काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले लामो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका दुईथान चिनियाँ जहाजलाई आगामी सोमबार (साउन १७) बाट पुनः उडानमा प्रयोग गर्ने भएको छ।
निगमका लागि 'सेतो हात्ती' प्रमाणित भएका दुईमध्ये सानो आकारको जहाज झन्डै १० महिनादेखि र अर्को ठूलो चिनियाँ जहाज सवा महिनादेखि त्रिभुवन विमानस्थलमा 'ग्राउन्डेड' थिए। दुवै जहाजमा प्राविधिक समस्या आएपछि थन्किएका थिए।
'मर्मतपछि दुवै जहाज उडान गर्न योग्य भएका छन्,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बिहीबार नागरिकसँग भने, 'मर्मत कार्य सफल भएपछि दुइटै जहाजलाई साउन १७ गतेबाट उडान गर्ने तालिका सार्वजनिक गरेका छौं।'
उनका अनुसार ५६ सिट क्षमतायुक्त 'मोडर्न आर्क' (एमए–६०) र १७ सिट क्षमता भएको 'वाई१२–ई' दुइटै जहाजले सातामा २१/२१ उडान गर्ने गरी तालिका बनाइएको छ। एमए–६० ले काठमाडौंबाट विराटनगर, धनगढी, नेपालगन्ज र भद्रपुर तथा वाई१२–ईले पोखरा, सिमरा र भैरहवा उडान गर्ने छ।
'दुवै जहाजले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेका छन्,' प्रवक्ता शर्माले भने, 'टिकट बुकिङ पनि बिहीबारबाटै सुरु भएको छ। आन्तरिक उडानतर्फ हामी उत्साही छौं।'
निगमका अनुसार एमए–६० ले विराटनगरका लागि काठमाडौंबाट बिहान दैनिक एक उडान गर्ने छ। यो उडान बिहान साढे ७ बजे हुने र फर्केर साढे ९ मा आउने छ। त्यसबाहेक आइतबार, मंगलबार, बुधबार र शुक्रबार दिउँसो २ः२० बजे पनि विराटनगर जाने र ४ः४० मा फर्कने छ।
यही जहाजले आइत, मंगल, बुध र शुक्रबार साताका चार दिन बिहान १०ः२० बजे काठमाडौं–धनगढी उडान गर्ने र फर्केर दिउँसो १ः५० बजे आउने छ। त्यस्तै सोम, बिही र शनिबार दिउँसो १ बजे काठमाडौंबाट नेपालगन्ज जाने र साढे ४ बजे फर्कने तालिका बनाइएको छ। त्यस्तै भद्रपुरका लागि सोम, बिही र शनिबार बिहान १०ः२० बजे जाने र दिउँसो १ः२० बजे फर्कने तालिका छ।
अर्को चिनियाँ जहाज वाई१२–ईलाई भने पोखरा, सिमरा र भैरहवा गन्तव्यमा उडाइने छ। तीनवटै गन्तव्यका लागि दैनिक एक उडान राखिएको छ। यो जहाज काठमाडौंबाट बिहान साढे ७ बजे पोखरा उड्ने र सवा ८ बजे फर्कने छ। त्यस्तै बिहान साढ ८ बजे सिमरा जाने र पौने १० बजे फर्कने छ भने बिहान १० बजे भैरहवा गएर ११ः५५ बजे काठमाडौं फर्कने उडान तालिका बनाइएको छ।
२०७२ कात्तिकमा प्रशिक्षक पाइलट अभाव भएपछि वाई१२ई थन्किएको थियो। लामो समय ग्राउन्डेड भएपछि निगमले आफैं प्रशिक्षक पाइलट तयार गरेको थियो। त्यसपछि गत वैशाखमा यो जहाजको परीक्षण उडान गरिएको थियो। उडान सकेर अवतरण गरेपछि जहाजको एउटा इन्जिनमा समस्या उत्पन्न भएको थियो। त्यसपछि जहाज मर्मत गर्ने प्रयास सफल हुन सकेको थिएन।
त्यसैगरी एमए–६० भने एकपटक बिग्रिएर उडेको दुई सातामै गत जेठ अन्तिममा ग्राउन्डेड भएको थियो। यसको दायाँ इन्जिनमा रहेको 'इसिएस प्यानल' चर्किएपछि जहाज रोकिएको थियो।
प्राविधिक कारण चिनियाँ जहाज सञ्चालन गर्न समस्या भएपछि निगम व्यवस्थापनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरी यी जहाज उडाउँदा हुने घाटा चिनियाँ पक्षले बेहोर्नुपर्ने, जगेडा सामान १० वर्षसम्म निःशुल्क उपलब्ध गराउनुपर्ने, जहाजसम्बद्ध नियम सबै चिनियाँ भाषाको सट्टा अंग्रेजी भाषामा लेखिएको हुनुपर्ने, चालकदलको तालिम खर्च कटौती र बिमा रकम कम हुनुपर्ने एवं जहाजले बोक्ने तौल बढी हुनुपर्ने सर्त पूरा भएमात्र बाँकी जहाज ल्याउने जानकारी गराएको थियो।
चिनियाँ जहाज पुनः उडान गरे पनि निगमलाई फाइदा भने हुने छैन। निगमले नै तयार पारेको विवरणअनुसार २०७१ पुसबाट २०७२ पुससम्म एक वर्ष उडान गर्दा एमए–६० ले १४ करोड १० लाख ३० हजार ८ सय ११ रुपैयाँ आम्दानी गरेको थियो। यसलाई उक्त एक वर्ष उडाउन ४० करोड ५० लाख ९७ हजार २ सय ९३ रुपैयाँ सञ्चालन खर्च लागेको थियो।
एमए–६० लाई उडाउन आवश्यक इन्धनमा १३ करोड ६ लाख खर्च भएको थियो। त्यस्तै बिमावापत १६ करोड ९३ लाख ६८ हजार ३ सय ८४, ल्यान्डिङ र पार्किङमा ६९ लाख ५७ हजार ५ सय ६८, चालकदलको खाना/खाजा खर्च १ करोड १४ लाख ७२ हजार ४ सय ४५ र अन्य खर्च ८ करोड ६६ लाख ४१ हजार ३ सय ५१ रुपैयाँ खर्च भएको थियो। निगमले एक वर्षसम्म एमए–६० उडाएर नाफाको सट्टा उल्टै २६ करोड ४० लाख ६६ हजार ४ सय ८२ रुपैयाँ नोक्सानी बेहोरेको थियो। यो भनेको दैनिक ७ लाख २३ हजार ४ सय ६९ रुपैयाँ हो।
त्यसैगरी २०७१ माघबाट २०७२ कात्तिकसम्म नौ महिना उडान गर्दा वाई१२–ईले १ करोड २२ लाख ८८ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो तर यसलाई उडाउन भने ६ करोड ७५ लाख ६३ हजार ९ सय ४७ रुपैयाँ सञ्चालन खर्च लागेको थियो। त्यति अवधिमा इन्धनका लागि १ करोड ४९ लाख खर्च भएको थियो।
यसको बिमावापत ४ करोड १९ लाख ७९ हजार ९ सय १२, ल्यान्डिङ र पार्किङमा १० लाख ६४ हजार ७ सय ७५ र चालकदलको खाना/खाजा खर्च ९५ लाख ९२ हजार २ सय ७० रुपैयाँ खर्च भएको थियो। यो जहाज नौ महिनासम्म उडाउँदा निगमले ५ करोड ५२ लाख ७६ हजार रुपैयाँ नोक्सान बेहोरेको छ। यो भनेको दैनिक नोक्सानी २० लाख ४ हजार ७ सय २५ रुपैयाँबराबर हो।
अझै तीनथान वाई१२–ई जहाज चीनबाट ल्याउन बाँकी छ। सबै जहाज सहुलियत ऋणमा ल्याउन चीनसँग सम्झौता भइसकेको छ। नेपाल र चीनबीच २०७० मंसिर १३ मा ६ थान जहाजका लागि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँबराबरको ऋण तथा अनुदान सम्झौता भएको थियो। त्यसमध्ये २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग तथा ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ ऋण सहयोग हो। नेपालले सम्झौताअनुसार पाउने सहुलियत ऋणको वार्षिक ब्याज दर १.५ प्रतिशत छ। ल्याउन बाँकी चार जहाजको कुल रकमको ८० प्रतिशत अर्थात २ अर्ब ९८ करोड २४ लाख रुपैयाँ चुक्ता भइसकेको छ।
चीनको 'एक्सपोर्ट–इम्पोर्ट' (एक्जिम) बैंकमार्फत जहाज खरिद गर्न ऋण उपलब्ध भएको हो। यी जहाज अर्थ मन्त्रालयले करिब दुई प्रतिशतसम्म ब्याज दरमा निगमलाई दिएको छ। अर्थले पहिलो सात वर्षसम्म साँवा र ब्याज केही पनि तिर्नुनपर्ने 'ग्रेस पिरियड' दिएको छ भने आठौं वर्षबाट पन्ध्रौं वर्षसम्म सबै रकम चुक्ता गरिसक्नुपर्ने सर्त छ।
प्रकाशित: १४ श्रावण २०७३ ०५:४१ शुक्रबार