८ वैशाख २०८१ शनिबार
समाज

पहिरोमा आफन्त गुमाउँदा...

प्यूठान- फोप्ली–६, की गोमा पोखरेल केसी लुङमा पहिरो गएको खबर फेसबुकमा अपलोड गरिरहेकी थिइन्। त्यतिखेर आफ्नै घर पनि पहिरोमा पर्ला भन्ने उनले सोचेकै थिइनन्। 'सुरुमा त पत्याइनँ,' उनले भनिन्, 'आखिर, पहिरोले घर बगाउँदा आफन्त र छिमेकी परेे।' उनले पहिरोमा सासू–ससुरा गुमाउन पुगिन्।

फोप्लीकै सेमी पुनमगरले परिवारका सबै सदस्य गुमाइन्। उनी अहिले विक्षिप्त अवस्थामा छन्। उनको घरबाससमेत पहिरोले लग्यो। आमाबुवा, हजुरआमा र दिदीको पहिरोमा पुरिएर मृत्यु भयो। गाउँकै प्राथमिक विद्यालयमा अध्यनरत उनी अहिले छिमेकीको घरमा बसेकी छन्। खाना खाएर साथीको घरमा बस्न गएकाले आफू बाँचेको उनले बताइन्।

सेमीजस्तै सोही ठाउँकी खीमा पुनमगरलाई पनि पहिरोको पीडा खपिनसक्नु छ। घर तल खेतमा बस्न गएका उनका बुबा, भाइ र बहिनीलाई पहिराले खयो। आमा पुरिएर बेपत्ता छन्। यतिबेला बेपत्ता आमाको खोजतलास अनि मृत्यु भएका परिवारका सदस्यको काजकिरिया कसरी गर्ने भन्ने समस्यामा उनी छन्।

गाउँकै झगिन्द्र पुनलाई भने श्रीमती र काखको बच्चासहित चारजना गुमाउँदा असह्य पीडा छ। घरमाथिबाट आएको पहिरोबाट आफू बाँच्न सफल भए पनि उनले अरुलाई बचाउन सकेनन्। पहिरो बग्दै गर्दा आफू उछिट्टिएर बाँचेको उनले सुनाए। 'बग्दै गरेको पहिरोमा लत्पतिँदै भागे,' उनले भने, 'किस्मत राम्रो त होइन, झन् दुःख पाउन बाँचेजस्तै लाग्छ।'

फोप्ली–५, की फुर्सी बोहरा तीन दिनकी सुत्केरी हुन्। उनी भने छिमेकमा पहिरो गएपछि विस्थापित भएर गोठमा बस्दै आएकी छिन्। उनको परिवारका सबै सदस्य गोठमा बस् छन्। चिसोको कारण बच्चालाई समस्या भएको उनले बताइन्।

गाउँका विस्थापित र पहिरोपीडित विद्यालय, सामुदायिक भवन र त्रिपालको सहारामा बस्न बाध्य छन्। फोप्ली–३, ४, ५, ६ र ९ का ४० घर पहिरोले पूर्ण क्षति भएका छन्। अन्य १ सय ६ घरमा आंशिक क्षति छ। करिब १ सय ४६ घरपरिवार गाउँमै आश्रय लिएर बसेका छन्। यो बस्तीका गातिना, भीरकुना, चारीवाङ, अँधेरीलगायत ठाउँ सबैभन्दा बढी प्रभावित छन्।

तीन दिनपछि राहत

पहिरोबाट सबैभन्दा बढी प्रभावित फोप्लीमा ३ दिनपछि राहत टोली पुगेको छ। यहाँ सोमबार राति पहिरो गएको थियो। गाउँमा बिहीबारमात्र राहत वितरण गरियो। सदरमुकामबाट बुधबार दिउँसो हिँडेको टोली राति १२ बजे गाउँ पुगेको नेपाल रेडक्रस सोसाइटी,  प्युठानका मन्त्री दामोदर शर्माले बताए। उनका अनुसार दैवी प्रकोप उद्धार समितिको निर्णयबमोजिम तत्कालका लागि खाद्य तथा अखाद्य वस्तु लगिएको छ।

पीडितलाई रेडक्रसमार्फत त्रिपाल, लत्ताकपडा र भाँडावर्तन तथा गैसस र प्युठान उद्योग वाणिज्य संघमार्फत खाद्यसामग्री प्रदान गरिएको छ। जिल्ला प्रशासन र जिल्ला विकास समितिबाट राहत रकम प्रतिघरपरिवार ८ हजार रुपैयाँ बाँडिएको छ। जिल्ला प्रशासन कार्यालय एवं जिल्ला दैवी प्रकोप उद्धार समितिको ढिलाइले पीडितले समयमै राहत पाउन सकेका छैनन्।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्त सडक अवरुद्ध भएका कारण राहत सामग्री गाउँमा पुर्‍याउन अप्ठेरो परेको बताउँछन्। उनी बिहीबार मात्र पहिरो प्रभावित फोप्ली पुगे, जहाँ सबैभन्दा धेरै २४ जनाको ज्यान गएको थियो।। त्यहाँका १ सय ५० भन्दा बढी घरपरिवार विस्थापित छन्।

उद्धारका लागि नेपाल प्रहरी र नेपाली सेना गाउँ आए पनि प्रशासनले समयमै राहत रकम नपठाएको स्थानीयको गुनासो छ। गाउँमा बच्चा, वृद्ध र असहायको बिचल्ली छ।

स्थानीय हरि भण्डारीले छिमेकीको घरमा शरण परेर विस्थापितले प्राण धानेको जानकारी दिए। खानेपानी लाइन पहिरोले बगाएकाले पिउने पानी अभाव छ। बाढीपहिरो प्रभावित खवाङ, पुजा, लुङलगायत ठाउँमा पनि राहत वितरणमा ढिलाइ भएको छ। विस्थापित सामुदायिक संस्था, विद्यालय र छिमेकीको गोठमा बस्न बाध्य छन्।

अढाई सय विस्थापित

बाढीपहिरोले जिल्लाभर अढाई सय परिवार विस्थापित भएका छन्। जिल्ला दैवी प्रकोप उद्धार समिति, प्युठानका अनुसार बिहीबारसम्म जिल्लाभर २ सय ५७ परिवार विस्थापित भएका छन्।

फोप्लीमा १ सय ४६, अर्खामा २८, पुजामा २२, लिबाङमा १७, स्याउलीबाङमा १५, रजबारामा ६, खुङमा ४, भिंग्री र ओखरकोटमा एक/एक परिवार विस्थापित भएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए।

विस्थापित करिब २ हजारजना स्थानीय विद्यालय, छिमेकीको घरगोठ र आफन्तको घरमा आश्रय लिइरहेका छन्।  बाढीपहिरोले १२ गाविसका १ सय ७ घर पूर्ण तथा १ सय ८७ घरगोठ आंशिक क्षति भएका छन्।

'खबाङका ४३ घर पूर्ण रूपमा जोखिममा छन्,' प्रजिअ पन्तले भने, 'यहाँका ७५ जना व्यक्ति छिमेकमा आश्रय लिएर बसेका छन्।’ प्रति घरपरिवार तत्कालका लागि किरिया खर्चस्वरुप ८ हजार रुपैयाँका दरले रकम प्रदान गरिएको पन्तले जनाए।

पहिरोले घर पुरिएर बेपत्ता भएका जिल्लाका ६ जना अझ फेला परेका छैनन्। नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयले बेपत्ताको खोजी जारी राखे पनि बिहीबार साँझसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए।

 

प्रकाशित: १४ श्रावण २०७३ ०५:५९ शुक्रबार

पहिरोमा आफन्त गुमाउँदा...