७ वैशाख २०८१ शुक्रबार
समाज

गोरखामा झाडापखाला प्रकाेप, घरैपिच्छे बिरामी

गोरखा– गोरखाको उहिया गाविसस्थित खोर्ला गाउँमा घरैपिच्छे बिरामी पर्नेको सङ्ख्या बढ्दै गएको छ। विगत दुई सातादेखि खोर्लामा फैलिएको झाडापखाला, ज्वरो तथा रुघाखोकीलगायत रोग नियन्त्रणमा नआउँदा भूकम्पपीडित स्थानीयवासी समस्यामा छन्।

घरैपिच्छे बिरामी पर्नेहरु बढेपछि आफूलाई पनि रोग सर्ने डरले गाउँ छाडेको खोर्लाकी विपना गुरुङले बताए। घरमा दुई/तीन जनाको दरले मानिस बिरामी पर्दै आएको भए पनि बिरामीको स्वास्थ्य परीक्षण गरी उपचार गर्न नसकिएको गुरुङको भनाइ छ।

उहिया वडा नं २ र ३ का ११६ घरधुरीका स्थानीयवासीमा झाडापखाला, ज्वरोलगायत समस्या देखिएको हो। उहिया र गुम्दास्थित माछाखोलका स्वास्थ्यकर्मीले बिरामीको उपचार गरे पनि झाडापखालाका बिरामी घटेका छैनन्। “स्वास्थ्यकर्मीहरु दुई दिन गाउँ बसेर फर्किए”, उनले भने, “बिरामी तङ्ग्रिएका छैनन्।” स्थानीय शिक्षक छिरिङदोर्जे गुरुङले भूकम्पपछि अस्थायी शिविरमा बस्दै आएका भूकम्पपीडित रोग फैलिएपछि थला परेको बताए।

“झाडापखाला, बान्ता लाग्ने, टाउको दुख्ने, रुघाखोकी र ज्वरोका बिरामी घरैपिच्छे छन्”, उनले भने, “गाउँका स्वास्थ्यकर्मीले दिएको औषधिले बिरामीलाई निको भएन। बोकेर सदरमुकामको अस्पतालमा लैजान सक्ने अवस्था छैन।”

पहिरोले बाटो अवरुद्ध हुँदा वल्लोपल्लो गाउँ जाने अवस्था पनि नरहेको उनको भनाइ छ। गाउँले बिरामी परेकोबारे जिल्ला जनस्वास्थ्य कार्यालयमा धेरैपटक जानकारी गराए पनि उचित स्वास्थ्य सेवा नपाएको उनले गुनासो गरे। आवश्यक औषधि लिएर स्वास्थ्यकर्मी गाउँमा आउनुपर्ने उनको भनाइ छ।

बिरामीले थलिएका मन्थल गुरुङ र सुन्दानी गुरुङको निधन भइसकेको छ। जिल्ला स्वास्थ्य कार्यालयका महामारी शाखाका प्रमुख नानीबाबु दानीले बिरामी स्वास्थ्य संस्था नजाँदा समस्या आएको बताए। “सधैँ स्वास्थ्यकर्मी घर घर जान सक्दैनन्”, उनले भने, “घर घर गएर बिरामीको उपचार गरेका छौँ।”

खोर्लागाउँबाट उहिया स्वास्थ्य चौकी जान एक घन्टा हिँड्नुपर्छ। बिरामीले गलेका गाउँलेहरु स्वास्थ्य संस्थामा जान नसक्ने गुरुङको भनाइ छ। भूकम्पपछि दूषित खानेपानीको प्रयोग गर्दा गाउँले बिरामी भएका हुन्। रासस

प्रकाशित: १४ श्रावण २०७३ १०:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App