coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

५ वर्षमा पनि बनेन प्रहरी भवन

सदरमुकाम सल्लेरीमा बन्दै गरेको जिल्ला प्रहरी कार्यालयको भवन । तस्बिर : राधा ढुंगाना

सोलुखुम्बु – विगत पाँच वर्ष अघिदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको भवन निर्माण कार्य अलपत्र बनेको छ । विभिन्न कारण देखाउँदै पटक पटक निर्माण रोकेर भवन निर्माण सम्पन्न नहुँदा सञ्चालनमा आउन नसकोको हो । निर्माण कार्यको अन्तिम अवस्थामा रहेको भवन सञ्चालनका लागि तयारी हुन सकेको छैन। 

करिब तीन करोड ५३ लाख रुपियाँको लागतमा निर्माण भइरहेको भवन समयमा सम्पन्न गर्न नसक्दा प्रहरीले नेपाली सेनाको परिसरमा रहेको साँघुरो भवनमा विभिन्न प्रशासनिक कार्य सम्पादन गरिरहेको छ । गत २०६९ साल जेठ ११ गतेदेखि निर्माण सुरु गरेको ठेकेदार कम्पनीले निर्धारित समयमा निर्माण गर्न नसकेपछि पटक पटक निर्माण अवधि थपेर निर्धारित समयमा निर्माण गर्न नसक्दा प्रहरीलाई कठिन भएको छ। 

भवन निर्माणको ठेक्का पाएको इन्द्रेणी एपेक्स कन्स्ट्रक्सन गाईघाटले विगत लामो समयदेखि वर्षात, चाडपर्व, निर्वाचन जस्ता कारण देखाउँदै निर्माणमा ढिलाई गर्दा प्रहरीलाई सास्ती भएको छ । कन्स्ट्रक्सनका प्रोपाइटर बसन्त बस्नेतले भने, ‘भवन निर्माणको काम सबै सकिएको छ तर रकम भुक्तानी लिन बाँकी रहेकाले भवन हस्तान्तरण गरीएको छैन् ।’ यता, सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक रेशम पराजुलीले भने, ‘भवनको भित्री काम सबै बाँकी रहेको र भवन परिसरमा बाटो समेत बन्न बाँकी रहेको छ ।’ भवन निर्माणको काम पूर्ण रुपमा सम्पन्न गर्नका लागि ठेकेदारलाई ताकेता गरिरहेको प्रहरी नायब उपरीक्षक पराजुलीले जानकारी दिए। 

प्रहरी प्रधान कार्यालय र शान्ति तथा पुनः निर्माण मन्त्रालयको शान्ति कोषबीच नौ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएसँगै भवन निर्माण कार्य शुरु भएको थियो । भौगोलिक अवस्थालगायत विभिन्न कारणले केही समय ढिलो हुन सक्ने भएपनि लामो समय बितिसक्दा समेत भवन बन्न नसक्नु ठेकेदारको चरम लापर्वाही भएको सरोकारवालाको भनाइ छ । करिब दुई हजार तीन सय वर्ग फिटमा निर्माण गर्न लागिएको भवनमा सात वटा ब्लक रहेका छन् । निर्माणाधीन भवनमा तीन वटा ब्यारेक, १६ वटा कोठा भएको कार्यालय भवन, जुनियर तथा महिला प्रहरीका लागि डे«सिङ कक्ष र एउटा भान्छाघर रहनेछन् । त्यस्तै, थुनुवाहरू र उनीहरूका बच्चाका लागि तीन कोठा रहने छन्।  

१५ वर्षअघि सशस्त्र द्वन्द्वका क्रममा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको कार्यालय नेपाली सेनाको कम्पाउण्ड भित्रबाट सञ्चालन गर्नुपर्दा प्रत्यक्ष जनतासँग सरोकार राख्ने दैनिक कार्य सञ्चालन गर्दा समस्या भएको प्रहरीले जनाएको छ । बाध्यताले गर्दा सेनाको भवनमा बस्दै आएका र सेनाकै कम्पाउण्डभित्र बस्नपुर्ने भएकाले रातीको समयमा बाहिरभित्र गर्न प्रहरीहरुलाई अप्ठ्यारो पर्ने गरेको प्रहरीको भनाइ छ । सेनाले साझँ चाँडै कम्पाउण्ड बन्द गर्ने र भित्र जानको लागि प्रक्रिया पूरा गर्दा राती कतैबाट प्रहरीको माग भएमा समस्या पर्ने गरेको छ।  

 

प्रकाशित: ५ आश्विन २०७४ १४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App