coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

दसैँ बिदा विदेशमा

भक्तपुर मध्यपुर थिमीका शैलेन्द्र श्रेष्ठ दसैँ बिदामा सपरिवार सिंगापुर र मलेसिया घुम्न जाँदै छन् । श्रीमती, आमा–बुबा र डेढ वर्षकी छोरीसँग उनी दसैँ बिदा सदुपयोग गर्न विदेश यात्रामा निस्कन लागेका हुन् । गत वर्षको दसैँ श्रीमतीसँगै थाइल्यान्डमा मनाएका उनले यस वर्ष भने आमा–बुबालाई पनि सँगै लिएर जान लागेका हुन् ।  

पछिल्ला वर्ष दसैँ बिदा मनाउन विदेश घुम्न जाने नेपाली बढ्न थालेका छन् । उनीहरू दसैँको चहलपहल सुरु नहुँदै बिदा मनाउने योजना बुन्न थाल्छन् । अरु बिदाको तुलनामा दसैँमा लामो बिदा हुन्छ, बिदाको सदुपयोग गर्न कतिपयले विदेश भ्रमण समेत रोज्न थालेका छन् ।

‘अरु बेला सबै आ–आफ्नो काममा व्यस्त हुनुहुन्छ, म पनि काममै व्यस्त भइरहेको हुन्छु,’ उनले भने, ‘दसैँमा लामो छुट्टी हुँदा परिवारसँग रमाइलो गर्न विदेश जाने योजना बनाएका हौँ ।’
महाराजगन्जका निश्चल ढकाल र उनकी श्रीमती अनामिकाले भने दसैँको बिदामा इन्डोनेसियाको बाली जाने योजना बनाएका छन् । दसैँ बिदामा विदेश घुम्ने तयारी गरिरहेका उनीहरू रोमाञ्चक यात्राको पर्खाइमा छन् । ‘नेपाल त घुमिरहेकै हो, सँगै विदेश घुम्ने रहर पूरा गर्न योजना बनाएका हौँ,’ निश्चल भन्छन्, ‘एक साताको बिदामा रमाइलो र नयाँ ठाउँ पनि देखिने भएकाले हामी उत्साहित छौँ ।’
धुम्बाराहीकी सरला अधिकारी र उनको परिवार यसपालिको दसैँमा इजिप्ट जाँदै छ । अघिल्लो दसैँमा इन्डोनेसिया, मलेसिया र सिंगापुर घुमेको अधिकारी परिवार यसपालि भने फरक ठाउँ खोज्दै इजिप्ट जान लागेको हो । श्रीमान्, छोराछोरीसँग दसैँमा विदेश जाँदा निकै रमाइलो भएकाले यसपालि पनि विदेश जाने योजना बनाएको उनले बताइन् । ‘अरु बेला फुर्सद नै हुँदैन, दसैँमा स–परिवार घुम्न रमाइलै हुन्छ,’ उनी भन्छिन् ।
श्रेष्ठ, ढकाल र अधिकारी परिवार त उदाहरण मात्र हुन् । पछिल्ला वर्ष दसैँ बिदा मनाउन विदेश घुम्न जाने नेपाली बढ्न थालेका छन् । उनीहरू दसैँको चहलपहल सुरु नहुँदै बिदा मनाउने योजना बुन्न थाल्छन् । अरु बिदाको तुलनामा दसैँमा लामो बिदा हुन्छ, बिदाको सदुपयोग गर्न कतिपयले विदेश भ्रमण समेत रोज्न थालेका छन् ।
दसैँ सुरु हुन लागेपछि राजधानीबाहिर जानेहरू कसरी बाहिरिने भन्ने योजना बनाउँछन् । उपत्यका सुनसान हुन्छ भने गाउँमा चहलपहल बढ्छ । दसैँलाई नै ताकेर वैदेशिक रोजगारीबाट फर्कने समेत हुन्छन् ।
दसैँमा टीका नलाउने वा उपत्यकाबाहिर जानुनपर्नेहरूले बिदामा विदेश जान मनपराउँछन् । दसैँमा घुम्न चाहनेलाई लक्षित गर्दै विभिन्न ट्राभल एजेन्सीले स्वदेश तथा विदेश भ्रमणका आकर्षक प्याकेज समेत ल्याउँछन् ।
दसैँका बेला स्वदेशमा भन्दा विदेशमा घुम्न जाने नेपाली धेरै हुने गरेको ट्राभल एजेन्सी सञ्चालक बताउँछन् । उपत्यकाका ट्राभल एजेन्सीले करिब ४० हजार रुपैयाँदेखिका विदेश भ्रमण प्याकेज ल्याउने गरेका छन् । सस्तोमै विदेश भ्रमण गर्न पाइने भएपछि अचेल मध्यम वर्गीय नेपाली समेत दसैँमा विदेश घुम्न जान थालेका हुन् ।
दसैँमा विदेश घुम्न चाहनेले तोकिएको प्याकेजका लागि रकम बुझाएपछि एजेन्सीले नै टिकट, भिसा, होटल र घुम्ने स्थानको चाँजोपाँजो मिलाइदिन्छन् ।
उपत्यकावासी दसैँमा टीका लगाएर अरु दिनको बिदा सदुपयोग गर्दै इन्डोनेसिया, दुबई, थाइल्यान्ड, सिंगापुर, मलेसियालगायत मुलुक जाने क्रम बढेको प्रेसिडेन्ट ट्राभल्सका अध्यक्ष भोलाविक्रम थापा बताउँछन् ।
दसैँका बेला विदेश भ्रमण गर्नेको संख्या हरेक वर्ष ५० प्रतिशतले बढिरहेको उनको अनुभव छ । ‘अरु बेला छोराछोरीको स्कुल–कलेज, आमा–बुबाको अफिस र व्यापार व्यवसायले व्यस्त बनाएको हुन्छ,’ उनी भन्छन्, ‘दसैँका बेला मात्रै लामो छुट्टी हुने भएकाले परिवारसँग घुम्न रुचाउनेको संख्या बढिरहेको छ ।’ सन् २०१३ पछि दसैँ बिदामा विदेश भ्रमण जाने ट्रेन्ड बढेको उनको अनुभव छ ।
दसैँमा विदेश जाने क्रम सन् २०१५ देखि एकदम विकसित भएको सुमेघ ट्राभल्सका अध्यक्ष मेघ केसी बताउँछन् । ‘अहिले विदेश घुम्न धेरै खर्च गर्नुपर्दैन,’ उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय ट्राभल चेनसँग पनि यहाँको ट्राभल एजेन्सीको राम्रो सम्बन्ध भएकाले सजिलो भएको हो ।’
५० हजार रुपैयाँमा विदेश जान सकिने, नयाँ स्थानमा थ्री स्टार होटलमा बसी घुम्न सकिने भएकाले धेरैले दसैँ बिदा विदेशमा मनाउन थालेका हुन् । सस्तो प्याकेजमा विदेश घुम्न चाहनेले समयमै त्यसको बुकिङ गराउनुपर्ने उनी सुझाव दिन्छन् । ‘ढिला गर्दा प्लेन टिकट महँगो हुँदै जाँदा प्याकेजको मूल्य पनि बढी लाग्न सक्छ,’ उनी भन्छन् ।
उपत्यकासहित मुलुकभरका ट्राभल एजेन्सीले पनि मध्यम र उच्च मध्यम वर्गीयलाई लक्षित गर्दै दसैँ प्याकेज ल्याउने गरेका छन् । सामाजिक सञ्जालको प्रयोगले यस्ता प्याकेजको प्रवद्र्धन गर्न पनि सजिलो भएको छ ।
उच्च वर्गीय नेपाली अलि महँगो पर्ने युरोपेली मुलुक, बेलायतलगायत देश जाने गर्छन् । मध्यम वर्गीय भने थाइल्यान्ड, मलेसिया, सिंगापुर, इजिप्टलगायत मुलुक जाने गरेको कान्तिपुर होलिडेजकी प्रतीक्षा शर्मा बताउँछिन् ।

प्रकाशित: ७ आश्विन २०७४ ०४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App