८ वैशाख २०८१ शनिबार
खेल

भोलिबाट अन्तर्राष्ट्रिय आमन्त्रण कबड्डी

काठमाडौं – अखिल नेपाल कबड्डी संघले बिहीबारबाट प्रथम पुरुष अन्तर्राष्ट्रिय आमन्त्रण कबड्डी प्रतियोगिता गर्ने भएको छ । 
दशरथ रंगलाशाला कभर्ड हलमा हुने प्रतियोगिता ३ दिनसम्म चल्नेछ । प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका र भारत गरी ४ टोलीको सहभागिता रहने संघकी अध्यक्ष तुलसी थापाले बताइन् । प्रतियोगितामा नेपाल, बंगलादेश र श्रीलंकाको राष्ट्रिय टोलीले सहभागिता जनाउँछन् भने भारतले दोस्रो रोजाइको टोली उतार्नेछ। 

‘अन्तर्राष्ट्रिय जगतलाई नेपालमा पनि कबड्डी खेल खेलिन्छ भनेर सन्देश दिनका लागि यो प्रतियोगिता गरिएको हो,’ थापाले भनिन्, ‘नेपालकै पुरानो खेलमध्येमा पर्ने यो खेलको लोकप्रियता बढ्दो क्रममा छ ।’

प्रतियोगिताका खेलहरू राउन्ड रोबिनका आधारमा हुनेछन्, जहाँ प्रत्येक टोलीले एकआपससँग प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोबिनपछि शीर्ष स्थानमा रहने टोली नै प्रतियोगिताको विजेता हुनेछ ।

गत वर्ष पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदलाई  आधार मान्दै राष्ट्रिय टोलीको छनोट गरिएको नेपालका सहायक प्रशिक्षक विष्णुदत्त भट्टले जानकारी दिए । पहिलो चरणमा २६ खेलाडी छनोट गरिएको र त्यसबाट अन्तिम १४ जना खेलाडी छनोट गरिएको उनले बताए।

नेपाली टोलीमा त्रिभुवन आर्मी क्लबका ४ र मध्यमाञ्चलका ३ खेलाडी छन् । त्यस्तै सशस्त्र प्रहरी बल (एपिएफ) र पश्चिमाञ्चलका समान २÷२ तथा सुदूरपश्चिमाञ्चल, पूर्वाञ्चल र मध्यपश्चिमाञ्चलका १÷१ खेलाडी छन्।

‘हाम्रो तयारी सन्तोषजनक छ । प्रतियोगितामा राम्रो चुनौती दिन हामी तयार छौ,’ प्रशिक्षक भट्टले भने, ‘सबै टोलीको स्तर समान भए पनि बंगलादेश र श्रीलंका बलियो प्रतिद्वन्द्वी हुन्।’

 

प्रकाशित: ४ आश्विन २०७४ ०३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App