६ वैशाख २०८१ बिहीबार
विचार

डुबानमा धानको समाधान

नेपालमा एक अर्कालाई भेट्दा ‘भात खानुभयो ?’ भनेर सम्बोधन गर्ने चलनले पनि धानको महत्व कति छ भन्ने बुझाउँछ । विकसित देश जापानमा पनि हालसम्म धानलाई राष्ट्रिय प्रतिष्ठा एवं गौरवका रूपमा हेरिन्छ । होन्डा, टोयोटा कम्पनीका नाम पनि धानसँग सम्बन्ध राख्ने शब्दावली हुन् । संसारको सबभन्दा उच्चस्थानमा धानखेती हुने देश पनि नेपालको जुम्ला जिल्लाको छुमचौरमा पर्छ र धानले पनि लुम्बिनी र सगरमाथाजस्तै विश्वमा नेपाललाई चिनाउने काम गर्छ । नेपालमा धानको उत्पादन बढ्यो भने देशको आर्थिक वृद्धिदर पनि माथि जान्छ र धानको उत्पादन घट्यो भने आर्थिक वृद्धिदर नै ओरालो लाग्छ, तसर्थ धानले देशमा पु¥याएको देनलाई विश्लेषण गरी देशले पनि धानबालीको अनुसन्धान र विकासमा प्राथमिकतासाथ विशेष लगानी बढाउनुपर्छ ।
हामीले प्रत्येक वर्ष हेलिकप्टरबाट कर्णालीमा खाद्यान्न पु¥याउँदा जहिले पनि त्यहाँका जनता परनिर्भर हुने भए, त्यसैले सरकारले सबै जिल्लाहरूमा खाद्यान्न वृद्धि गराउने अभियान नै चलाउनुपर्छ । भनिन्छ, खानलाई माछा दिने होइन, बरू माछापालन गर्ने विधि सिकाइदिनु पर्छ ।
     आर्थिक वर्ष २०७३÷७४ मा नेपालमा १५ लाख ५२ हजार ४ सय ९६ हेक्टरमा धानखेती भई ५२ लाख ३० हजार ३ सय २७ मेट्रिक टन उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ३ सय ६९ किलोग्राम प्रतिहेक्टर रहेको थियो । यस धान उत्पादन एवं उत्पादकत्वलाई ऐतिहासिक रेकर्ड पनि भन्न सकिन्छ ।
सरकारले ढिलै भए पनि गत दुई–तीन वर्षदेखि धानलाई प्राथमिकतामा राखी कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन र उत्पादकत्व क्रमशः करिब २२ र ७ प्रतिशतले वृद्धि भएको थाहा हुन आएको छ । धानको उत्पादन उत्साहजनक वृद्धि भएकाले आव २०७३÷७४ मा नेपालको आर्थिक वृद्धिदर ७ दशमलव ५ प्रतिशत हुने जानकारीसमेत विश्व बैंकले दिएको थियो र सरकारले पनि करिब ७ प्रतिशत हुने जनाएको थियो । आव २०७२÷७३ को वास्तविक आर्थिक वृद्धिदर ० दशमलव ०१ प्रतिशत भएको थियो ।
     उन्नत जातहरूमध्ये कृषकले आफ्नो क्षेत्रका लागि सबभन्दा पछि उन्मोचन भएका बिउहरू लगाउने प्रयास गर्नुपर्छ । किनकि, नयाँ बिउहरूमा किरा नलाग्ने र उत्पादन बढी हुने भएकाले नै समितिले उन्मोचन गरेको हुन्छ । सबभन्दा पछि उन्मोचन, सिफारिस भएका धानका जातहरूमा हर्दिनाथ १, हर्दिनाथ २, तरहरा १, लल्काबास्मती, सुनौलो सुगन्धा, खुमल ८, खुमल १०, खुमल १३, लोकतन्त्र, मिथिला, राम, पोखरेली जेठाबुढो, स्वर्णा सब १, साम्भा मसुली सब १, सुख्खाधान १, सुख्खाधान २, सुख्खाधान ३, सुख्खाधा ४, सुख्खाधान ५, सुख्खाधान ६, चेहरान सब १  आदि हुन् । डीआरआर ४४ जातको बढी उत्पादन दिन सक्ने क्षमता भएको धानको जात पनि सिफारिसको क्रममा रहेको छ ।
     २०७४ साउन २६ गतेदेखि लगातार पाँच दिनसम्म अप्रत्याशित रूपमा नेपालमा भएको भारी वर्षाले गर्दा डुबानद्वारा तराई क्षेत्रहरूमा सिर्जित धानसम्बन्धी राष्ट्रिय समस्या र सोको समाधानसम्बन्धी किसानहरूले अब तुरुन्त अपनाउनुपर्ने केही प्राविधिक खुराक निम्नानुसार उल्लेख गरिएका छन् ः
बिउ छान्ने तरिका
     धानको बिउ नर्सरी ब्याडमा नहुर्काई सोझै जमिन तयार पारी छर्दा, उत्पादनमा विशेष कमी नआई ८÷१० दिन अगाडि नै धान पाक्ने गर्छ र यसका साथै रोपाइँ गरेको भन्दा सोझै छरेको धानपछिको गहुँबालीको उत्पादन पनि बढी हुने गरेको परीक्षणद्वारा प्रमाणित भइसकेको छ । तर सोझै छरेको धानबालीमा झारपात बढी आउने भएकाले हातैले वा झारपातनाशक विषादी प्रयोग गरी झारपात व्यवस्थापन गर्नु भने अति जरुरी छ । साना र ठूला ट्रयाक्टरमा बिउ छर्ने सिडड्रिल जडान गरी सोझै तयार पारिएको जमिनमा धान बिउ लाइन, लाइनमा छर्न पनि सकिन्छ ।  गह्रौँ एवं स्वस्थ बिउबाट बलियो र दरिलो बिरुवा हुर्कने गर्छ । असल बिउहरूमा जातीय शुद्धता, धेरै उमार शक्ति, आकारमा एकरूपता, मिसावट नभएको, बिउजन्य रोगबाट मुक्त भएको हुनुपर्छ ।
बिउको गुण एवं उमारशक्तिबीच घनिष्ट सम्बन्ध रहेको हुन्छ । साधारणतया ठूला–ठूला बिउहरूबाट एक–दुई दिन अगाडि नै बेर्नाहरू निक्लन्छन् । स–साना एवं कम वजनदार बिउहरूको तुलनामा ठूला, ठूला एवं वजनदार बिउहरूबाट बलिया र स्वस्थ बेर्नाहरू निक्लन्छन् र पछि पनि राम्ररी कायम भई बढी उत्पादन दिने गर्छन् । स्वस्थकर बाली कायम राख्न राम्ररी भरिएका, हृष्टपुष्ट, गह्रौँ, वजनदार बिउ छान्नुपर्छ । वैज्ञानिक ढंगले धानको बिउ छान्ने तरिका निम्नानुसार बताइएको छ ः
 

     वैज्ञानिक तरिकाले धानको बिउ छान्न चित्रमा देखाएजस्तो (साधारण पानीमा ताजा कुखुराको फुल हाले देब्रे भाँडोको पिँधमा जान्छ र धानको बिउ छान्न फुलले दाहिने भाँडोको जस्तो पानीको सतहमा छोएको हुनुपर्छ ) । कुखुराको फुल नै नहाली, पाँच लिटर पानीमा एक किलो खाने नुनको घोल बनाएर छान्दा एक मिनेटभित्रै राम्रा–राम्रा, पोटिला, हृष्टपुष्ट, वजनदार, मरुवा (ब्लास्ट) जस्ता बिउबाटै सर्ने रोग, किराले कम आक्रमण गरेका गह्रौँ बिउ भाँडोको तल, पिँधमा जान्छन् र नराम्रो बिउ घोलको मध्यभागमा र माथि नै तैरिन्छन् । यसरी तैरिएको बिउलाई हटाएर तल, पिँधमा गएको बिउलाई तुरुन्तै दुई–तीनपटक साधारण पानीले धोइपखाली गरिदिनुपर्छ । घन्टौँसम्म घोलमा बिउ राखिरहनु हुँदैन र भोलिपल्टका लागि बासी घोल पनि प्रयोग नगर्न सल्लाह दिइन्छ । यदि पाँच लिटरको घोल बनाउने हो भने १ किलोग्राम वा एक प्याकेट नुन मिसाउनुपर्छ र यसप्रकार बनाएको घोललाई धानको बिउ छानिसकेपछि गाई–भैँसीलाई कुँडो बनाउँदा प्रयोग गर्न सकिन्छ । बिउ छान्न बनाएको उही घोलमा पाँच÷छ पटक बिउ छान्न सकिन्छ । यसरी बिउ छान्दा धानको उमारशक्ति बढ्ने र दुई–तीन दिन अगाडि नै उम्रन्छ । मरुवा (ब्लास्ट) जस्तो धानको बिउजन्य विनाशकारी रोगलाई ४० देखि ६० प्रतिशतले कमी गर्न पनि सहयोग पुग्छ र धानको उत्पादन पनि १० देखि १५ प्रतिशतले बढाउन सकिने कुरा पनि परीक्षणद्वारा प्रमाणित भइसकेको छ । धानका मुख्य रोगहरूमा मरुवा (ब्लास्ट), पात डढुवा, पाते फेद, डाँठ कुहिने, खैरो थोप्लेजस्ता पर्छन् र ढुसी एवं किटाणुनाशक विषादीद्वारा व्यवस्थापन गर्नु जरुरी छ । राम्रो बिउको साथै बेर्ना उमार्न तयार पारिएको ब्याडमा पनि एक महिना आगाडि नै प्रशस्त कम्पोस्ट, प्रांगारिक मल दिएको हुनुपर्छ । लटरपटर नगरी धानको उत्पादन बढाउन माथि उल्लेख गरेनुसार हाम्रा छोरा–छोरी हुर्काएजस्तो गरी बेर्ना उमार्नुपर्छ ।
सोझै छर्नका लागि चाँडै पाक्ने धान
     अब हामीसँग मंसिरसम्म करिब चार महिना मात्र धान खेती गर्न सकिने अवधि भएकाले तराई–भित्रीमधेसका डुबान क्षेत्रहरूका लागि चाँडै पाक्ने र सोझै छर्न सकिने धानका जात निम्नानुसार रहेका छन् ः
     हर्दिनाथ १, हर्दिनाथ २, तरहरा १, चैते २, चैते ४, चैते ५ (सिफारिसको क्रममा रहेको), विन्देश्वरी, सीएच ४५, वर्षे १०२७, वर्षे २०१४, राधा ४, चेहरान सव १, डीआरआर ४४ (सिफारिस हुन बाँकी), सुख्खाधान १, सुख्खाधान २, सुख्खाधान ३, सुख्खाधान ४, सुख्खाधान ५, सुख्खाधान ६ (सुख्खा र डुबान दुवै अवस्थामा राम्रो हुने), र स्थानअनुसार चाँडो पाक्ने धानका अन्य जातहरू उपयुक्त हुनेछ । अब चाहिँ पानी कम भई खडेरीको चपेटा पनि पर्न सक्ने सम्भावना भएकाले माथि उल्लिखित धानका जातहरू लगाउँदा राम्रो नतिजा देखाउन सक्छन् । चाँडो पाक्ने भन्नाले १२५ दिनभित्र पाक्ने जात । हर्दिनाथ १ जात त ११० दिनभित्रै पाक्छ । किसानहरूसँग यसै वर्ष काटेका चाँडै पाक्ने चैते धानका बिउ हुन सक्छ र यसलाई नै अब सोझै छर्न सकिन्छ ।
डुबान सहन सक्ने धान
 स्वर्णा सब १, साम्भा मसुली सबण् १ र चेहरान सब १ धानका जातहरूले १५ दिनसम्मको डुबान सहन सक्ने गुण राखेका हुन्छन् । बाढी आउनु अगाडि स्वर्णा सब १, साम्भा मसुली सब १ र चेहरान सब १ लगाएका किसानहरूले, बाढीको मार त्यति बढी खप्नुपर्दैन । बाढीले गर्दा बालुवाले नपुरिएका जमिनमा माटोको उर्वराशक्ति भने बढ्छ ।
–धानबाली विज्ञ

प्रकाशित: ६ आश्विन २०७४ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App