१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धरहरा निर्माणबाट पन्छियो टेलिकम

काठमाडौं- नेपाल टेलिकमले धरहरा निर्माण योजनाबाट हात झिकेपछि काठमाडौंको परिचायक पुरातात्विक र ऐतिहासिक स्तम्भ निर्माण अन्यौलमा परेको छ । २०७२ को भूकम्पले ढलेको धरहरा २८ महिना बितिसक्दा पनि निर्माणको सुरसार छैन  ।
२०७३ असार २९ को मन्त्रिपरिषद् बैठकले धरहरा निर्माणको जिम्मा नेपाल टेलिकमलाई दिएको थियो । तर, टेलिकमले निर्माण थाल्नुको साटो सर्तमाथि सर्त राखेर काम अघि बढाउन आनकानी गर्दै आयोे । टेलिकमले व्यावसायिक सर्त राखेर धरहरा निर्माणमा आलटाल गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लिखित धारणा मागेको थियो । प्राधिकरणले टेलिकमलाई भदौ २३ गते धरहरा पुनर्निर्माणमा आधिकारिक धारणा पेश गर्न पत्राचार गरेको थियो । पत्रको जवाफमा टेलिकमले धरहरा पुननिर्माणबाट हात झिकेको जनाएको प्राधिकरण प्रवक्ता यमलाल भुषालले जनाए ।
यता टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले पनि धरहरा निर्माणबाट हात झिकेको अप्रत्यक्ष ढंगबाट जनाइन् । ‘पुरातत्व विभागको नक्सा अनुसार धरहरा बनाउँदा दिगो हुने देखिएन,’ उनले भनन्, ‘सोही नक्सा अनुसार बनाउनचाहिँ राजी नभएका हौं ।’ उनका अनुसार टेलिकमले धरहरा पुननिर्माणमा दिने भनेको एक अर्ब भने दिन तयार छ ।
धरहरा पुनर्निर्माणपछि ३० वर्षसम्म व्यवसाय चलाउन पाउनुपर्ने माग टेलिकमको थियो । पुरातŒव विभागले भने धरहरालाई व्यावसायिक प्रयोजनमा ल्याउन नहुने सुझाव दिँदै आएको छ ।
अबको के हुन्छ ?
प्राधिकरणका अनुसार धरहरा अब प्राधिकरणले नै बनाउनेछ । ‘धरहरा प्राधिकरणले नै बनाउँछ,’ प्रवक्ता भुषालले भने, ‘मन्त्रीपरिषद्ले नै टेलिकमलाई दिएको भएर अब बस्ने मन्त्रीपरिषद्को बैठकमा लगेर टुंगो लगाइनेछ ।’
धरहरा क्षेत्र हाल निजी कम्पनी साइड वाकर्स प्रा. लि.ले ओगटिरहेको छ । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा काठमाडौंका मेयर केशव स्थापितले २०६१ मा बिनाप्रतिस्पर्धा धरहरा चलाउन उक्त कम्पनीलाई ठेक्का दिएका थिए । सो ठेक्का सम्झौतामा साइड वाकर्सले २० वर्षसम्म धरहरा सञ्चालन तथा भत्किएमा बनाउनुपर्ने उल्लेख छ । तर २०७२ फागुन ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको पैसाले धरहरा बनाउने घोषणा गरे । त्यसपछि टेलिकमले धरहरा बनाउने इच्छा देखाएपछि मन्त्री परिषद्बाटै धरहराको निर्माण टेलिकमलाई दिएको थियो ।
धरहराको ऐतिहासिक पक्ष
तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विस १८८२ सालमा सुन्धारास्थित बागदरबारछेउ आफ्नो र महारानी त्रिपुरासुन्दरीदेवीका नाममा दुई धरहरा निर्माण गरेका थिए । विस १९९० सालको भूकम्पमा भीमसेनका नामको धरहरा जगैदेखि भत्कियो । महारानीको नामको धरहरा पनि चिरा प¥यो । त्यसलाई तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले पुनर्निर्माण गराएका थिए । भीमसेनले निर्माण गरेको धरहरा ११ तले थियो । पुनर्निर्माणमा दुई तला घटाइएको हो । इँट र वज्र (सुर्की, चुन, मास र चाकुको मिश्रण)बाट निर्मित धरहरा र वरिपरिका पर्खाल मुगल शैलीका थिए । २०७२ वैशाख १२ को भूकम्पले धरहरा पूरै ढलेको छ ।

प्रकाशित: ५ आश्विन २०७४ ०५:२६ बिहीबार

धरहरा निर्माणबाट पन्छियो टेलिकम