७ वैशाख २०८१ शुक्रबार
राजनीति

जलेश्वर वडा नं १ मा लोकतान्त्रिकका झा विजयी

गौशाला – महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ। 

मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका अनिल झाले २८६ मत ल्याएर विजयी भएका छन्। 

त्यस्तै, उनका निकटतम प्रतिद्वन्दी राजपाका राकेशकुमार साहले २१६ मत ल्याएका छन्। 

यसैगरी, सो वडाको एक वडा सदस्य, दलित महिला सदस्य पनि नेपाल लोकतान्त्रिक फोरमले नै जितेको छ भने एक सदस्य राजपाले जितेको छ। दुईजना वडा सदस्य पदका उम्मेदवारको मत बराबर भएकोमा गोलाप्रथाबाट चयन गरिने मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए। 

महोत्तरीमा राजपाले खाता खोल्यो 

यसैबीच, महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा राष्ट्रिय जनता पार्टीले वडाध्यक्षमा विजय प्राप्त गर्दै खाता खोलेको छ। 

महोत्तरी गाउँपालिका–१ मा राजपाका जीतेन्द्र यादव ६४० मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन्। 

मतदान अधिकृत रामानन्दप्रसाद अधिकारीका अुनसार उनले आफ्ना प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका रामनन्दन यादवलाई ५०५ मतान्तरले हराउँदै वडाध्यक्ष पदमा विजयी भएका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी रामनन्दन यादवले १३५ मत मात्रै प्राप्त गरेका छन्। महोत्तरी गाउँपालिकाको अध्यक्षमा ७९९ मत ल्याएर राजपाका सुनिल राय मतगणनामा अगाडि रहेका छन्। 

भंगहा— १ मा माओवादी केन्द्रको प्यानलै विजयी 

यसैगरी, महोत्तरी जिल्लाकै भंगहा नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ। 

निर्वाचन अधिकृत तिलकबहादुर कार्कीका अनुसार भंगहा नगरपालिका–१ को वडाध्यक्षमा नवलकिशोर कापर ७८८ मत ल्याएर विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी राजपाका राजेश साह कलवारले ४६२ मत ल्याएका छन्। 

भंगहा–१ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ भने सो नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार ११७० मत ल्याएर अग्रस्थानमा रहेको निर्वाचन अधिकृत कार्कीले बताए। 

प्रकाशित: ४ आश्विन २०७४ ०६:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App