७ वैशाख २०८१ शुक्रबार
राजनीति

निगम जग्गा खरिदमा चरम भ्रष्टाचार : आपूर्तिमन्त्री मण्डल

काठमाडौं- आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमले इन्धन भण्डारणका लागि जग्गा खरिदमा चरम भ्रष्टाचार भएको बताएका छन् । भ्रष्टाचारमा संलग्न भएकै आरोपमा निगमका कार्यकारी निर्देशक गोपाल खड्का हटेपछि पनि जग्गा खरिद प्रकरणमा थप अनुसन्धान भइरहेको मण्डलले बताए । ‘जग्गा खरिद प्रक्रियामा खड्कालगायत अन्यको पनि संलग्नता छ,’ रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा मन्त्री मण्डलले भने, ‘सबैमाथि छानबिन गरेर कारबाही हुन्छ ।’
मण्डलले झापालगायतका स्थानका जग्गा विक्रेताले आफूलाई अनियमितताको जानकारी दिएको बताए । ‘सुरुमा २ लाख ५० हजार, ३ लाख र ३ लाख ५० हजार मूल्यमा बिक्री गरेको किसानले बताएका छन्,’ मण्डलले भने, ‘सो जग्गा निकै चर्को मूल्यमा खरिद गरिएको छ ।’
मन्त्री मण्डलले यो प्रकरणमा संलग्न कसैलाई नछाड्ने दाबी गरे । ‘जोसुकै यस भ्रष्टाचारमा पर्छ त्यो व्यक्तिलाई कारबाही हुन्छ,’ उनले भने, ‘सूक्ष्म अध्ययन भइरहेको छ ।’ उनले कसैको नाम भने किटान गरेनन् । ‘कानुनले दोषी ठहर भएका कुनै व्यक्तिलाई छोड्दिनँ,’ उनले भने, ‘धेरै मान्छेको प्रत्यक्ष संलग्नता रहेको र केही ठूला व्यक्तिको पनि हात रहेको छ ।’
यसैबीच डेढ अर्ब भ्रष्टाचारका आरोपित नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि थप छानबिन गर्न भ्रष्टाचारविरुद्ध नागरिक आन्दोलनले माग गरेको छ । सो समूहले बुधबार विज्ञप्ति प्रकाशित गरी खड्कालाई उन्मुक्ति दिन नहुने माग गरेको हो । ‘पदबाट बर्खास्त भए पनि उनीमाथि लागेको आरोप छानबिन र कानुनी सजाय के हुने भन्ने बारेमा सरकार प्रस्ट भएन’, विज्ञप्तिमा लेखिएको छ, ‘छानबिन गरी दोषीलाई सजायको भागेदार बनाउने प्रमुख जिम्मेवारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हो ।’

प्रकाशित: ५ आश्विन २०७४ ०४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App