८ वैशाख २०८१ शनिबार
अन्य

मनोरञ्जन कि संस्कृति ?

तस्बिर : दिपेश श्रेष्ठ

दशैंको माहौलमा देखिने चङ्गाहरुको भीड आजकल काठमाण्डौंको आकाशमा त्यतिसाह्रो देखिंदैन ।   

यदाकता मात्रै झुल्किने चङ्गाले उपत्यकाको आकाश परिवर्तन भएको संकेत गर्छन् । शरद् क्रृतुको समय र दशै तिहारको याममा आकाशमा चङ्गा नदेखिंदा कताकता अनौठो लाग्छ । दशैंको संकेत लिएर काठमाण्डौंका आकाशमा चङ्गा देखिने पुरानो चलन हो । हातमा लट्टाई बोकेर घरका छतछतबाट आकाशगङ्गातर्फ केन्द्रित हुने युवाहरु अहिले कम्प्युटरको कि बोर्ड, फेसबुक तथा ट्वीटरमा केन्द्रित हुन थालेकाले आकाश बदलिएको छ । पहिला जस्तो आकाशमा चङ्गाको लडार्इं हुन छाडेको छ, बरु अहिले सामाजिक सञ्जालमा यस्तो लडाईं देखिन्छ । विना चङ्गाको आकाशले दशैंलाई फिक्का बनाइरहेको छ ।

छुट्टै खालको मौसम, पारिला घाम र मानिसमा हुने चहल पहलले वर्षायाम सकिएर शरद क्रृतु सुरु हुने वित्तिकैबाट एकखालको आनन्द सुरु हुन थाल्छ । खासगरी कामकाजी मानिसहरु बाहेक घरमा बस्ने केटाकेटी र बुढाबुढीमा त दशंै के हा,े कसरी सुरु हुन्छ र यसपालीको दशैं कसरी मनाउँने भन्ने चर्चा सुरु हुन थाल्छ ।

दशैं हिन्दूहरुको महान् चाड हो । आम रुपमा नेपालीहरुको महान् चाड हो भन्दा पनि खासै फरक पर्दैन यद्यपी सबै धर्मका आ–आफ्नै चाडहरु छन् र, तिनलाई राज्यले स्वीकार पनि गरिसकेको छ । त्यस्ता चाडपर्वहरुमा राज्यले बिदाको घोषणा गरेर वा अन्य कुनै तवरले राज्यले ती चाडहरुलाई स्वीकार गरिसकेको भएतापनि दशैंको माहौलले कुनै जाती, धर्म वा वर्ग विशेषलाई अलग गर्न सक्दैन । त्यसैले कुन धर्म मान्छ भन्ने आधारमा भन्दा पनि सरकारी काम गर्ने कर्मचारी सबैलाई दशैंको एक महिनाको तलव दशैं खर्चको रुपमा उपलब्ध गराउने गरिएको छ ।

जसरी आकाश परिवर्तन भएको छ, त्यसैगरी नेपाली संस्कृतिहरुमा पनि परिवर्तनका संकेतहरु देखिएका छन् । अरु धर्मजस्तो कट्टर नभएकोले यसमा धेरै खालका उतार चढाव र परिवर्तनहरु देखिएका छन् । पुरानो जमानामा श्रोत साधन तथा बजारको समेत अभावमा दशंैमात्र यस्तो चाड थियो जसका माध्यमबाट मानिसहरुमा मिठो खाने र राम्रो लगाउने तथा रमाइलो गर्ने गर्दथे । तर अहिले बजार र अर्थतन्त्रले ती सबै अवस्थालाई विस्थापित गरिसकेको छ ।

अहिले ती सबैकुराको परिवर्तन तथा उपलब्धताले दशैंको महत्व मनोरञ्जनको रुपमा स्थापित हुँदै गइरहेको छ । मनाउने शैली फेरिएको छ र मनोरञ्जनका अन्य उपायहरु उपलब्ध भएकाले पनि यसमा धेरथोर परिवर्तन हुन थालेको छ । तर पनि भेटघाटको संस्कृतिलाई जोगाउने एकमात्र माध्यम दशैं भएकाले पनि अहिलेसम्म दशैंको महत्वमा कमि भने आएको छैन ।

करिब असीप्रतिशतको हाराहारीमा रहेका हिन्दूहरुका अरु धेरै चाडर्वहरु भएपनि तिनीहरुको आफ्नै महत्व छ तर तिनले दशैंको महत्वलाई छल्न वा विस्थापित गर्न सकेको छैन । र, सक्ने अवस्था पनि छैन । बर्षाभरी काम गर्ने र एकमहिनाको समय रमाईलो गर्ने, भेटघाटमा विताउने तथा जीवनलाई स्फूर्ति दिलाउने हिसाबले यो संस्कृतिको विकास भएको जस्तो देखिन्छ । तरपनि दिनदिनै बढिरहेको भड्किलो प्रवृति, फजुल खर्च गर्ने काइदा र भित्रिरहेको मदिरा सेवनको प्रवृत्तिले दशैंलाई संस्कृति हो वा मनोरञ्जनको अवसर भन्ने विवादतर्फ धकेलिरहेको छ ।

लामो छुट्टिका दिनमा लगातार मदिरा सेवन गर्ने र जुवातास खेल्ने अवसर राज्यले नै उपलब्ध गराएको हो कि भन्ने सम्म पनि देखिन्छ ।

राज्यको कानुनले बर्जित गरेको जुवातास यहि अवसरमा छुट पाउ“दा कतिपय व्यक्तिहरु जुवा खेलेर टाट पल्टिएको अवस्थामा पनि देखिन्छन् । घरमा जहान छोराछोरीलाई राम्रो नाना नकिन्दिने, मिठो खान नदिने तर जुवामा पैसा हारेर हरितन्नम भएकोसम्म भेउ नपाउ“दा दशैं जस्तो संस्कृतिको गलत अभ्यास भइरहेको देखिन्छ ।  

दशैं हाम्रो आफ्नो पहिचानको संस्कृति भएकाले यसलाई सकभर पुरानो शैलीमा मनाउने, देवदेवीको पूजा अर्चना गर्ने अवसरको रुपमा विकास गर्नु आवश्यक छ भने देवदेवीलाई दिइने पशुपंक्षीको बलीलाई कसरी व्यवस्थित गर्ने भन्ने तर्फपनि विचार पु¥याउन आवश्यक भईसकेको छ ।

नेपालको संविधानको धारा ३२ ले भाषा तथा संस्कृतिको हकलाई मौलिक हक मानेको छ । मौलिक हक भन्ने वित्तिकै यो हाम्रो आफ्नो जन्मसिद्ध अधिकार हो र यसलाई कसैले हनन गर्न वा उल्लंघन गर्न पाउदैन । राज्यले समेत यसको संरक्षण गर्नबाट उम्किन पाउदैन भन्ने अर्थमा नै मौलिक हकको महत्वलाई स्थापित गरिएको छ । प्रत्येक व्यक्ति र समुदायलाई  आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी हुन पाउने हक हुनेछ र नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवद्र्धन र संरक्षण गर्ने हक हुनेछ भन्ने व्यवस्था संविधानमा भएकाले यो अहरणीय अधिकारको रुपमा स्थापित छ । र, संविधानले व्यवस्था गरेका आधारमा भन्नुपर्दा यो एउटा सभ्यता हो त्यसैले यसको जगेर्ना गर्ने कर्तव्य पनि हामीमा छ ।   

उता संविधानको धारा २६ मा समेत धार्मिक स्वतन्त्रता सुनिश्चित गरिएको छ र धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नोे आस्था अनुसार धर्म अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ भनिएको छ । संस्कृति र धर्मको कुरासंगै हाम्रा चाडबाडहरु समेत जोडिएकाले धार्मिक अभ्यास हुने स्वतन्त्रतालाई समेत हामीले जगेर्ना गर्ने र त्यसबाट आफूलाई परिस्कृत गर्दै लैजाने स्वतन्ताको रुपमा बुझ्नु उचित हुन्छ ।

प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुनेछ भन्ने व्यवस्था पनि संविधानमा छ । साथै यस धाराद्धारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो  कार्य कानून बमोजिम दण्डनीय हुनेछ भन्ने व्यवस्था छ । यसबाट हाम्रा धर्म, संस्कृतिका अधिकारहरुको समेत सीमा छ र तिनको उचित अभ्यास मात्रै हाम्रो सभ्यताका प्रतीक हुन सक्छन् भन्ने स्पष्ट छ । त्यसो भएकाले संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि हामीले जनजनबाट समेत उचित ख्याल नपु¥याउने हो भने हाम्रा सांस्कृतिक अधिकारहरु समेत छाडा र अपांग हुन पुग्दैनन् भन्न सकिदैन ।

राष्ट्रिय कानुनहरुमा मात्रै होइन । अन्तराष्ट्रिय कानुनले समेत धर्म र संस्कृतिको अधिकारलाई स्वतन्त्रपूर्वक अभ्यास गर्न पाउने अधिकारको रुपमा सुनिश्चित गरेका छ ।  संयुक्त राष्ट्रसंघीय नागरिक तथा राजनीतिक अनुबन्ध, १९६६  को धारा १८ र धारा २७ ले धर्म र संस्कृतिलाई व्यक्तिको आफ्नो जातीय परम्परा अनुसार अभ्यास गर्न पाउने अधिकारको रुपमा स्वीकार गरेको छ ।  धारा १७ मा भनिएको छ, “विचार, अन्तस्करण तथा धर्मको स्वतन्त्रताको अधिकार प्रत्येक व्यक्तिलाई हुनेछ । यस अधिकारमा आफ्नो छनौटको धर्म अथवा आस्था ग्रहण गर्ने अथवा लिने स्वतन्त्रता तथा व्यक्तिगत रुपमा अथवा अरु व्यक्तिसंग तथा सार्वजनिक अथवा गोप्य रुपमा आफ्नो आस्था अथवा धर्म, पूजा, नियम अभ्यास तथा प्रशिक्षणमा देखाउने स्वतन्त्रता समावेश हुनेछन् ।
 
धारा २७ मा स्पष्ट रुपमा अल्पसंख्यक वा पिछडिएका वर्ग वा समुदायका व्यक्तिको अधिकार समेत सुनिश्चित गरिएको छ । जातीय, धार्मिक अथवा भाषिक अल्पसंख्यक भएका राज्यमा यस्ता अल्पसंख्याका मानिसलाई आफ्ना समूहका सम्प्रदायसंग आफ्नो संस्कृति उपभोग गर्ने, आफ्नो धर्मको प्रचार तथा अभ्यास गर्ने अथवा आफ्नो भाषा उपभोग गर्ने अधिकारलाई इन्कार गरिने छैन भन्ने व्यवस्था उक्त धारामा छ ।  

दशैं पनि हाम्रो एउटा संस्कृतिको पाटो हो । तर यसलाई हामी विस्तारै धर्मभन्दा पनि सांस्कृतिक मनोरञ्जनको रुपमा विकास गर्न थालिरहेका छौं । यसलाई मान्यजनबाट आशिर्वाद ग्रहण गरी आफ्नो कर्ममा अघि बढ्ने हौसलाको रुपमा भन्दा पनि रंगरौस र रमाइलोको रुपमा विकास गरिरहेका छौं । खानपिन र घुमघामलाई बढ्ता प्राथमिकता दिइरहेका छौं । धार्मिक शक्तिपिठहरुमा पूजाआजा गर्नमा भन्दा पनि देखावटी शक्तिको दर्शन र भजन किर्तनमा लागिरहेका छौं । मद्यपान र कुलतलाई प्राथमिकता दिइरहेका छौं । यस्तो अवस्थामा हाम्रो धर्म र संस्कृतिको अधिकारको हामीले उचित उपभोग गरिरहेका छौं कि त्यसको दुरुपयोग भइरहेको छ भन्ने कुराको विचार गरिरहेका छैनौं ।

अरु रमाइलो त आफ्नो ठा“उमा छ । बली दिने वा अन्य खालका मार हानेर हामी पशुहरुबाट आफ्नो आहार लिइरहेका छौ र त्यसबाट रमाइरहेका छौं । अरु कुरामा चा“हि हामी परिवर्तन पनि स्वीकार गरिरहेका छौं र त्यसलाई पचाइरहेका पनि छौं । तर पशुवली रोक्न वा त्यसलाई कम गर्नमा भने हामी चुकीरहेका छौं ।

एक्काइशौ शताब्दीमा पनि हाम्रा संस्कृति, परम्परा र धार्मिक आस्थाको अभ्यासका क्रममा एक खालको पुरानै ढर्रालाई हामी अबलम्बन गरिरहेका छौं । हामी जनावरहरुमा आश्रित छौ र तिनीहरुबाट हाम्रा काम र व्यवहारहरु चलाइरहेका पनि छांै । र, उनीहरुलाई हाम्रो आहार पनि बनाइरहेका छौ । हामी घरघरमा पशुवली दिने प्रथालाई अझैपनि अनुशरण गरिरहेका छौं तर पशु अधिकारको संवेदनशिलता हामीमा अझै विकास हुन सकिरहेको छैन र पशुअधिकारलाई कसरी सम्मान गर्न सकिन्छ भन्ने तौरतरीका खुट्याउन सकिरहेका छैनौं ।

गढीमाइको मेलाका सन्दर्भमा दिइने पशुवली रोक्नु उचित हुन्छ कि हु“दैन भन्ने मुद्दामा हाम्रो सर्वाेच्च अदालतले अधिवक्ता अर्जुन कुमार अर्याल विरुद्ध नेपाल सरकारको मुद्दामा पशुवली कम गर्दै लैजान दिएको निर्देशनको पालना हुन सकेको छैन । चङगा विनाको आकाश जसरी फिका भइरहेको छ मनोरञ्जनका नाममा भइरहेका भडकिला गतिविधिले पनि दशैंको संस्कृतिलाई त्यसैगरी फिका बनाइरेका छन् ।

प्रकाशित: ३ आश्विन २०७४ ०८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App