८ वैशाख २०८१ शनिबार
समाज

झोलुङ्गे पुल बनेपछि जनतालाई राहत

हेटौंडा – बाढी र पहिरोमा जोखिम मोलेर यात्रा गर्न बाध्य ग्रामिण भेगका जनता अहिले खुशी छन् । ९ नयाँ झोलुङ्गे पुल बनेपछि बाढीबाट तथा खोलाले बगाएर ज्यान गुमाउन नपर्ने भएपछि जनताले राहत पाएका हुन्।

गत आर्थिक वर्ष २०७३/०७४ मा स्वीस सरकारको सहयोगमा ७ र केन्द्रीय बजेटबाट २  झोलुङ्गे पुल निर्माण भएको जिल्ला समन्वय समितिले जनाएको छ । समितिका अनुसार गत आर्थिक वर्षमै ३ पुरानो झोलुङ्गे पुल मर्मत गरिएको छ।

स्वीस सरकारको सहयोगमा जिल्ला समन्वय समिति मकवानपुरले दुई करोड ५३ लाख ६७ हजार ४ सय ८७ रुपैँया खर्चेर ७ वटा झोलुङ्गेपुल निर्माण गरिएको छ। झोलुङ्गे पुल बनेपछि १ हजार ३ सय ४१ घरघुरी प्रत्यक्ष लाभान्वित भएको बताइएको छ। 

मकवानपुरको कालिकाटार र भार्ता जोड्ने च्याखेटार पुल, आग्राको घट्टेपुल, भार्तामा पाख्रे, खैराङमा तिलार तुम्बाङ, खैराङ्मा सुबोल तर्लिङ, नामटारमा गोपिराङ बेतेघारी र गर्दवा झोलुङ्गे पुल निर्माण भएको जिल्ला प्राबिधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर सोमराज तिमल्सिनाले बताए।

झोलुङ्गे पुल निर्माणपछि गाउँमा खुशीयाली छाएको नामटार बेतेघारी झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष जगतबहादुर लामाले बताए । पुल नहुँदा वर्षौदेखि धेरै समस्या झेल्दै आएकोमा पुल बनेपछि चाडपर्वमा समेत रौनकता छाएको उनको भनाई छ।

झोलुङ्गे पुल नहुँदा गाउँपालिकाको सदरमुकाम आउन भार्ताका स्थानीयलाई निक्कै समस्या थियो । कालिकाटार र भार्ता जोड्ने च्याखेटार पुल निर्माणपछि वर्षातको समयमा सजिलै गाउँपालिका केन्द्र जान सहज भएकोमा स्थानीय नरेन्द्र रिजालले खुशी व्यक्त गरे।

जिल्ला समन्वय समिति मकवानपुरले राडो नेपाल मकवानपुर मार्फत् नयाँ झोलुङ्गे पुल निर्माण गरेको हो।

जिल्लामा ६८ वटा झोलुङ्गे पुल निर्माण भएको जिल्ला समन्वय समिति, मकवानपुरको तथ्याङ्क छ । करिब एक दर्जन स्थानमा झोलुङ्गे पुलको आवश्यक रहेको भन्दै प्रमुख जिल्ला इन्जिनियर तिमल्सिनाले पुल निर्माणको पहल भइरहेको बताए ।

प्रकाशित: ५ आश्विन २०७४ १३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App