७ वैशाख २०८१ शुक्रबार
समाज

एसपी पोखरेलद्वारा नागरिककर्मीलाई दुर्व्यवहार

एसपी यज्ञविनोद पोखरेल

काठमाडौं—रौतहट जिल्ला प्रमुख एसपी यज्ञविनोद पोखरेलले रिपोर्टिङका क्रममा रहेका नागरिकन्युजकर्मी मदन ठाकुरलाई दुर्व्यवहार गरेका छन्। मतगणनाको रिपोर्टिङका लागि गरुडा नगरपालिका पुगेका ठाकुरले निर्वाचन कर्मचारी कुर्सीमा निदाइरहेको फोटो खिच्ने प्रयास गरेपछि मोबाइल खोसेका हुन्।

'फोटो खिच्न प्रयास गर्दा नजिकैको हवल्दारले डायरीले मुख छोपिदिए। मैले त्यही फोटो खिचेँ', पत्रकार ठाकुरले भने, 'एसपी पोखरेलले यस्तो फोटो खिच्न पाइँदैन भन्दै गुन्डा शैलीमा मोबाइल खोसे। सय जनाको सामनेमा तथानाम गाली गर्दै डिएसपी लगाएर लछारपछार गर्न लगाए।'

'फोटो खिच्न प्रयास गर्दा नजिकैको हवल्दारले डायरीले मुख छोपिदिए। मैले त्यही फोटो खिचेँ', पत्रकार ठाकुरले भने, 'एसपी पोखरेलले यस्तो फोटो खिच्न पाइँदैन भन्दै गुन्डा शैलीमा मोबाइल खोसे। सय जनाको सामनेमा तथानाम गाली गर्दै डिएसपी लगाएर लछारपछार गर्न लगाए।'

गरुडामा माओवादी अवरोधका कारण बुधबार बिहान ४:३० बजेदेखि मतगणना अवरुद्ध छ। वडा नं. ३ मा काँग्रेस उम्मेदवार १ मतले पराजित भएपछि माओवादीले पुनःमतगणनाको माग गर्दै मतगणना अवरुद्ध गरिरहेको छ। मतगणना अवरुद्ध भएको सो समाचार प्रहरी र निर्वाचन कार्यालयले लुकाउन चाहेको थियो। पत्रकार ठाकुरले सो समाचार सार्वजनिक गरिदिएका थिए। हेर्नुहोस् सो रिपोर्टिङको लिङ्क

वृन्दावन नगरपालिकामा मतगणना भइरहँदा मंगलबार साँझ काँग्रेस-एमालेबीच झडप भएको घटना पनि प्रहरीले सामसुम पार्न खोजेको थियो। उनले सो घटनाको पनि रिपोर्टिङ गरेका थिए। हेर्नुहोस् सो रिपोर्टिङको लिङ्क

एसपी पोखरेलले भने पत्रकार ठाकुरले आफैँले आएर मोबाइल राख्न दिएर गएको बताए। 'मैले खोसेको होइन उसले आफैँ आएर मोबाइल राख्न दिएर गएको हो। त्यस्तो ठूलो कुरा केही होइन', नागरिकन्युजसँग उनले भने। घटनापछि नागरिकन्युजको प्रधान कार्यालय काठमाडौंमा फोन गर्दै घटनाको समाचार प्रकाशन रोक्न उनले प्रयास गरेका थिए।

डिएसपीबाट एसपीमा बढुवा भएपछि पहिलो पोष्टिङ लिएर ९ महिना अगाडि पोखरेल रौतहट गएका हुन्।

पत्रकार महासंघद्वारा कारवाही माग

घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघ सचिव शीतल झाद्वारा जारी विज्ञप्तिमा घटनाका दोषीलाई कारवाही माग गरिएको छ। 'प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको स्मरण गराउँदै यस्ता क्रियाकलाप नगर्न र घटनको वास्तविकता पत्ता लगाई दोषिमाथि कारवाही गर्न महासंघ सम्बन्धित पक्षसँग माग गर्दछ', विज्ञप्तिमा भनिएको छ।

यसैगरी प्रेस चौतारी नेपाल रौतहट शाखाले पनि एक विज्ञप्ति जारी गर्दै गरुडामा बुधबार नागरिककर्मी ठाकुर एवं मंगलबार माउन्टेन टेलिभिजनका पत्रकार राकेश यादबमाथि दुर्व्यवहार भएको घटनाको मत्सर्ना गरेको छ। चौतारी राैतहटका सचिव बालविक्रम कार्कीद्वारा जारी विज्ञप्तिमा जनताको सूचनाको हक रक्षा गर्ने कार्यमा रातदिन खट्ने सञ्चारकर्मीमाथिको अाक्रमण बन्द गर्न माग गरिएको छ। 

प्रकाशित: ४ आश्विन २०७४ १०:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App