१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

वास्तुअनुसार घर सजावट

डा. राजकुमार सुवेदी                                                          
वास्तु शास्त्रमा घरको सजावट एवं रङले हाम्रो मनमा सकारात्मक प्रभाव पार्छ भन्ने विषयमा चर्चा भएको पाइन्छ । ऋषि, ज्योतिषी एवं वास्तु शास्त्रीहरुले मनका भाव र तरङ्गहरुलाई विभिन्न रसमा वर्गीकरण गरी विविध रङसँग सम्बन्ध जोडेका छन् । हाम्रो घरको उच्च सजावटका लागि विभिन्न प्रकारका रङ आवश्यक हुन्छ । सूर्यको प्रकाशमा विभिन्न सात रङ मिसिएको हुन्छ । प्रकाशको परावर्तनसँगै त्यहाँ भएका विभिन्न एवं विशिष्ट रङ, किरणद्वारा वातावरणमा फैलिएको हुन्छ । यस्ता रङ र तरङ्गले हाम्रो मानसिक स्थितिलाई विशेष प्रभाव पार्ने गर्छ । रङशास्त्रीले भनेका छन्– रातो एवं केशरीजस्ता पहेँलो रङले हाम्रो मनमा उत्तेजना पैदा गर्छ । सामान्य पहेँलो, छिरबिरे र वैजनी रङले उत्साह एवं मनमा उल्लास बढाउँछ । नीलो एवं हल्का खैरो रङले हाम्रो मनमा शान्ति र प्रशन्नता बढाउँछ भने गाढा कालो रङले मनमा शोक र निराशा पैदा गराउँछ । अब घरमा कुन रङ कहाँ लगाउने भन्ने विषयमा चर्चा गरिन्छ ।
भोजन बनाउने तथा खाना खाने कक्षमा, खेलकुदसम्बन्धी कक्षमा र दिनको समयमा बस्ने कक्षमा, बैठक कोठामा रातो रङ लगाउनु पर्छ । शयन कोठा, बीचको प्यासेज र मनोरञ्जन कक्षमा गुलाबी एवं हल्का पहेँलो रङ लगाउनु पर्छ । यसले गर्दा सदैव आनन्दको अनुभूति प्राप्त हुन्छ । भान्छा कोठा, अध्ययन कोठा, पूजा घर, दिनको समयमा पढ्ने, बस्ने खालको कोठा आदिमा पहेँलो, रातो, मिश्रित रङसमेत लगाउन सकिन्छ । यसबाट हाम्रो मनमा उमङ्ग, उत्साह एवं हर्ष बढ्न जान्छ । घरको मुख्य भाग, बाहिरी पर्खालमा सेतो वा हल्का पहेँलो मिसिएको रङ्ग लगाउनु राम्रो हुन्छ । भोजन बनाउने, पढ्ने र पाहुना बस्ने बैठक र शयन कक्षमा पहेँलो रङ लगाउनु उपयुक्त हुन्छ । पहेँलो रङ प्रशन्नता र शान्ति प्रदान गर्ने रङ मानिएको छ । दक्षिण तर्फको शयन कक्ष, पूजा घरको बाहिरी वाल, धेरै आवत–जावत गर्ने खालको कक्षमा गाढा नीलो रङ लगाउनु राम्रो हुन्छ । यस रङको प्रभावले तनावबाट मुक्ति प्राप्त हुन्छ । दिवा शयन (आराम) कक्ष, स्नान घर, पाक तथा ध्यान कक्ष, क्रीडा कक्षका लागि हल्का नीलो रङ उपयोगी हुन्छ । पूजा कोठा लबी शयन कक्ष र गृह प्रवेश द्वारमा जामुनी रङ लगाउनु पर्छ । यस रङको प्रभावले शान्ति हुने, तनावबाट मुक्ति हुने हुन्छ । त्यसैगरी दिनमा धेरै प्रयोग हुने कोठा आदिमा हरियो रङ लगाउन सकिन्छ । हरियो रङका प्रभावले मनमा उल्लास, परस्पर स्नेह, सौहाद्र्ध भाव एवं सुख–सन्तोष प्राप्त हुन्छ ।
रङको मनुष्य जीवनमा निकै ठूलो एवं विशिष्ट योगदान छ । विभिन्न ग्रहको दुष्प्रभाव तथा व्यापार व्यवसायका समस्या हटाउन रङको महत्वपूर्ण भूमिका हुन्छ । हाम्रो घरका विभिन्न कक्षमा आवतजावतका लागि मार्ग खुल्ला हुनुपर्छ । प्रवेश द्वारका भित्ता एवं स्कटिङमा एकै खालको रङ लगाउनु पर्छ । भवनको प्रवेश मार्गमा वृक्ष, खम्बा, कुवा, नलकुव, सेफ्टी ट्याङ्की र दूषित हावा निस्कने पाइप आदि हुनुहुँदैन । यस्ता स्थानहरुमा कालो रङ लगाउनु हुँदैन । यसरी वास्तुसम्बन्धी नियम पालना गर्नाले धनात्मक ऊर्जा उत्पन्न हुन गई परिवारमा आर्थिक प्राप्ति एवं सुख–शान्ति मिल्दछ । सबै प्रकारका बाधक तत्व निवारणार्थ मुख्य भवनको उचाई अधिक हुुनुपर्छ । ढोका एवं गेट राख्दा वास्तु नियम पालना गरी राख्नुपर्छ र वास्तु सम्मत रङ लगाउनु पर्छ । यसले गर्दा घरमा सदैव धनात्मक ऊर्जा उत्पन्न हुन जान्छ । घरका विभिन्न कक्षमा ढोका राख्दा, उत्तर वा पूर्व दिशातर्फ राख्नु वास्तुअनुसार उत्तम हुन्छ । ढोका वा गेटमा हल्का गुलावी एवं पहेँलो रङ लगाउनु राम्रो हुन्छ । सुत्ने खाट वा पलङको पछाडि पक्की पर्खाल हुनु राम्रो हुन्छ । शयन पलङ कहिले पनि ढोकाको सम्मुख हुनु हुँदैन, शयन कक्षमा हल्का नीलो एवं गुलाबी र पहेँलो रङसमेत लगाउन सकिन्छ । शयन कक्षमा सकभर ऐना जडान गर्नु हुँदैन । लगाउनै परेमा पलङ्गको दायाँ बायाँ लगाउन सकिन्छ । पलङको सम्मुख पारी दर्पण लगाउँदा हानिकारक हुन्छ । बक्स पलङ बनाइएको छ भने त्यहाँ पकाउने भाँडावर्तन राख्नु अनिष्ट मानिन्छ साथै पलङमा कदापि कालो र नीलो रङ लगाउनु हुँदैन । यसमा सामान राख्नाले, कालो रङ प्रयोग गर्नाले मनमा क्रोध, अशान्ति, दाम्पत्य कलह, कार्य असिद्धि आदि विभिन्न समस्या आइपर्छ । वास्तुशास्त्रीय रङसम्बन्धी विषयमा वैज्ञानिकहरुले के प्रमाणित गरिसकेका छन् भने सामाजिक समारोह एवं जन्मदिनको पार्टीहरुमा विभिन्न प्रकारका रङलाई विशिष्ट संयोजन गरिआएका आफ्ना सबै अतिथिलाई भरपूर सन्तोष र प्रशन्नता प्रदान गरेको देखिन्छ । शुभ रङको उपयोगले मनुष्यलाई निखारेर सुख एवं सफलता वृद्धि गर्छ । केही विद्वान् आफ्नो शक्ति, प्रतिभा तथा भाग्य बढाउन शुभ ग्रह र ग्रहसँग सम्बन्धित रङको उपयोग गर्छन् । केही वास्तु अनुसन्धानकर्ताले पत्ता लगाई, स्वीकार गरिसकेका छन् कि ह्रस्व, दीर्घ, प्लुत, उदात्त, अनुदात्त, स्वरीत, संवार, नाद, घोष र अघोष स्वर लहरी जुन प्रकारले कानबाट प्रवेश गरी अन्तस्करणमा पुगी, मनमा सुखदुखको भावना उत्पन्न हुन्छ, हो त्यसैगरी नेत्र मार्गबाट विभिन्न रङ प्रवेश गरी हाम्रो मनमा हर्ष वा विस्मात्को भाव प्रकट गर्छ । हामीले वास्तु शास्त्रानुसार ग्रह अनुकूल रङको पहिचान गरी त्यस रङको बीचमा बसी जीवनयापन गर्न सिक्यौँ भने मानसिक क्लेश, सन्ताप एवं उद्य्विग्नताबाट सहजै मुक्ति पाउन सम्भव छ । रंग चिकित्सा प्रणालीलाई विचार गरी हामीले लगाउने वस्त्रमा विभिन्न रङ दिइएको, भरिएको हुन्छ । हामीले काम गर्ने स्थान एवं स्कुल कलेजमा, कलम, पेन्सिल, कागज, व्यक्तिगत प्रयोगको वस्तु, हामीले लगाउने कपडा, स्कुल ड्रेस, जुत्ता आदिमा विभिन्न रङ प्रयोग भएको पाइन्छ । यसरी रङको समायोजन गरी कार्य गरेको खण्डमा आत्मवल, हिम्मत, जोश, जाँगर र मनोवल बढ्न गई आर्थिक एवं इष्टकार्यमा समेत वृद्धि हुन जान्छ । शुभ रङको प्रयोगले वातावरणमा सकारात्मक ऊर्जा उत्पन्न हुन गई कार्य सिद्धिमा अनुकूल हुन्छ  र घर एवं कार्यालयमा परस्पर स्नेह, सद्भाव र सहयोगमा वृद्धि भर्ई सुखसन्तोषले जीवनयापन गर्न सकिन्छ । वास्तु विद्याको उपयोग बाहिरी निर्माणमा मात्र नभई आन्तरिक साजसज्जामा समेत आवश्यक पर्छ । घरको भित्रीवास्तुलाई अचेल सर्वाधिक महत्व दिन थालिएको छ । वास्तु शास्त्रमा विभिन्न रङका विवेचन यसरी गरेको पाइन्छ ।

रङको विवेचना :
रातो रङ – रातो रङमा राम्रो नराम्रो दुवै प्रभाव हुन्छ । रातो रङ अग्निको प्रतीक मानिन्छ । यस रङको प्रभावले भाग्य, उन्नति, प्रसिद्धि प्राप्त गर्नुका साथै अन्य उन्नति र कार्य क्षमतामा समेत वृद्धि गर्ने गर्छ ।
पहेँलो रङ – पहेँलो रङले भगवान सूर्यलाई प्रतिनिधित्व गर्छ । त्यसैले पृथ्वीमा रहेका प्राणी एवं वनस्पतिलाई बाँच्न सकारात्मक ऊर्जा र पोषण तत्व प्रदान गर्छ ।
हरियो रङ – हरियो रङले वृक्ष एवं वनस्पतिको प्रतिनिधित्व गर्दै यसले वातावरणीय स्वास्थ्य र      नेत्रदृश्य शक्तिलाई आनन्दमय सुख र शान्त बनाउने गर्छ ।
कालो रङ – कालो रङले अशान्ति र रोगव्याधिको प्रतिनिधित्व गर्छ । घरमा कालो रङको अधिक प्रयोग गरेमा चिन्ता र निराशा बढाउनुका साथै कार्य दक्षतामा कमजोर बनाउने गर्छ ।
सेतो रङ – सेतो रङ सफा एवं शुद्धताको प्रतीक मानिन्छ । यसलाई शोक पर्दाखेरी प्रयोग गरिने हुनाले कतिपय व्यक्तिले यसलाई त्यति रुचि दिँदैनन् । वास्तुशास्त्रीय रङसम्बन्धी विषयमा वैज्ञानिकहरुले के प्रमाणित गरिसकेका छन् भने सामाजिक समारोह एवं जन्मदिनको पार्टीहरुमा विभिन्न प्रकारका रङहरुलाई विशिष्ट संयोजन गरी, पार्टीमा आएका आफ्ना सबै अतिथिलाई भरपूर सन्तोष, आनन्द र प्रशन्नता प्रदान गरेको देखिन्छ । शुभरङको उपयोगले व्यक्तिलाई निखारेर सुख एवं सफलता वृद्धि गर्छ । केही विद्वानहरु शक्ति, प्रतिभा तथा आफ्नो भाग्य वल बढाउन शुभ ग्रह र ग्रहसँग सम्बन्धित रङको उपयोग गर्छन् ।

प्रकाशित: ५ आश्विन २०७४ ०९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App