८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश र संघमा बहुमत ल्याउने ओली दाबी

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले स्पष्ट बहुमत ल्याउने आधार देखिएको बताएका छन् ।
केन्द्रीय कमिटी बैठकमा शुक्रबार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले एमालेले लिँदै आएको राजनीतिक अजेन्डालाई स्थानीय चुनावमार्फत अनुमोदन गरेको दाबी गरेका छन् ।
‘स्थानीय तह चुनावमा एमाले प्राप्त गरेको सफलताले हामीले लिँदै आएको राष्ट्रिय स्वाधिनता निर्माण तथा भारतीय हस्तक्षेपको राजनीतिक अजेन्डालाई जनताले अनुमोदन गरेको देखाएको छ,’  प्रतिवेदनमा उल्लेख छ,’ केन्द्रीय सदस्य ठाकुर गैरेले भने, ‘स्थानीय तहको चुनावले केन्द्र तथा प्रदेशमा एमालेको प्रस्ट बहुमत आउने आधार देखाएको छ ।’
प्रतिवेदनमा एमालेले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय अभियान, वर्तमान सत्तागठन्धनको समीक्षा, राजनीतिक शक्ति सन्तुलन, स्थानीय चुनाव समीक्षा, आगामी चुनावमा स्पष्ट बहुमतको योजनासहितका विषय समेटिएको छ ।
एक वर्षपछि भएको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले वर्तमान सत्तागठबन्धनको चर्को आलोचना गरेका छन् । उनले नेपाल आयल निगमको जग्गा खरिद काण्ड, साझा प्रकाशनमा भएको अनियमितामा संलग्नलाई बचाउन सरकार लागिपरेको भन्दै आलोचना गरेका छन् । ‘अनियमिततामा संलग्न भएकालाई जोगाउन सरकार लागिपरेको छ,’ प्रतिवदेनमा छ ।
माओवादी द्वन्द्वपीडितका नाममा निकासा गरिएको तीन अर्ब रुपैयाँ  प्रदेश तथा प्रतिनिधिसभाका चुनावमा प्रयोग हुनसक्ने भन्दै ओलीले चिन्ता व्यक्त गरेका छन् ।
ओलीको प्रतिवेदनमा नेकपा माओवादी केन्द्रको अवस्था खस्किँदै गएको उल्लेख छ । ‘विदेशी शक्तिले माओवादीको प्रयोग राष्ट्रिय स्वाधिनता कमजोर बनाउन र कम्युनिस्ट पार्टीको विरोधमा गर्न सक्छ,’ प्रतिवेदनमा लेखिएको छ ।
प्रतिवेदनमा प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल र शेरबहादुर देउवाले राष्ट्रिय स्वाधिनता पक्षमा काम गर्न नसकेको ठहर छ ।
पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा पहिलो बनेको प्रमुख प्रतिपक्षी एमाले प्रदेश नम्बर २ मा भने पाँचौ स्थानमा खुम्चिने देखिएको छ । तर अध्यक्ष ओलीले भने, ‘यो नराम्रो परिणाम होइन ।’
चुनाव घोषणा भए पनि प्रतिवेदनमा राजनीतिक तथा संवैधानिक संकट उत्पन्न गराउन खोज्ने शक्ति अहिले पनि सक्रिय रहेको भन्दै त्यसतर्फ सचेत रहन ओलीले आग्रह गरेका छन् । ‘चुनावका लागि पार्टीले निरन्तर रुपमा दबाब दिइरहनुपर्छ,’ ओलीको प्रतिवेदनमा उल्लेख छ ।
केही समयअघि बसेको स्थायी कमिटी बैठकको निर्देशनअनुसार प्रतिनिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेशसभा निर्वाचन क्षेत्रीय कमिटी गठन गरिनेछ ।
‘समन्वय कमिटी र जिल्ला कमिटीहरूको सिफारिसमा प्रदेश कमिटीले उम्मेदवारका नाम छनोट गर्नुपर्छ,’ ओलीको प्रतिवेदनमा भनिएको छ , ‘समानुपातिकतर्फ पनि लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउनुपर्छ ।’ उनले स्थानीय तहमा जितेकाले पार्टीका प्रतिष्ठान बढाउनुपर्ने उल्लेख गरेका छन् ।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गरेका छन् ।  उनले अध्यक्ष ओलीको कार्यशौलीका कारण माओवादीसँगको गठबन्धन तोडिएको, स्थानीय तहको चुनावमा गुटका आधारमा टिकट बाँडिएको, पार्टी विधान तथा पद्धतिबाट नचलाएको जस्ता विषय उठाएका थिए । ‘टिकटको विषयमा कुरा गर्दा अर्को गुट छाडेर मेरो गुटमा आऔं  भन्ने जस्ता कुरा गरिए,’ नेपाललाई उद्धृत गर्दै एक नेताले  भने, ‘जित्नेलाई भन्दा आफ्नो मानिसलाई टिकट बाँड्ने काम भयो ।’

प्रकाशित: ७ आश्विन २०७४ ०४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App