८ वैशाख २०८१ शनिबार
कला

दीपिकाका लागि रमेश र प्रशान्तको टक्कर

काठमाडौं- केही महिना अघि राजधानीमा भएको एक कार्यक्रममा अभिनेता रमेश उप्रेतीले आत्मआलोचना गर्दै आफू कलाकार हुँदा निर्मातालाई हरेक कुरामा दिएको दुःख सम्झेर ती निर्मातासँग सार्वजनिक रुपमा माफी मागेका थिए । यिनै अभिनेता बिहीबार ‘ऐश्वर्य’को ट्रेलर सार्वजनिक कार्यक्रममा भने आत्मविश्वासी देखिए ।
‘म एउटा सफल कलाकार हो भनेर प्रमाणित गरिसकेको छु । तर, अब निर्माता पनि भएको छु । त्यसकारण आफूलाई प्रमाणित गर्ने बेला आएको छ,’उनले भने,‘ एउटा राम्रो कलाकार र मेकरका रुपमा आफूलाई प्रमाणित गर्ने बेला आएको छ ।’ उनले पछिल्लो समयमा हिन्दी फिल्मलाई विस्थापित गरेर नेपाली फिल्म हेर्ने दर्शकहरुको संख्या बढ्दै गइरहेकोमा खुशी व्यक्त गर्दै त्यसमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए ।
फिल्मबाट अभिनयमा डेब्यु गरेकी नवनायिका दीपिका प्रसाईले फिल्मको गीतले जस्तै ट्रेलरले पनि चर्चा पाउने दाबी गरिन् । ‘ट्रेलरले नै मेरो भूमिकाको बारेमा बताउँछ । मैंले निर्वाह गरेको चरित्र मेरो पृष्ठभूमिसँग जोडिएको थियो । त्यसैले त चरित्रलाई न्याय गर्ने कोसिस गरेकी छु ,’उनले भनिन्,‘यही फिल्ममार्फत् अभिनयमा आएकाले पनि मेरा लागि ‘ऐश्वर्य’ विशेष छ ।’
फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराईले निकै मेहनतपूर्वक फिल्मको कथा र फिल्म बनाइएको बताए । ‘मैले अहिलेसम्म गरेका फिल्मभन्दा केही फरक कुरा फिल्ममा दर्शकले पाउनेछन् ’ उनले भने ।
फिल्ममा खलपात्रको भूमिकामा देखिएका प्रशान्त ताम्राकारले आफूले हालसम्म अभिनय गरेका फिल्ममा भन्दा ‘ऐश्वर्य’मा देखिने भूमिका फरक रहेको बताए ।
‘मेरा अघिल्ला फिल्म इन्ट्रोडक्सन थिए । यसमा प्रशान्तलाई पूर्णरुपमा देख्नु हुन्छ,’उनले भने ।
सार्वजनिक ट्रेलरमा दीपिकाका लागि प्रमुख दुई पात्र रमेश र प्रशान्तको द्वन्द्वलाई प्रस्तुत गरिएको छ । प्रेम, बद्ला र सस्पेन्ससमेत समेटिएको ट्रेलरलाई सञ्चारकर्मी र फिल्मकर्मीले सकारात्मक प्रतिक्रिया दिएका थिए ।
आगामी कार्तिक ९ गतेबाट अल नेपाल रिलिज हुने फिल्ममा निर्मल शर्मा, केकी अधिकारी, अर्जुनजंग शाही, अर्जुन श्रेष्ठ, केशव भट्टराई, सुनिता ठाकुर र अमित पोखरेललगायतको पनि अभिनय छ । अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेको फिल्ममा रमेश उप्रेती प्रस्तुतकर्ता छन् । निर्मल शर्मा सह निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल र विराज गौतमको संगीत, हिमाल केसीको द्वन्द्व, दिर्घ खड्काको सम्पादन, तेन्जु योञ्जन,  रामजी लामिछाने र अञ्जिला खत्रीको नृत्य र राजेश श्रेष्ठ र सुदिप बरालको छायांकन छ ।

 

प्रकाशित: ६ आश्विन २०७४ ०५:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App