coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सात लाख भूकम्प पीडितको दसैं टहरामै

काठमाडौं- २०७२ वैशाख १२ को भूकम्पले घर भत्केपछि टहरामा बसिरहेका सात लाख भूकम्प पीडितको दसैं योपटक पनि टहरामै बित्ने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्दराज पोखरेलले दसैंअघि डेढ लाख भूकम्पपीडितलाई टहराबाट घरमा भिœयाउने घोषणा गरेका थिए । बिहीबार घटस्थापनासँगै बडादसैं सुरु भए पनि घोषणा गरेमध्ये आधा घर पनि बनेनन् ।

प्राधिकरणको तथ्यांकअनुसार बुधबारसम्म घर निर्माण सम्पन्न गर्ने लाभग्राहीको संख्या ४८ हजार नौ सय २६ पुगेको छ । लाभग्राही सूचीमा परेकामध्ये सात लाखभन्दा बढी पीडितको यसपटकको दसैं टहरामै बित्ने यो तथ्यांकले पुष्टि गरेको छ । प्राधिकरणको लाभग्राही सूचीमा सात लाख ६५ हजार ६ सय १८ घरधुरी सूचीकृत छन् ।
सिइओ पोखरेलले घोषणा गरेको संख्यामा पीडित घर भित्रिन त सकेनन् नै, घर निर्माण सुरु गर्ने लाभग्राहीको संख्यासमेत मुस्किलले एक लाख नाघेको छ । बुधबारसम्म एक लाख २५ हजार नौ सय ९० लाभग्राहीले घर बनाउन सुरु गरेका छन् । यो संख्या उनले घोषणा गरेभन्दा २४ हजार कम हो ।
दसैंअघि डेढ लाख पीडितलाई टहराबाट घरमा भिœयाउन प्राधिकरणले गरेको प्रयास सफल नभएको सिइओ पोखरेलले स्वीकार गरे । ‘गाउँगाउँमा इन्जिनियर नभएकाले सिस्टममा सबै तथ्यांक अपडेट हुन सकेको छैन,’ बिहीबार उनले नागरिकसँग भने, ‘हाम्रो लक्ष्यअनुसार दसैंअघि घर बनेनन् । तर अहिले घर निर्माण सम्पन्न गर्ने र सुरु गर्नेको संख्या करिब दुई लाख पुगेको छ ।’
प्राधिकरणले अनुदान लिन समय सीमा तोकेपछि घर निर्माण सुरु गर्ने लाभग्राहीको संख्या बढेको उनले बताए । ‘अधिकांश लाभग्राही घर बनाउने तयारीमा देखिएका छन् । दसैंलगत्तै घर बनाउने क्रम बढ्छ,’ उनले भने । प्राधिकरणले सीधै काम गर्न नपाएका कारण पुनर्निर्माणले अपेक्षित गति लिन नसकेको उनले बताए ।
अनुदान वितरण अझै सुस्त
भूकम्पपीडितको निजी आवास पुनर्निर्माणका लागि सरकारले पर्याप्त बजेट दिए पनि प्राधिकरणले अनुदान वितरण गर्न सकेको छैन । गत वर्ष अनुदान वितरणका लागि सरकारले छुट्याएको बजेट खर्च गर्न नसक्दा फ्रिज भएको थियो ।
प्राधिकरणले हालसम्म ७५ हजार ६ सय ७२ लाभग्राहीलाई दोस्रो किस्ताको रकम वितरण गरेको छ जब कि पहिलो किस्ता लिने लाभग्राहीको संख्या ६ लाख सात हजार एक सय १३ रहेको छ । पहिलो किस्ताको रकम लिइसकेका पाँच लाख ३१ हजार चार सय ४१ लाभग्राहीलाई प्राधिकरणले दोस्रो किस्ता वितरण गर्न सकेको छैन । तेस्रो किस्ताको रकम लिने लाभग्राहीको संख्या बल्ल ६ हजार पुगेको छ ।
निजी आवास पुनर्निर्माणका लागि सरकारले प्रत्येक घरधनीलाई तीन किस्तामा तीन लाख रुपैयाँ अनुदान वितरण गर्दै आएको छ । लाभग्राहीले पहिलो, दोस्रो र तेस्रो किस्तामा क्रमशः ५० हजार, एक लाख ५० हजार र एक लाख रुपैयाँ पाउँछन् ।
पहिलो किस्ता लिएका लाभग्राही दोस्रो किस्ता लिन नआएको प्राधिकरणका अधिकारी बताउँछन् । अनुदान लिएर घर निर्माण सुरु नगर्नेको संख्या बढी भएकाले दोस्रो र तेस्रो किस्ताको रकम वितरण गर्न नसकिएको प्राधिकरणको भनाइ छ । लाभग्राहीले पहिलो किस्ता लिएर घरको जग हालेपछि दोस्रो किस्ताको लागि निवेदन दिन पाउँछन् । घर निर्माण सम्पन्न गरेपछि तेस्रो किस्ताको रकम पाउने व्यवस्था छ ।
सरकारले पुनर्निर्माणका लागि गत वर्ष दिएको बजेटबाट पुँजीगत खर्च गर्न नसक्दा प्राधिकरण नेतृत्वको चौतर्फी आलोचना भएको थियो । संसद्को विकास समितिलगायत अन्य संसदीय समितिले प्राधिकरण नेतृत्वलाई बोलाएर पुनर्निर्माण कार्यलाई गति दिन, पीडितलाई दोस्रो र तेस्रो किस्ताको रकम सहजरुपमा वितरण गर्न निर्देशन दिएका थिए । संसदीय समितिहरुले पुनर्निर्माण प्रभावकारी बनाउन प्राधिकरण नेतृत्वलाई पटकपटक निर्देशन दिए पनि त्यसको परिणाम देखिएको छैन । पुनर्निर्माणले गति लिन नसक्नुमा विभिन्न कारण प्रस्तुत गर्दै प्राधिकरण नेतृत्व पन्छिनेगरेको छ ।
अनुदान लिन सीमा
पहिलो किस्ता लिएका लाभग्राहीलाई दोस्रो र तेस्रो किस्ताको अनुदान वितरण गर्न नसकेपछि प्राधिकरणले अनुदान लिने समय सीमा तोकेको छ । प्राधिकरणले नयाँ आर्थिक वर्ष सुरुआत्सँगै अनुदान लिने समय तालिका सार्वजनिक गरेको हो ।
अब लाभग्राही सूचीमा परेका भूकम्प पीडितले २०७५ असार मसान्तभित्र सम्पूर्ण अनुदान लिइसक्नुपर्ने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए ।
भुसालका अनुसार पहिचान भएका सबै लाभग्राहीले कात्तिक मसान्तभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता लिइसक्नुपर्नेछ । २०७३ पुस मसान्तसम्म पहिलो किस्ता प्राप्त गरेका घरधनीले आगामी पुस मसान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने उनले बताए । आगामी कात्तिक मसान्तभित्र पहिलो किस्ता प्राप्त गर्ने लाभग्राहीले चैत मसान्तभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने प्राधिकरणले जनाएको छ ।
त्यसैगरी आगामी पुस मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने लाभग्राहीले २०७५ जेठ मसान्तभित्र तेस्रो किस्ताको अनुदान लिइसक्नुपर्नेछ । आगामी चैत मसान्तभित्र दोस्रो किस्ता लिने लाभग्राहीले २०७५ असार मसान्तसम्म अन्तिम अर्थात् तेस्रो किस्ता लिइसक्नुपर्ने गरी समय निर्धारण गरिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित: ६ आश्विन २०७४ ०१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App