६ वैशाख २०८१ बिहीबार
खेल

नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौं- एएफसी यु–१६ छनोट चरणको दोस्रो खेलमा शुक्रबार भारतको सामना गर्दा नेपाल ‘गर या मर’ को स्थितिमा हुनेछ ।
प्रतियोगिताको अघिल्लो चरण प्रवेश सम्भावना जीवित राख्न नेपाललाई जितको विकल्प हुने छैन । यता भारत प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै अघिल्लो चरणको सम्भावना बलियो पार्ने दाउमा हुनेछ ।
पहिलो खेलमा इराकलाई १–० ले नतिजा सुम्पिएको साबिक विजेता नेपाल जित्नै पर्ने दबाबमा हुँदा प्यालेस्टाइनमाथि ३–० को सहज जित हात पारेको भारत उच्च मनोबलका साथ मैदान उत्रनेछ ।
नेपालका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले शुक्रबार भारतविरुद्धको खेलमा आक्रामक रणनीति अपनाउँदै  निश्चित जितका लागि टोली मैदान उतार्ने बताए ।
‘भारतविरुद्धको हारले नेपालको अघिल्लो चरण प्रवेश सम्भावना समाप्त हुने निश्चित छ,’ श्रेष्ठले भने, ‘पहिलो खेलमा साबिक विजेता इराकविरुद्धको खेलमा बटुलेको अनुभवले खेलाडीको मनोबल बढाएको छ । भारत र प्यालेस्टाइनको दोस्रो हाफको खेल हेरेका थियौं ।उनीहरूको पनि स्ट्राइकिङमा समस्या छ । हामी पहिलो खेलमा गरेका कमजोरी सुधार्दै भारतविरुद्ध निश्चित जितका लागि खेल्नेछौं । टोली बलियो चुनौती पेस गर्न तयार छ ।’
पहिलो खेलमा नेपाली खेलाडी अधिकांश समय विपक्षी खेलाडीको प्रहार रोक्नमै व्यस्त थिए । पूरा खेलअवधिभर नेपालले एक पटक मात्र विपक्षी पोस्टमा सम्झनलायक आक्रमण गरेको थियो ।
 यता भारतका प्रशिक्षक बाबिलायनो फार्नान्डेजले गत महिना सम्पन्न साफ यु–१५ च्याम्पियनसिपमा दुई पटक नेपाललाई पराजित गर्दै उपाधि जिते पनि शुक्रबारको खेल बिलकुल फरक हुने बताए ।
‘साफमा नेपाललाई पराजित गर्दै उपाधि जितेको कुरा अब इतिहास भैसकेको छ र यसको कुनै अर्थ छैन,’ फर्नान्डेजले भने, ‘नेपाल घरेलु टोली हो र उनीहरूविरुद्धको खेल सधैं कठिन हुने गर्दछ । पहिलो खेलमा हात पारेको जितले टोलीको मनोबल थप बढेको छ । सोही लयलाई शुक्रबार पनि निरन्तरता दिँदै अघिल्लो चरण प्रवेश सम्भावना थप बलियो बनाउनेमा म विश्वस्त छु ।’
साफ यु–१५ च्याम्पियन्सिपको समूह चरण र फाइनलमा भारतले नेपाललाई समान २–१ ले पराजित गरेको थियो ।
शुक्रबारै हुने पहिलो खेलमा इराकले प्यालेस्टाइनको सामना गर्दै छ ।
भारत समूह ‘डी’ को शीर्ष स्थानमा छ  । समान तीन अंक भए तापनि इराक गोलअन्तरमा दोस्रो स्थानमा छ । अंकविहीन नेपाल र प्यालेस्टाइन क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
प्रतियोगितामा एसियाका  ४५ राष्ट्रले विभिन्न १० समूहमा रहँदै प्रतिस्पर्धा गरिरहेका छन् । प्र्रत्येक समूहका शीर्ष टोली र उत्कृष्ट पाँच उपविजेताले आयोजक मलेसियासँगै सन् २०१८ को सेप्टेम्बर २० देखि अक्टोबर ७ सम्म हुने अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् ।


‘भारतकोे पनि स्ट्राइकिङमा समस्या छ । हामी पहिलो खेलमा गरेका कमजोरी सुधार्दै भारतविरुद्ध निश्चित जितका लागि खेल्नेछौं । टोली बलियो चुनौती पेस गर्न तयार छ ।’

 

 

 

 

प्रकाशित: ६ आश्विन २०७४ ०४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App