८ वैशाख २०८१ शनिबार
राजनीति

सहरमा मधेसवादी, गाउँमा कांग्रेस–एमालेकै प्रभाव

जनकपुर- प्रदेश नम्बर २ को मुख्य सहर हो जनकपुर । विभिन्न चरणमा भएका मधेस आन्दोलनलाई ‘ब्याकअप’ दिने जनकपुरले मधेस राजनीतिलाई नयाँ दिशा दिँदैछ ।
मधेश आन्दोलनले सहरी मधेसीमा प्रभाव पारे पनि ग्रामीण भेगमा खासै असर गर्न नसकेको स्थानीय तह चुनावले देखाएको छ । आन्दोलनको प्रभाव सदरमुकाममै केन्द्रित रहेको दुई नम्बर प्रदेशअन्तर्गतका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका सदरमुकाममा आइरहेको चुनावी परिणामले प्रस्ट गरिरहेको छ ।
सदरमुकाम रहेका सहरमा राजपा र फोरमका पक्षमा तुलनात्मक रूपले बढी मतदान भएको देखिए पनि ग्रामीण भेगमा कांग्रेस र एमालेको बाहुल्य देखिन्छ । यसको पुष्टि धनुषा जिल्लाबाटै भइरहेको छ । धनुषा सदरमुकाम जनकपुरमा १० हजार मतगणना हुँदा राजपा उम्मेदवार लालकिशोर साहले ५ हजार ६ सय १७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका मनोज साहले जम्मा १ हजार ९ सय १५ मत प्राप्त गरेका छन् ।
धनुषाकै ग्रामीण भेगमा भने कांग्रेस र एमालेको प्रभाव अधिक छ । १८ स्थानीय तह रहेको यस जिल्लामा बिहीबार साँझसम्म ६ तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा कांग्रेसले ३, एमालेले २ र राजपाले जम्मा १ तह जितेका छन् । गणना जारी रहेको १२ तहमध्येमा ९ तहमा एमाले, कांग्रेस र माओवादीले अग्रता लिइरहेका छन् । तीन तहमा संघीय फोरम र १ तहमा राजपाको अग्रता छ ।
अघिल्लो निर्वाचनमा कांग्रेस नेता विमलेन्द्र निधि निर्वाचित भएको क्षेत्र र पूर्वसांसद एंव दुई कार्यकालदेखि कांग्रेसका जिल्ला सभापति रहेका रामसरोज यादवको गाउँपालिका मुखियापट्टी मुसहरनियाँमा एमालेले जितेको छ । उक्त गाउँपालिकाका प्रमुख, उपप्रमुख र अधिकांश वडाध्यक्ष एमालेले जितेको हो । निधिको पुख्र्यौली थलो नगराइनमा पनि एमालेकै पकड बलियो देखिँदैछ भने उनको गृहनगर जनकपुरमा कांग्रेस मतको फराकिलो अन्तरले पछाडि परेको छ ।
त्यस्तै, अघिल्लो चुनावमा कांग्रेसका प्रेमकिशोर साह निर्वाचित भएको धनुषाको ६ नम्बर क्षेत्रमा पनि कांग्रेस निकै कमजोर देखिँदैछ । उक्त क्षेत्रअन्तर्गतका गणेशमान चारनाथ नगरपालिका र सांसद साहको गृहनगर सबैलामा कांग्रेस तेस्रो स्थानमा पुगेको छ । सबैलामा माओवादी र एमालेबीच प्रतिस्पर्धा देखिएको छ भने गणेशमान चारनाथ नगरपालिकामा संघीय समाजवादी फोरम र माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा छ ।
कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका पूर्वराष्ट्रपति रामवरण यादव तथा कांग्रेस केन्द्रीय सदस्य एवं खानेपानीमन्त्री महेन्द्र यादवका गृहगाउँ सपहीमा संघीय समाजवादी फोरमले फराकिलो मतान्तरका साथ अग्रता लिइरहेको छ । यादवद्वयको घर रहेको वडामा पनि फोरम नेपालले नै जितेको छ ।
बिहीबार अन्तिम परिणाम घोषणा भएको छवटै स्थानीय तहमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमालेले जितेको बटेश्वर र मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका प्रमुख र उपप्रमुखमा कांग्रेस मुख्य प्रतिस्पर्धी देखिएको छ । कांग्रेसले जितेको जनक नन्दिनी गाउँपालिकाका प्रमुख, उपप्रमुखमा संघीय फोरम प्रतिस्पर्धी देखिए पनि औरही र धनौजी गाउँपालिकामा एमाले मुख्य प्रतिस्पर्धी रहेको देखियो ।
मतगणना जारी रहेका मिथिला, धनुषाधाम र नगराइन नगरपालिकामा पनि कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको ती स्थानका निर्वाचन अधिकृतले जनाएका छन् ।

प्रकाशित: ६ आश्विन २०७४ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App