५ वैशाख २०८१ बुधबार
समाज

‘लाइसेन्स लिन आवेदन दिनै कठिन’

लाइसेन्सका लागि आवेदन दिनेको भीड ।

इटहरी–मोरङ हसन्दह–५ का ललित विष्टले आइतबार मोटरसाइकलको सवारी चालक अनुमति पत्रका लागि आवेदन दिन बिहान ३ बजे मिठो निन्द्रा र सुनौलो सपना त्यागेर विराटचोकबाट हिँडे। ४ बजे कोशी अञ्चल यातायात व्यवस्था लाइसेन्स विभागको कार्यालय इटहरीमा उनी  आइपुग्दा अरु बग्रेल्ती युवायुवती लाइनमा उभिएको देख्दा अचम्भित भए। पालो नआउँला कि भन्ने चिन्ताले उनलाई बिहानैदेखि सताई रह्यो।
ललितले आवेदन फाराम लिन, शुल्क बुझाउन र निरोगीताको प्रमाणपत्र लिन भिडामभिडमा लाइन बसेरै कठिन ढंगले लिए।  अन्ततः अपरान्ह ४ बजेतिर आवेदन बुझाउन सफल भए। आवेदन दिएपछि ललितले भने, ‘लाइसेन्सका लागि आवेदन दिँदा नै ठूलो युद्ध जितेजस्तो भो ।’
उनले यसअघि यातायात कार्यालयले फागुन २६ गते आवेदन खुलाउँदा बिहानदेखि लाइनमा बसेर फाराम नभेटेपछि निरास भएर फर्केका थिए। ‘यो पटक आवेदन फाराम त भर्न सफल भए तर पछि लाइसेन्सको लिखित र ट्रायलमा के हुने हो टुंगो छैन।’
मोटरसाइकलको सवारी चालक अनुमतिपत्रको आवेदन दिन संखुवासभाको मत्सय पोखरीबाट आएका हर्कजित राईले भने फाराम नै भेटाएनन्। उनले शनिबार ढिलोमात्र खबर पाएर आइतबार बिहानै हिडेर ढिलो गरी आइ पुगेकाले गर्दा आवेदन फाराम नभेटाएका हुन्। ‘बडो दुःख गरेर आए कम्तीमा आवेदन दिन पाएपछि लिखित र ट्रायलमा असफल भएपनि चित बुझाउन सकिन्थ्यो,’ उनले भने ।
आइतबार एक दिनका लागि कोशी अञ्चल यातायात कार्यालयमा मोटरसाइककाले सवारी चालक अनुमति पत्रका लागि आवेदन खुला हुँदा पूर्वाञ्चलका जिल्लाबाट आएर आवेदन दिनको भीड थामी नसक्ने गरी थियो। अनुमति पत्र लिन निवेदन दर्ता गर्न आएका मोरङ सिजुवा–४ का मदनगोपाल वर्देवाले भने, ‘यसरी लाइसेन्स लिनका लागि मानवसागर उर्लेको त पहिलोपटक देखेको हो।’
    सवारी चालक अनुमति पत्रको आवेदन बुझाउने क्रममा भिडामभिड हुँदा सुरक्षाकर्मीलाई व्यवस्थित गर्न धौ–धौ थियो। आवेदन बुझाउन लाइनमा बसेकाबीचमा पनि बेलाबेलामा पालो मिचेको निहुँमा हात हालाहालको स्थिती पटक–पटक सृजना भएको थियो ।
‘बेला बेलामा आवेदन दिनेबीचमै विवाद हुँदा हात हालाहालको स्थिति भएपनि कुनै त्यस्तो घटना भने हुन पाएन,’ इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राजन कार्कीले भने। आवेदन दिनको भीडसँगै सवारी साधनको चापले गर्दा कोशी राजमार्ग अन्तर्गत इटहरीको आपगाछीदेखि पिपलचोकसम्मको चार सय मिटर क्षेत्रमा सवारी आवागमनमा बिहानैदेखि साँझसम्मै असहज बन्न पुगेको थियो।
एकै दिनमा मोटरसाइकलको सवारी चालक अनुमति पत्र लिन चार हजार भन्दा बढी आवेदन दिएका छन्। आवेदन दिन लाइनमा बसेकाले पाँच सयभन्दा बढीको फारम लिन नसकिएको यातायात कार्यालयको लाइसेन्स विभागले जनाएको  छ। आवेदन फाराम बुझन बाँकीको सोमबार पनि लिने निर्णय भएको छ।
यातायात कार्यालय लाइसेन्स विभागका अधिकृत वासु ढकाल सवारीको संख्या बढेअनुसार लाइसेन्स वितरण नहुँदा भीड बढेको बताए। उनले अब साउनदेखि भने नियमित आवेदन लिएर व्यवस्थित ढंगले सावरी चालक अनुमति पत्र वितरण गरिने बताए । ‘लाइसेन्स लिनको संख्या अझै एक बर्षसम्म थामी नसक्ने गरी हुन्छ, त्यसपछि क्रमशः घटदै जान्छ,’ ढकालले भने ।

कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीले ‘ट्रायल’ सेन्टरको अभावमा एक वर्षसम्म लाइसेन्स दिन रोकेको थियो । पछिल्लो एक वर्षदेखि भने यातायातको लाइसेन्स शाखा अलगै भएपछि मोटरसाइकलको माघ–६ गते पहिलोपटक, दोस्रोपटक फागुन–२६ गते र आइबार (असार ५ गते) आवेदन खुलेको हो।
आवेदन दिएकालाई अब असार १० गतेदेखि साउन २८ गतेसम्म हप्तैपिच्छे लिखित परीक्षा सकेर ट्रायल लिई  सवारी चालक अनुमति पत्र वितरण गरिनेछ । पछिल्लो समय माघ र फागुनमा आवेदन दिएका तीन हजार पाँच सयलाई यातायात कार्यालयले लाइसेन्स वितरण गरि सकेको  छ।
यातायात कार्यालयले पछिल्लो समय ट्रयाक्टरको ७ सय ५८ जना र डोजरको १९ जनालाई पनि लाइसेन्स वितरण गरेको  छ। चार चक्के सवारी साधनको झन्डै दुई हजार पाँच सयले जेठ अन्तिम साता आवेदन दिएका छन् । तिनीहरुको पनि साउनमै लिखित र ट्रायल हुनेछ ।

 

प्रकाशित: ५ असार २०७३ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App