८ वैशाख २०८१ शनिबार
अन्य

उपत्यकाबाट घर फर्कंदै २५ लाख

बसपार्कमा टिकट काट्न लाम बसेकाहरु। तस्बिर : प्रतीक रायमाझी

यात्रुवाहक बस, मिनिबस र माइक्रो बसको लाम लागेको थियो । झिटीगुन्टा बोकेर हतारिँदै आउने यात्रुको भीड लागेको थियो । ओखलढुंगा– ओखलढुंगा, रामेछाप–रामेछाप, सोलुखुम्बु–सोलुखुम्बु, खोटाङ– खोटाङ भन्दै यात्रु बोलाउन व्यस्त थिए, सहचालकहरू ।
अचेल काठमाडौंको चावहिलमा हरेक दिन देखिने दृश्य हो यो । अरुबेला दैनिक पाँचदेखि सातवटा बस छुट्ने चावहिलबाट अहिले पूर्वी पहाडका लागि ३० भन्दा बढी बस छुट्छन् । तिनमा पनि खचाखच हुन्छन् घर फर्कने यात्रु ।
चावहिलबाट मात्र होइन, अचेल नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, बल्खु, कलंकी लगायत स्थानमा पनि हरेक दिन यस्तै दृश्य देखिन्छ । उपत्यकाबाट बाहिरिनेको चाप बढ्नुको कारण हो, दसैँ । दसैँ मनाउन काठमाडौंबाट बाहिरिने बढ्दै जाँदा उपत्यकामा भने भीडभाड घट्न थालेको छ ।
पछिल्लो जनगणना (०६८) अनुसार काठमाडौं उपत्यकामा स्थायी बसोबास गर्नेको संख्या २५ लाख १७ हजार थियो । तर, विभिन्न पेसा र व्यवसायका लागि यहाँ बसोबास गर्नेको संख्या समेत जोड्दा काठमाडौंको जनसंख्या ४० लाखभन्दा बढी हुने अनुमान छ । त्यसले गर्दा काठमाडौं उपत्यकामा वर्षभर नै जताततै भीडभाड देखिन्छ ।
अरु बेलाको तुलनामा दसैँमा भने काठमाडौं  सुनसानजस्तै बन्छ । बजार क्षेत्र र सडकमा चहलपहल कम हुन्छ भने सवारीसाधन पनि घट्छन् ।
‘दसैँमा काठमाडौंले एक्लो अनुभव गर्छ,’ संस्कृतिविद् हरेराम जोशी भन्छन्, ‘न भीडभाड देखिन्छ, न कोलाहल नै हुन्छ ।’ सधैँ भीडभाड भइरहने ठाउँमा ह्वात्तै मान्छेको संख्या घटेपछि के नभएको, के गुमाएजस्तो महसुस हुने उनी बताउँछन् । ‘काठमाडौंवासीको दसैँ त्यति धेरै रमाइलो हुँदैन,’ उनले भने ।
१५–२० वर्षदेखि दसैँ मनाउँदा काठमाडौंले एक्लो महसुस गरिरहेको जोशीको अनुभव छ । ‘२० वर्षअघिसम्म काठमाडौंमा बाहिरका मान्छे कमै थिए,’ उनले भने, ‘अहिले काठमाडौं बाहिरका मान्छेले भरिएको छ, दसैँ मनाउन सबै मान्छे बाहिर जाँदा शून्य हुन्छ ।’ दसैँताका बेला उद्योग, कलकारखाना, कार्यालय, पसल सबै बन्द हँुँदा पनि उपत्यका सुनसान हुने गर्छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दसैँका बेला झन्डै २५ लाख मान्छे उपत्यकाबाट बाहिरिने गर्छन् । ‘गत वर्ष २२ लाख मान्छे उपत्यकाबाट दसैँमा बाहिरिएका थिए,’ महाशाखाका प्रवक्ता तथा एसएसपी उमेश रञ्जितकारले भने, ‘यो वर्ष २५ लाख बाहिरिने अनुमान गरेका छौँ ।’
महाशाखाका अनुसार उपत्यकाका चारवटै नाकाबाट यात्रु बाहिरिने क्रम सुरु भइसकेको छ । ‘असोज लागेसँगै दसैँका लागि यात्रु बाहिरिन थालेका छन्,’ उनले भने, ‘बाहिरिनेको संख्या बढ्दो छ ।’ उनका अनुसार घटस्थापनापछि उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढ्छ । फूलपाती र अष्टमीका दिन सबैभन्दा बढी यात्रु राजधानीबाट बाहिरिन्छन् ।
‘अहिले दैनिक ७० देखि ८० हजारको संख्यामा यात्रु उपत्यका बाहिर गइरहेका छन्,’ उनले भने, ‘झन्डै १० लाख यात्रु दसैँ मान्नकै लागि बाहिरिइसके ।’ उनका अनुसार भदौसम्म उपत्यकाबाट बाहिरिनेको संख्या दैनिक ६० हजार हाराहारी मात्र थियो । उपत्यका भित्रिनेको संख्या उत्तिकै हुन्थ्यो । अहिले उपत्यका भित्रिने संख्या घट्दै गएको छ ।
बजारमा भीडभाड
उपत्यकाबाट बाहिरिने र उपत्यकावासीले समेत दसैँका लागि किनमेल गर्न थालेका छन् । बजारमा दसैँको किनमेल गर्नेका कारण अचेल राजधानीका मुख्य बजारमा भीडभाड बढेको छ ।
फुटपाथ, सटरका स–सना पसलदेखि सपिङ मलसम्म अचेल किनमेल गर्नेको घुइँचो छ । बिहीबार जोरपाटीस्थित सानो बजारमा सिन्धुपाल्चोककी रमिला खतिवडा कपडा छान्न व्यस्त देखिन्थिन् । एक सहकारीमा काम गर्ने उनलाई पनि दसैँको रौनकले छोइसकेको छ । अफिस बिदाका कारण उनले बिहीबार किनमेलको फुर्सद पाएकी हुन् ।
‘फूलपातीतिर घर जान्छु होला,’ उनले भनिन्, ‘भाइबहिनी, बुबाआमालाई कपडा लानुपर्ने भएकाले फुर्सदका बेला सपिङ गरिराखेकी हुँ ।’ उनी दसैँका बेला महँगी बढ्ने बताउँछिन् । ‘सामानको भाउ दोब्बर–तेब्बर हुन्छ,’ उनले भनिन्, ‘व्यापारीले पनि दसैँको मौका छोपेर कमाउन खोजेका होलान् ।’ न्युरोडमा भेटिएका सुगम कार्कीको गुनासो पनि उस्तै छ । ‘यहाँ सस्तो पाइएला भनेर आएको, झन् महँगो रहेछ,’ उनले भने, ‘दसैँमा सपिङ गर्दा त वर्षभरकै कमाइ जाने देखियो ।’
दसैँमा महँगी मात्र बढेको छैन, कतिपयले भने छुट समेत पाउने गरेका छन् । मंगलबार ताम्राकार भवन न्युरोडमा मोबाइल किन्न आएका रामेछापका सुब्बे लामा छुट पाएर दंग थिए । ‘मोबाइल पहिलादेखि नै चाहिएको थियो,’ उनले भने, ‘दसैँमा अफर होला भनेर नकिनी बसेको थिएँ, अफर रहेछ सस्तो प¥यो ।’

प्रकाशित: ६ आश्विन २०७४ ०५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App