८ वैशाख २०८१ शनिबार
खेल

नेपालको सहभागिता अनुभवमै सीमित

नेपालका बीरबहादुर महरा (राताे बेल्ट) तेक्वान्दाेमा ताजिकिस्तानका डाभ्लामुरादिवरूद्ध प्रतिस्पर्धा गर्दै । तस्बिर : अजय फुयाल

अस्गाबत –ठूला अन्तर्राष्ट्रिय खेलमेलामा नेपालको सहभागिता अनुभव बटुल्नेमै सीमित हुने गरेको छ । अझ कहिलेकाहीं त लाखौं खर्च गरेर प्रतियोगिता खेल्न पुग्दा सहभागिता जनाउनै नपाउनु पनि नेपाली खेलाडीको नियति बन्ने गर्छ। 

तुर्कमेनिस्तानको राजधानी अस्गाबतमा मुवाथाई किक बक्सिङका नवराज गुरुङ रिङमा उत्रन नपाएबाट सुरु भएको नेपालको पाँचौं एसियाली इन्डोर तथा मार्सल आटर््स खेलकुदको यात्रा मंगलबार पनि निराशाजनक रहयो । तेक्वान्दोमा निमा गुरुङ र वीरबहादुर महराको अस्गाबत यात्रा सहभागितामै सीमित भयो। 

ताजिकिस्तानका डाभ्लामुराद डारिमोभीविरुद्धको भिडन्तमा वीरबहादुरले कमजोर सुरुआत गरे पनि उत्कृष्ट पुनरागमन जनाएका थिए । तर, सेन्सरसहितको प्याड लगाएर खेल्ने बानी नभएको मूल्य उनले चुकाउनुपर्‍यो । अन्तिम ३२ अन्तर्गत खेलको पहिलो राउन्डमा ०–८ ले पछि परे पनि त्यसपछि उनले उत्कृष्ट पुनरागमन गरेका थिए । दोस्रो राउन्डमा ६–१ ले पुनरागमन गरेका वीरबहादुर तेस्रो राउन्डमा ६–६ को बराबरीमा सीमित हुँदा समग्रमा १५–१२ ले नतिजा सुम्पन बाध्य भए । ६ मिनेटको खेलमा वीरबहादुरले विपक्षीबाट दुई नेगेटिभ अंक पाएका थिए भने एक अंक आफूले दिएका थिए । 
तेस्रो चरणमा उनको एउटा ह्यामर किकले अंक नपाउँदा वीरबहादुरको दुर्भाग्य थप चुलियो । ‘सेन्सरमा खेल्ने बानी नहुँदा आज जित्न सकिने खेल हार्नुप¥यो । सेन्सरमा खेल्ने बानी भएको भए तेस्रो राउन्डमा वीरबहादुरले हानेको ह्यामरबाट तीन अंक पाउँथ्यो । त्यसपछि बचेर खेल्दा पनि सजिलै जितिन्थ्यो । नेपालमा हामीसँग सेन्सरसहितको प्याड छैन,’ हरिहरप्रसाद पाण्डेले खेलपछि नागरिकसँग भने, ‘कोरियाबाट ल्यााएको प्याड पनि हामी अस्गाबत आउने दिन मात्र आइपुग्यो।’

नेपाली टोलीसँग सिन प्याडबाहेक अरु सेन्सरसहितको प्याड नहुँदा हेड र चेस्ट प्याड आयोजकसँग मागेर खेल्नुपरेको थियो। 

‘यहाँ आएर सेन्सरमा खेल्नुपर्ने भएपछि त्यसैमा अभ्यास गर्न पाएको भए जित्न सकिन्थ्यो,’ २२ वर्षे वीरबहादुरले गुनासो गरे, ‘अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा त्यहीअनुसारको अभ्यास गर्नुपर्छ । विपक्षीहरू सबै नयाँ प्रविधिसँग अभ्यस्त भइसकेका हुन्छन् । हामीले चाहिँ विपक्षीभन्दा पहिला प्रविधिको चुनौतीबाटै आत्तिनुपर्छ।’

मंगलबारै विहान चाँडो गरी सम्पन्न खेलमा निमा गुरुङले अन्तिम १६ को खेलमा इरानकी नाहिद कियानिचान्देहलाई २–२२ को नतिजा सुम्पिइन् । अस्गाबतको ओलम्पिक भिलेजस्थित तेक्वान्दो डान्स स्पोर्ट्स एरिनामा उनले कुनै पनि समय विपक्षीलाई चुनौती दिन सकिनन् । तर उनको गुनासो पनि सेन्सर प्याडमै थियो । सेन्सर प्याडमै अभ्यास गर्न सकेको भए नतिजा राम्रो हुन सक्ने उनको भनाइ थियो।

‘सधैं यस्तै सुविधामा अभ्यास गर्न सकेको भए एरिनामा उत्रिँदा आत्मविश्वास बेग्लै हुन्थ्यो । आज मेरो नतिजा फराकिलो देखिए पनि खेल त्यस्तो हुँदैनथ्यो,’ उनले भनिन् । 

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले पनि नेपाली खेलाडी प्रविधिसँग अद्यावधिक नहुँदा अन्तर्राष्ट्रिय प्रतियोगितामा असफलता भोग्नुपरेको स्विकारे । ‘यहाँकै जस्तो कभर्डहलमा नियमित रूपमा सेन्सर प्याड लगाएर खेल्ने अनुभव भएको भए नेपालको नतिजा राम्रो हुन्थ्यो,’ श्रेष्ठले भने । 
‘यहाँ आएर सेन्सरमा खेल्नुपर्ने भएपछि त्यसैमा अभ्यास गर्न पाएको भए जित्न सकिन्थ्यो ।’

प्रकाशित: ४ आश्विन २०७४ ०३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App