७ वैशाख २०८१ शुक्रबार
कला

सोलमा सुनिँदै नेपथ्य

काठमाडौं- प्रसिद्ध सांगितक ब्यान्ड नेपथ्य दक्षिण कोरियाको राजधानी सोलमा गुञ्जिने भएको छ । नेपथ्य ओलम्पिक पार्कमा रहेको ओलम्पिक हलमा आगामी असोज १८ गते सुनिने तय भएको हो । यसअघि चार पटक कोरियाली राजधानीमा आफ्नो प्रस्तुति दिइसकेको नेपथ्यले फेरि एकपटक आफूलाई त्यसै सहरको विशेष स्थानमा उभ्याउन लागेको हो ।
सन् १९८८ मा ओलम्पिक आयोजनाका निम्ति ओलम्पिक पार्क निर्माण गरिएको थियो । यो पार्कभित्र रहेको हललाई कोरियाली सरकारले सन् २०११ मा कन्सर्ट हलका रूपमा पुनःनिर्माण गरेको थियो ।
कोरियाको ठूलो पर्व चुसोकको अवसर पारेर त्यहाँस्थित कास्की परिवारले नेपथ्यको कार्यक्रम गर्न लागेको हो । नेपालस्थित दक्षिण कोरियाली दूतावासका अनुसार यतिबेला त्यहाँ इपिएस योजना अन्तर्गत चालिस हजारभन्दा बढी नेपाली कामदार कार्यरत छन् । ‘सन् २००५ मा पहिलोपटक आफ्ना गीत यहाँ सुनाएयता सोलले निरन्तर नेपथ्यलाई निम्त्याउँदै आएको छ,’ नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘पछिल्लोपटक केबिएस एरेनामा आफूलाई प्रस्तुत गरेको नेपथ्यले यसपाला झन् ओलम्पिक हलमा उभिने मौका पाएको छ ।’
सोलमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् ।

 

प्रकाशित: ६ आश्विन २०७४ ०५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App