८ वैशाख २०८१ शनिबार
समाज

सिद्धबाबामा पहिरो खस्दा तीनको मृत्यु

बुटवल – सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको तिनाउ गाउँपालिका वडा नं ३ स्थित तिनाउ जलविद्युत्को ड्याम नजिकै शनिबार बिहान पहाडमाथिबाट खसेको ढुंगे पहिरोले गुडिरहेका ट्रक र कारलाई च्याप्दा तीनजनाको ज्यान गएको छ। 

राजमार्गमाथिको पहाडबाट खसेको ढुंगे पहिरोले पाल्पाबाट बुटवल आउँदै गरेको ना३ख ६१९२ नंको ट्रक र लु१च ७९९४ नंको मारुती अल्टो कारलाई पुरेको थियो। 

पाल्पा सिद्धबाबा मन्दिरबाट करिब ५०० मिटर उत्तर दोभानमा माथिबाट खसेको ढुंगे पहिरोमा ती सवारी साधन च्यापिएर तीनमा सवार तीनजनाको ज्यान गएको हो। पहिरोले च्यापिएर कारमा सवार दुईजनाको र ट्रकका चालकको ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। 

मृत्यु हुनेमा ट्रक चालक तिनाउ गाउँपालिका–४ का माधव राना, कारमा सवार गुल्मी रुरु गाउँपालिका काउलेका तीलकराम भण्डारी र बलेटक्सार–४ गुल्मीका यमलाल ज्ञवाली रहेको प्रहरीले जनाएको छ । ट्रक चालक राना र कारमा सवार भण्डारीको घटनास्थलमा र कारमा सवार अर्का ज्ञवालीको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

कारमा सवार भण्डारीकी श्रीमती राधिका सामान्य घाइते भएकी छन् । कारमा तीनजना र ट्रकमा एकजना सवार थिए। दुर्घटनाका कारण बिहानदेखि सडक अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा हुँदै पोखरा जाने र बुटवल फर्कने सवारी रोकिएका थिए। 

प्रहरीले डोजर लगाएर अवरुद्ध सडक दुवैतर्फ खुलाएको छ। हरेक वर्ष यस राजमार्गखण्डमा यस्तै पहिरो जाँदा धेरैको ज्यान गएको छ भने सो सडक हुँदै आवजजावत गर्ने यात्रुले सास्ती व्यहोर्नु परेको छ। 

प्रकाशित: ७ आश्विन २०७४ ०६:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App