्,’ उनी भन्छन्, ‘हाम्रा धर्मशास्त्रमा यति गर्नैपर्छ भन्ने उल्लेख छैन ।’
दसैँमा शक्तिको उपासना गरिएको हुन्छ । त्यसैको प्रसादका रूपमा दक्षिणा दिइएको उनको धारणा छ । ‘राजा महाराजाले ब्राह्मण बोलाएरै चण्डी पाठ गराएपछि दक्षिणा दिने चलन थियो,’ उनले भने, ‘शक्तिको आराधना गरेको फलदार र कर्म सिद्ध होस् भनेर दक्षिणा दिइन्छ ।’ भूयसी अर्थात् थप दक्षिणा भनेर यसको अर्थ लगाउने चलन पनि रहेको उनी बताउँछन् । ‘दसैँको टीकामा दिने दक्षिणा भने छोरीचेली, भानिज तथा गरिबलाई दिने भुयसी दक्षिणा हो,’ उनी भन्छन्, ‘जोसित सम्पत्ति छ, उसले अरुलाई वितरण गरोस् भन्ने सामाजिक, आर्थिक समानताको धारणाले यसको विकास भएको हो ।’
दक्षिणामा पहिले–पहिले नगद बढी दिइन्थ्यो भने अचेल जिन्सी पनि दिन थालिएको छ । दक्षिणाको साटो पहिले धेरैले पहेँलो जमरा दिँदै आशीर्वाद दिने समेत गर्थे । अचेल भने दक्षिणामा समेत प्रतिस्पर्धा र बढ्न थालेको छ । सहरमा त यो फेसनजस्तै बन्न थालेको छ ।
गीतकार कालीप्रसाद रिजाल हाम्रो संस्कृति बदलिँदै गएकाले दक्षिणाको चलन पनि फेरिएको ठान्छन् । ‘हाम्रो पालामा आफ्नै मौलिक चाडबाड मात्र मनाउँथ्यौँ,’ उनले भने, ‘अचेल बाह्य प्रभाव पर्दै गएको छ, नेपालीको हरेक कुरा स्वीकार गरिहाल्ने स्वभावको परिणाम दक्षिणामा परेको हुन सक्छ ।’
उनका अनुसार चलिआएको दसैँ–तिहारसँगै क्रिसमस, भ्यालेन्टाइ डे पनि मनाउन थालिएका छन् । ‘म संयुक्त परिवारमा हुर्किए, उसबेला जन भएपछि बल हुन्छ भन्ने मान्यता थियो,’ उनी भन्छन्, ‘हजुरबाको आठभाइ छोरा, आठ बुहारी, नाति नातिना, भाञ्जाभाञ्जी जम्मा हुँदा सानोतिनो मेला नै लाग्थ्यो दसैँमा ।’
टीका लगाउन पालो कुर्नुपथ्र्यो । तीन पुस्ता एकै ठाउँमा बसेर टीका लगाउने चलनमा ठूलाले सानालाई आशीर्वाद र दक्षिणा दिनुको बेग्लै महŒव थियो । छोरा भएकाले उनले घरबाट दक्षिणा नपाए पनि ज्वाइँ हुँदा दक्षिणा पाउँथे । सानो बेला दक्षिणा नपाएको खिन्नता उनको ज्वाइँ बनेपछि मेटिएको थियो ।
‘छोरा मान्छेले पनि दक्षिणा नपाउने छोरी मान्छेलाई ढोग्ने र दक्षिणा पनि दिने त्यो बेला छोरा हुनु अभिषापजस्तै लाग्थ्यो,’ रिजाल सुनाउँछन्, ‘हिँडेर कुटुम्बकहाँ गयो टीका थाप्यो, खान दिन्थे र रमाइलो ग¥यो फक्र्यो ।’ उनी आफ्ना नाति र नातिना दुवैलाई दक्षिणा दिने गर्छन् । दसैँ अचेल सेलेब्रेट गर्ने चाड बन्न थालेको उनको अनुभव छ । उनका अनुसार भड्किलो खर्च हुन थाल्यो । जमरा, टीका र मासुबाहेक गच्छ अनुसारको दक्षिणामा प्रतिस्पर्धाले ठाउँ लिएको उनले बताए । ‘हुनेले त दिए दिए, तर नहुनेले पनि देखासिकीमा ऋण काढेर दिन थाले दक्षिणा,’ रिजाल नकारात्मक पाटो कोट्याउँछन्, ‘यसले दसैँ रमाइलोभन्दा एउटा वर्गलाई पीडा बन्न थालेको छ ।’ आफ्नै आफन्तीमा पनि जसकारण आत्मीयताभन्दा दक्षिणा कम दिन्छ के जानु त्यस्तोमा भन्ने भावनाले जरा गाड्न थालेको रिजालले उल्लेख गरे ।
साहित्यकार गीता त्रिपाठीलाई काभ्रे पलाञ्चोक घरबाट भकुण्डेबेसी मामा घर दसैँमा जाँदा दक्षिणा पाइन्छ भन्ने छुट्टै मजा लाग्थ्यो ।
‘छोरी भएकैले प्रायः सबै ठाउँमा दक्षिणा पाइन्थ्यो दक्षिणा धेरै हुँदा रमाइलो फिल हुन्थ्यो,’ उनले मीठो अनुभव बताइन्, ‘यति दिएछन् भन्ने भावना आउँदैनथ्यो घर पुगेर कोठामा एक्लै गनिन्थ्यो ।’ अचेल भने नाताअनुसार ज्वाइँ छोरी, बैनी, भान्जालाई यति दिनुपर्ने भनेर धेरै परिवारमा रेट लगाएको उनले देखेकी छन् । ‘आफैँले दक्षिणा दिने बेला पनि आयो,’ उनले थपिन्, ‘हामीले जस्तो अप्ठेरो नमानी दिनेकै अगाडि नै गन्ने र हेर्ने चलन आयो ।’ दसैँमा पैसा हाबी भएको उनले स्विकार्छिन् । दसैँको फरक भावना र हार्दिकता छ, त्यो दक्षिणाले तल पारिदिएको उनले सुनाइन् । दसैँमा भएका खर्च उठाउने मेसो दक्षिणा बन्दै गएको तीतो पनि उनले पोखिन् ।
सामान्य आम्दानी हुनेले दक्षिणा दिनुपरेकै कारण दसैँ नमान्ने त भन्ने प्रश्न समाजमा उठ्न थालेको उनले महसुस गरेकी छन् । दसैँमा टाढा–टाढा दुःख गरेर आशीर्वाद लिन जाने चलनबाट दसैँको भाग पु¥याउन जानेतिर संस्कार मोडिँदै गएको पनि उनले देखेकी छन् । आर्थिक वितरण समान नभएको नेपाली समाजमा दक्षिणाको मौलिकता मेटिँदै गएको पनि उनी ठान्छिन् ।
कलाकार सन्तोष पन्त पैसाको मूल्य कम हुँदै गएकाले पनि दक्षिणाको चर्चा बढी नै दसैँमा हुन थालेको बताउँछन् । ‘हाम्रो पालाको दसैँ एकसुका वाला दसैँ हो,’ पन्त भन्छन्, ‘अलिक ठूलाले एक मोहोर अनि ठूला ज्वाइँले एक रुपैयाँसम्म पाइन्थ्यो ।’ अचेल सानो बच्चाले पनि एक सय दक्षिणा नलिई नमान्ने फेसन बनेको उनको अनुभवले बताउँछ ।
दक्षिणाले मध्यम वर्गलाई दसैँ ‘नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाउको अनुहार’ बनेको उनले उल्लेख गरिन् । ‘अब सरकारले दक्षिणामा पनि कडाइ गरेर नियम बनाउनुपर्ने बेला आएको छ,’ उनले भने, ‘५१ रुपैयाँ तोक्नुपर्ने अवस्था आइसक्यो ।’ अचेल दक्षिणामा उनी पनि जोरीपारीका अघि कम्तीमा पाँच सय दिन उनी पनि बाध्य छन् ।
उनका हजुरबाको चार दाजुभाइका सबै खलक एकै ठाउँमा भेला भएर टीका लाउने गर्थे । अहिले कान्छीआमा मात्र बाँकी रहेकाले उनैकहाँ टीका लाउन जान्छन् । बच्चा हुँदा घटस्थापनाको भोलिपल्टदेखि खुब रमाइलो मान्थे उनी । ‘घरमा ल्याएको बोका चराउन जाँदाको रमाइलै अर्कै,’ उनले सम्झे, ‘दक्षिणा भने छोरा भएकैले नपाउने, जसलाई पनि ढोग्नुपर्ने हुन्थ्यो ।’
कलाकार मदनकृष्ण श्रेष्ठको पहिलेको घर धोबिधारा थियो । जहाँ बाजेबज्यैसँगै बाल्यकालको दसैँ उनले मनाएका थिए । अहिले सुनाकोठीमा एकल दसैँ मान्छन् । ‘जे भए पनि हुने वा नहुने दुवैलाई गाह्रो हो दक्षिणाको चलन,’ उनले भने, ‘एकदम राम्रो अनि नराम्रो पनि हैन ।’ संस्कार परिवर्तन हुँदै जाने कारण दक्षिणाको चलनमा फरक आएको उनले बताए । ‘नेपाली धनी होस् दिन सक्ने होस् भन्ने चाहन्छु तर नभएको कुरा ऋण खोजेर पूरा गर्न भने हुन्न,’ श्रेष्ठ भन्छन् । उनी सानो छँदा उनका हजुरबाले पूजा नसकी दसैँमा भात खान पनि पाइँदैनथ्यो ।
‘राति उठेर छिट्टै पानी तताइदिन्थेँ,’ उनले सम्झे, ‘दुई घन्टा मन्दिरमा पूजा गर्दा उहाँले बजाउने घन्टी र डमरुको ताल गनेर बस्थेँ । जब सकिने बेला भयो भने जस्तो भएपछि खुरर्र भान्छामा घिउ–चिउरा माग्न पुग्थेँ ।’ घरकै अगाडि पिपलको बोटमा हालेको पिङमा मच्चिदा संसारै जितेजस्तो लाग्थ्यो उनलाई । नेवार परिवार भए पनि पर्वतेले झैँ टीका जमरा लाउने दक्षिणा दिने चलन चलेको थियो ।
निजगढको मामाघर भने टाढा भएकाले उनी धेरै जान पाएनन् । ‘जेठी बज्यै, कान्छी बज्यैले दक्षिणा भनेर पाँच पैसा हातमा दिँदा पनि खुसी भइन्थ्यो,’ उनले भने, ‘अचेल त नयाँ ज्वाइँ, पुरानो ज्वाइँ, भाञ्जाभाञ्जी क्याटगोरी गरेर दिने गरिन्छ ।’ छोरीचेली दसैको दश दिन आफ्नै घरमाा व्यस्त हुने हुँदा दसैँलगत्तै माइत बोलाएर नखत्या खुवाउने चलन छ । नेवारी समुदायमा मर्दापर्दा चेली नभई काम चल्दैन । मान्छे मरेको छ भने पनि पितृलाई चढाउने भोग र सरसामानको जोहो छोरीकै हातबाट गरे स्वर्ग तरिन्छ भन्ने मान्यता छ ।
संयुक्त समाजमा बसेकै कारण नेवारले मनाउने पर्व र गैरनेवारले मनाउने पर्वमा हार्दिकतापूर्वक सहभोजको चलन पनि रहेको श्रेष्ठ बताउँछन् । सद्भाव बढ्ने सकारात्मक तŒवलाई बढावा दिइए पनि दक्षिणाजस्तो संस्कारलाई भने प्रतिस्पर्धाभन्दा संस्कारकै रूपमा अगाडि बढाउनुपर्नेमा उनी जोड दिन्छन् ।
भूमिका श्रेष्ठ तेस्रोलिंगी हुन् । बाल्यकालमा उनी अरु सामान्य बालबालिकाले झैँ दसैँ मनाउँथिन् । काठमाडौं घर भएकी उनको काभ्रे मामा घर हो । ‘आज बिहान भर्खर पनि ममीसँग कुरा गरेको यसपाला कुन लुगा लाउने होला भनेर,’ उनले सुनाइन्, ‘कुर्ता हेरेको छु, लाउँछौ भनेर भन्नुभयो ।’ बच्चामा पनि दसैँमा नयाँ लुगा र नयाँ जुत्ता पाउँदा वरपर देखाउन खुब उत्सुक हुन्थिन उनी । अहिले भने उनका दिदीका छोराछोरीहरु ‘सानिमा लेहेँगा चाहियो, जुत्ता चाहियो’ भनेर वरिपरि झुम्मिदा रमाइलो लाग्ने उनले बताइन् ।
दसैँमा नयाँ लुगा लाउने मामाघर जाने टीका लाउने दक्षिणा लिने गर्दाको रमाइलो अनुभूति उनका लागि भुल्नै नसकिने छ । अहिले परिवारको दसैँ चलाउन आफैँ जिम्मेवार छन् । पहिले अर्कै व्यवहार गर्थे उनलाई । जब उनी तेस्रो लिंगी भइन्, सुरुका दसैँमा हजुरआमा लगायत आफन्तले केही समय अप्ठेरो मानेको उनले सुनाइन्् ।
आफ्नै पहिचानमा दसैँ मनाउँदा खुसी लाग्छ उनलाई । फरक पहिचान भए पनि चाडवाडमा आफ्नो समुदाय र परिवारसँग छुटेर बस्न सक्दिनन् । ‘दसैँको दक्षिणा भने टीका आशीर्वाद दिएजस्तै हो,’ उनले भनिन्, ‘मान्छे हेरेर दक्षिणा दिने अहिलेको ट्रेन्ड गलत हो ।’ दक्षिणाले संस्कारभन्दा प्रतिस्पर्धाको रूप लिएकामा उनी दुःखी छन् । बाल्यकालमा संस्कार थाहा नहुँदा मामाघरबाट आएको दक्षिणा कति भयो भनेर गन्ने गर्थिन् । दसैँअघि नै पनि कति घरबाट दक्षिण पाइन्छ भनेर घरै समेत गन्न भ्याउँथिन् ।
समाजशास्त्री मृगेन्द्रबहादुर कार्की दसैँ भनेको शक्तिको आराधना गर्ने समय भएको मान्छन् । ‘शक्तिको स्रोत देवी हो, त्यसैको सांकेतिक स्वरूपमा कन्यालाई दक्षिणा दिने चलन बसेको हो,’ उनी भन्छन्, ‘नत्र छोरानातिलाई पनि दिइनुपर्ने दिइँदैन ।’
उनका अनुसार छोरीचेली बिहे गरेर बाहिर जाने र कतिपय गएका अवस्थामा पनि हुन्छन् । यसले परिवारमा उसको अभाव र माया खट्किने गर्छ । दसैँमा त्यही मायाको परिपूर्ति दक्षिणाका रूपमा खन्याएर राहत महसुस परिवारका सदस्यले गर्ने उनले बताए । छोराले घर बसेरै घरको धनसम्पत्ति चलाइरहेका हुन्छन् । छोरीले त्यो चलन गर्न नपाउँदाका अवस्थामा दसैँमा दक्षिणा तथा बाटा खर्च दिएर परिपुरण गर्ने संस्कारले पनि दक्षिणाको महŒव रहेको कार्की बताउँछन् ।
बिहे गरेर गएको छोरी र परिवारीबचको तथा घरबाट टाढा रहेका परिवारका सदस्यबीचको सामीप्यताको डोरी नै दसैँको दक्षिणा भएको उनी प्रस्ट्याउँछन् । ‘अचेल भने दसैँको त्यो खालको इमोसनल भ्यालु बिग्रिएको छ,’ उनले भने, ‘माइत जान एक–डेढ वर्ष नकुरी मामुले बनाएको खान जान्छु भनेर बीचबीचमै जाने गर्छन् ।’ दुई वर्षमा एकपटक भेट्नु र एक महिनामा भेट्नुमा फरक भएको उनले बताए । उनी दक्षिणाको अर्थ फरक हुनुमा पैसाको मूल्य घटबढ हुनु रहेको अर्को तर्क गर्छन् । देवीका रूपमा प्रतिनिधित्व गरेर महिलालाई लाक्षणिक रूपमा स्विकारेर चढाएको दक्षिणा अब वस्तुवादी हुँदै गयो ।
पहिले गाउँघरमा मासु खाने दिने चलन थियो, हराउँदै वस्तु दिने–लिने चलन बढ्दै गएको उनी औँल्याउँछन् । त्यस्ता कुरालाई पनि दक्षिणामै गणना गर्न थालिएको छ । जसले एक वर्गलाई हानि नै गर्छ । हिजो जुन कुराले आत्मीयता दिन्थ्यो, आजको आधुनिक समाजले त्यसलाई फरक रूपमा व्याख्या गर्न थालेकाले दक्षिणाको परिचयमै असर परेको कार्की उल्लेख गर्छन् । तर जे भए पनि दक्षिणाले परम्परालाई निरन्तरता दिइरहनु पनि दसैँको आफ्नै मौलिकता बाँकी रहनु भएको उनी ठान्छन् ।

प्रकाशित: ७ आश्विन २०७४ ०६:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App