८ वैशाख २०८१ शनिबार
खेल

बेलको आलोचकलाई चुप लगाउने गोल

रियाल साेसिडडका गाेलकिपरलार्इ छक्याउँदै गाेल गर्ने क्रममा रियाल मड्रिडका गारेथ बेल । तस्बिर :एपी

मड्रिड – आलोचकलाई चुप लगाउने गरी गारेथ बेलले एकल प्रयासमा उत्कृष्ट गोल गरेको दिन रियाल मड्रिडले आइतबार रियाल सोसिडाडलाई ३–१ ले हराएको छ।

बोर्जा मायोरलले क्लबका लागि गरेको पहिलो गोलमा रियालले अग्रता लिएको थियो । सोसिडाडका केभिन रोडरिग्वेजले रियालका साथै आफ्नै पोस्टमा पनि गोल गरेपछि पहिलो हाफमा जिनेदिन जिदानको टोलीले २–१ को अग्रता लियो । दोस्रो हाफमा बेलले एकल प्रयासमा अर्को गोल थप्दै रियालको तीन अंक सुनिश्चित गरेका थिए । जारी सिजनमा बेलको यो दोस्रो गोल हो।

जितसँग युरोपियन च्याम्पियन रियाल चौथो स्थानमा उक्लिएको छ । जुन शीर्ष क्लब बार्सिलोनाभन्दा ४ अंकले पछि हो । बेलले स्पेनिस सञ्चारमाध्यम र रियालका समर्थकबाट चर्को आलोचना खेप्दै आएका थिए । विशेष गरी रोनाल्डो अनुपस्थित खेलमा रियालले घरेलु मैदानमा भ्यालेन्सिया र लेभान्टेसँग अंक बाँडेपछि बेलका आलोचक बढेका थिए ।
‘गोल गर्न पाउँदा सधैं खुसी लाग्छ । तर, त्योभन्दा महत्त्वपूर्ण तीन अंक बटुल्नु हो । यससँगै हामीले अब लय समातेका छौं र विजययात्रामा फर्किएका छौं,’ वेल्सका स्टार बेलले भने, ‘मैले कडा मिहिनेत गरिरहेको छु र सक्दो राम्रो गर्ने कोसिस गरिरहेको छु । बाहिर के हुन्छ त्यो मैले नियन्त्रण गर्न सक्दिनँ । मैले गर्न सक्ने भनेको मैदानमा कडा मिहिनेत नै हो । जीवनमा उतारचढाव त भइहाल्छ । कसरी पुनरागमन हुन्छ भन्ने ठूलो कुरा हो।’

पाँच खेल प्रतिबन्धका कारण रोनाल्डो अनुपस्थित थिए भने करिम बेन्जेमा घाइते छन् । दुई मुख्य फरवार्ड नभएको अवस्थामा प्रशिक्षक जिदानले २० वर्षे मायोरललाई पहिलो रोजाइ खेलाएका थिए । फ्रान्सका फरवार्डले पनि २०औं मिनेटमा आफूलाई प्रमाणित गरे । मायोरलको गोलसँगै रियालले लगातार ७३ खेलमा कीर्तिमानी गोल गर्न सफल भयो ।
त्यसको नौ मिनेट नबित्दै भ्रमणकारी टोलीका रोडरिग्वेजले विपक्षी गोलपिकर केलर नाभासको गल्तीमा बराबरी गोल फर्काए । अल्भारो ओड्रिजोलाको क्रसमा रोडरिग्वेजले हानेको भली प्रहार गरेका नाभासको टाङमुनिबाट छिरेको थियो ।
उत्कृष्ट भली गोलमार्फत खेल बराबरी गरेका रोडरिग्वेजले ३६औं मिनेटमा रियाललाई आत्मघाती गोल उपहार दिए । मायोरलको क्रसलाई क्लियर गर्ने क्रममा रोडरिग्वेजले आफ्नै पोस्टमा गोल गरेका थिए । बेलले ६०औं मिनेटमा अर्को गोल थपेपछि भ्रमणकारी रियालले घरेलु समर्थकलाई स्तब्ध बनाएको थियो । इक्कोले दिएको लामो पासलाई बेलले विपक्षी रक्षकलाई पन्छाएर चिप गर्दै गोल गरेका थिए।

त्यसअघि भिल्लारियालसँग ३–० ले हारेपछि आल्भेसले अर्जेन्टिनी प्रशिक्षक लुइस जुवेलडियालाई बर्खास्त गरेको थियो । जुवेलडियाको टोली लेगानेस, बार्सिलोना र सेल्टाभिगोसँग पराजित भएपछि कुनै अंक जोड्न सकेको थिएन भने गोल पनि गर्न असफल भएको थियो।

आल्भेसको ठीक विपरीत सेभियाले आफ्नो विजययात्रालाई निरन्तरता दियो । साम्पडोरियाबाट २ करोड ४० लाख अमेरिकी डलरमा यसै सिजन अनुबन्धित लुइस मुरियलको गोलप्रेरित सेभियाले आइतबार जिरोनालाई १–० ले हरायो । जितसँगै चार खेलबाट १० अंक जोडेको सेभिया दोस्रो स्थानमा उक्लिएको छ । चेल्सीका पूर्वफरवार्ड लुइक रेमीको गोलमा लस पाल्मसले एथलेटिक बिल्वाओलाई १–० ले पराजित गर्‍यो। 

डर्टमन्ड शीर्षमा
बर्लिन– पियरे इमरिक औबामेयाङले एक मिनेटको अन्तरमा दुई गोल गरेपछि बोरुसिया डर्टमन्ड आइतबार कोलोनमाथि ५–० को सानदार जित हात पार्दै पुनः बुन्डेसलिगाको शीर्ष स्थानमा फर्किएको छ । ४ खेलको समाप्तिमा १० अंक जाडेको डर्टमन्ड शीर्ष  स्थानमा फर्किएको हो । समान खेलमा समान अंक जोडेको भए तापनि ह्यान्सबर्ग गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ । अकंविहीन कोलोन पुछारमा छ ।

हार्था बर्लिनसँग १–१ को बराबरीमा रोकिँदै अंक बाँडेपछि होफेनहेइमले शीर्ष स्थानमा उक्लिने मौका खेर फालेको छ ।
यस बराबरीपछि ८ अंक जोडको होफेनहेइम पाँचांै र ५ अंक जोडेको हार्था ११औं स्थानमा छन् ।
त्यस्तै बायर लेभरकुसनले फ्रेइबर्गलाई ४–० ले पराजित गर्दै सिजनको पहिलो जित दर्ता गराएको  छ ।
यस जितपछि ४ अंक जोडेको लेभरकुसन १२ औं स्थानमा र २ अंक जोडेको फ्रेइबर्ग १६औं स्थानमा छन् ।

प्रकाशित: ३ आश्विन २०७४ ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App