मधेस : स्वदेश कि परदेश ?

मङ्गलबार, ०३ असोज २०७४, ०९ : १२ पुरञ्जन आचार्य

देशभर कम्प्युटरको सर्भरले काम नगरेर जग्गासम्बन्धी सबै काम ठप्प भएको रहेछ केही दिनदेखि । भिडको बीचमा घेरिएर थकित मुद्रामा विराटनगर माल अड्डाका कार्यालय प्रमुख काठमाडौँमा हाकिमसाबहरूको देल्हीमा कुरा भएको छ, ‘देल्हीबाट प्राविधिक आएर सर्भर बनाएपछि काम चाँडै होला’ भनी आश्वासन दिइरहेका थिए । प्रत्येक दिनजसो जग्गासम्बन्धी काम लिएर माल अड्डा धाउने नेपाली देल्हीबाट कम्प्युटर प्राविधिक नेपाल आए÷नआएको सोधपुछ गर्थे । अन्ततः प्राविधिक देल्हीबाट आयो र जग्गा कारोबार खुल्यो नेपालभर । नेपालको जग्गासम्बन्धी सबै कारोवार भारतीय प्रविधि र प्राविधिककोे सर्भरमा भर परेको रहेछ भनी मैले दुर्घटनावश यसैपालि जान्ने र बुझ्ने मौका पाएँ । प्रविधिमा आधारित हाम्रा स्मार्ट सिटीहरू बन्न कति भारतीय प्रविधि र प्राविधिक झिकाउनुपर्ने हो, कहीँ कतै हेक्का देखिएन ।  
जग्गा हुनेखाने र बेचविखन गर्ने वर्गको समस्या हो नेपालमा । दलित र सीमान्तकृत समुदायको हैरानी र परेशानी झनै भयाबह छ, कहालीलाग्दो रहेछ । विराटनगरको माल अड्डाबाट केही मिटरको दूरीमा रहेको जिल्ला प्रशासन कार्यालयको कम्पाउन्डबाहिर रुखमुनि वि.सं. २०६२÷६३ तिर कृपापूर्वक पाएको जन्मसिद्ध नागरिकतालाई हातमा च्यापी उभिएको अवस्थामा चमरु रिषिदेव र उसको लक्का जवान छोरा जिन्दर रिषिदेवलाई मैले भेटेँ । चमरुको बुबा सुक्राती रिषिदेव मध्य मोरङको दर्वेशा गाउँमा ‘इन्जिनियर’ भनी चिनिन्थ्यो दुई दशकअगाडिसम्म । गाउँमा कसैको पम्पिङ सेट बिग्रिएमा सुक्राती रिषिदेव साइकल चढी दौडेर बनाउन पुग्थे । तर सुक्राती रिषिदेवले जीवनभर नागरिकता पाएन किनकि ऊ मधेसी थियो, रिषिदेव थियो।

चमरु रिषिदेव आफ्नो छोरा जिन्दर रिषिदेवको नागरिकता बनाउन पाँच वर्षदेखि प्रयत्नरत छ । जिल्ला प्रशासन धाइरहेको छ । कक्षा ६ सम्म पढेर पनि क,ख,गसमेत लेख्न जिन्दर रिषिदेवले जानेन । किन यस्तो भयो भनी सोध्दा उसको परिवार ‘शिक्षक नै कहिले स्कुलमा पढाउन नआउने’ भनी भन्थे । जिन्दर रिषिदेवलाई दुर्भाग्यले यतिमा मात्र सीमित गरेन । एकातिर उसको हजुरबुबा सुक्राती रिषिदेवले जीवनभर नागरिकता पाएन, अर्कोतिर बुबा चमरु रिषिदेवलाई ‘कृपा’ गरेर राज्यले जन्मको आधारमा नागरिकता दियो । अब छोरा जिन्दर रिषिदेवको जीवन ‘ट्राप’ मा छ ।  बुबाको वंशज नागरिकता नभएकाले जिन्दर रिषिदेव र ऊ जस्ता हजारौँ पहिचानबिहीन भए।

जिन्दरका पितापूर्खाले कांग्रेसलाई भोट दिएको सगौरव सुनाउँथे मलाई । चारतारेले जिन्दर र उसको परिवारलाई पहिचान दिन सकेन । दुःखका साथ भन्नुपर्छ– मधेसकेन्द्रित दलले पनि जिन्दर जस्तालाई प्राथमिकतामा राखेन।

एकातिर नेपालको सबै जग्गा भारतीय सर्भर कम्पनीको जिम्मा सुरक्षित छ भने अर्कोतिर जिन्दर रिषिदेवलाई राज्यले नागरिकताबिहीन बनाएर नेपाली राष्ट्रियताको सुरक्षा गरेकामा गर्व गरिबसेको छ ।  भूमिपुत्र भएर पनि नागरिकता पाउनबाट वञ्चित जिन्दर रिषिदेव र ऊ जस्तो हजारौँ  मधेसी युवाको ओत लाग्ने ठाउँ विखण्डनकारी सिके राउत होइन भने कहाँ हो ? कसले जिन्दर रिषिदेवलाई पहिचान दिने ? नेपालको संविधान भाग २ धारा १० कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने व्यवस्थाको यतिखेर मधेसमा माखौल उडिरहेको छ। गृह मन्त्रालयको आदेश र परिपत्र नेपालको संविधानभन्दा माथि रहन्छ भन्ने कुरा नेपालका राजनीतिकर्मीलाई थाहा नभएको होइन तर ती पनि जिन्दर रिषिदेवलाई अनागरिक र अराजक बनाउन लागिपरेका छन्।   

नेपालको संविधानभन्दा माथि पनि कोही छ अझै र उसैको आदेशमा जिन्दर रिषिदेव जस्ता हजाराैँ मधेसी युवा यतिखेर पहिचानविहीन भएका छन्, नागरिकताविहीन भएका छन् । मैले जिन्दर रिषिदेवलाई सोधे– ‘तिमी जस्ता कति छन गाउँघरतिर ?’ जिन्दरले प्रस्ट नेपाली भाषामा भन्यो– ‘अब त सबै युवा म जस्ता त छन् नि ।’ पहिचानविहीन मधेसी युवा यतिखेर तराईको गाउँगाउँमा भेटिन्छन् र ती अन्योलमा छन् । सिरहा, सप्तरी, धनुषा, बारा, पर्सा, रोतहट कुनै पनि तराईको दलित बस्तीमा जाँदा आँखाबाट आँसु चुहाएर युवा र वृद्धाले भन्ने कुरा यहीँ छ ‘नागरिकता पनि दिएन’ हामीलाई । कुनै बेला पनि यी पहिचानविहीन युवा अराजक भएमा जिम्मेवार राज्य हुने कि ती युवा ?

एक्काइस वर्षको लक्का जवान जिन्दर रिषिदेव मैले भेटेको भोलिपल्ट उसको बुबा चमरु रिषिदेवले बडो जतनले सम्हालेर राखेको जन्मदर्ता प्रमाणपत्र लिएर भारतको केरला जान्छु भनी हिँड्यो । परिचयपत्र नभई भारत जाने रेलमा टिकट पाइँदैन, केरला वा गोवा कहीँ पनि काम दिँदैन, बैँकमा खाता खुल्दैेन र कमाएको पैसा नेपाल पठाउन सम्भव छैन । नेपालको संविधानले दिएको अधिकारबाट वञ्चित यी एक हुल मधेसी युवा मेरो आँखाअगाडि गाविसमा जन्मदर्ता गराएको कागज बोकी विराटनगरबाट सीमा पार गर्दै जोगवनी पुगे र रेल चढी आर्थिक भविष्यको खोजीमा भारतको केरलातर्फ हिँडे । 

मैले जिन्दर रिषिदेवलाई नागरिकता दिलाउन गरेको प्रयत्न आश्चर्य लाग्ने गरी मेरा पहाडी कर्मचारी मित्रहरूले ‘तिमीलाई किन टाउको दुखाउनुपरेको होला’ भनी टारे । केहीले त मधेसीलाई किन नागरिकता दिने भनी म भारतीय एजेन्ट भएकोसमेत भन्न भ्याए । मैले केही वरिष्ठ अधिवक्ता र संविधानविद् मित्रहरूसँग सहयोग माग्दा सबैले अदालतको ढोका गुहार भन्ने सल्लाह दिए । कति जनाका लागि अदालत जाने ? अदालतको कृपाबाट नागरिक बन्नुपर्ने किन ? किन मलाई र मेरो सन्तानलाई अदालत जानुपरेन र जिन्दरलाई पर्छ भनी मैले अदालत जाने विचार त्यागेँ । म यिनै कुरामा गम खाँदै प्रदेश नम्बर २ को निर्वाचनमा मधेसीहरूले आफ्नो अधिकार, अवसर र पहिचानको मुद्दा कसरी निर्वाचनमार्फत जितिरहेका होलान् भनी हेर्न विराटनगरबाट पश्चिम लागे र सप्तकोशी तरे। 

माथिका दुई अमिला उदाहरणसँग साक्षात्कर गर्दै म तराईको स्थानीय निर्वाचन हेर्न भनी प्रदेश नम्बर २ गएँ । केही हप्ताअगाडि मैले वीरगन्जदेखि राजविराजसम्म पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गमा त्यस भेगमा बस्ने अनेकन् जाति समूहसँग अन्तरक्रिया गर्ने अवसर पाएको थिएँ । यतिखेर मेरो दिमागमा मधेसी बाहुल्य क्षेत्रमा कस्तो राष्ट्रवादको हावा चलेको होला ? पहिचानका मुद्दाले निर्वाचनलाई कति तताएको होला ? विगतमा कर्मचारी प्रशासन र राजनीतिक सिन्डिकेटबाट विकासमा भएका भ्रष्टाचारले चुनाव गर्माएको होला हेरौँ भन्ने थियो । के जिन्दर रिषिदेव अनागरिकबाट नागरिक हुने मुद्दा यो चुनावमा मधेसकेन्द्रित दलहरूले उठाएका होलान् भनी खोजी गर्दै हिँडे। 

विगतमा दुई चरणमा भएका स्थानीय निर्वाचनमा मैले देश घुम्दा पहाडी राष्ट्रवादको भावना यथेष्ठ देखेको थिएँ । नेकपा एमालेले ‘पहाडी सांस्कृतिक पहिचान नै नेपालको गौरव’ हो भनी क्याम्पेन नै गरेको देखिन्थ्यो त्यतिखेर । बहुमत जातिको ‘इमोस्नल अपिलले भोटलाई स्विङ गर्ने’ एमाले रणनीतिले विगतका दुई स्थानीय निर्वाचनमा सफलता पनि पाएको मैले काठमाडौँदेखि कञ्चनपुरसम्म देखेको थिएँ ।

एमालेको राष्ट्रवादमात्र होइन, मधेसी दलहरूले विगत एक दशकदेखि चलाएको पहिचान, अधिकार र अवसरको मुद्दा पनि २ नम्बर प्रदेशमा कमजोर देखेँ । त्यस्तै दुई दशकदेखि स्थानीय निर्वाचन नभएर पार्टी सिन्डिकेटबाट केही नेताले विकासको सबै स्रोतसाधनमाथि कब्जा गरेका थिए विगतमा । तर अहिले तिनले गरेको भ्रष्टाचार कुनै चुनावी मुद्दा नै भएन दलबीच । बरु तिनै भ्रष्ट यतिखेर धनबल र बाहुबलले शक्तिशाली भएर दलको उम्मेदवार भएको मैले देखेँ । मधेस मुद्दाभन्दा पनि निर्वाचनमा चुनाव जित्न जे गर्न पनि तयार मधेसी नेताहरूले मधेस आन्दोलनको ऊर्जा, उद्देश्य र शहादतलाई निर्वाचनको समय सम्झन पनि डराइरहेका पाएँ।

शरदसिंह भण्डारी हुन् वा महन्थ ठाकुर, उपेन्द्र यादव वा अनील झा, सबै निर्वाचनमा आफ्नो वर्चश्व कसरी स्थापित गर्ने भन्ने स्वार्थमा लागेको देखियो २ नम्बर प्रदेशमा । मधेसीका साझा मुद्दा निर्वाचनमार्फत स्थापित गर्ने सोच, दृढता र विवेकपूर्ण सहकार्यको कहीँ कतै संकेतसम्म पनि देखिएन । मैले मधेसी नेताहरूको चरित्र देखेर विचरा जिन्दर रिषिदेव जस्ता युवा मधेसीलाई सम्झेँ । जिन्दरका पितापूर्खाले कांग्रेसलाई भोट दिएको सगौरव सुनाउँथे मलाई । चारतारेले जिन्दर र उसको परिवारलाई पहिचान दिन सकेन । दुःखका साथ भन्नुपर्छ– मधेसकेन्द्रित दलले पनि जिन्दर जस्तालाई प्राथमिकतामा राखेन।

२ नम्बर प्रदेशमा कुन पार्टीले धेरै ठाउँमा जित्ला ? यो मेरा लागि खासै ठूलो विषय थिएन तर मुलुकको मुड यसैतर्फ केन्द्रित छ भन्ने म बुझ्थेँ । दुई दशकपछि भएको स्थानीय निर्वाचनमा कुन कुन फ्याक्टरले मददातालाई आकर्षित गर्‍यो होला मतदान गर्न भनी अनुमान गर्न सकिन्छ । तर माथि भनेझै २ नम्बर प्रदेशमा समाज रूपान्तरणका मुद्दा ओझलमा परे स्थानीय निर्वाचनमा । मधेस आन्दोलनको राप र ताप पनि देखिएन केही ठाउँलाई अपवाद मान्दा । फेरि पनि प्रदेश २ को मत परिणामलाई मधेसी समाजको सनातनी ऐतिहासिक, सामाजिक र आर्थिक कारणले प्रभावित गर्नेछ । यी तीनवटै पक्षको प्रभावले गर्दा नेपाली कांग्रेस नै १ नम्बर पार्टी हुने अड्कल २ नम्बर प्रदेश घुम्दा सहजै देख्न सकिन्छ । बदलिँदो मधेसी समाजको अर्थराजनीतिको आधार र त्यसलाई मतपत्रमा सुरक्षित गर्ने अभियान अहिले नै सार्थक हुन सम्भव छैन, समय लाग्छ । तसर्थ, अझै काठमाडौँमा मधेस स्वदेश कि विदेशको भूमि ? अनि मधेसी स्वदेशी कि विदेशी भन्ने चर्चा केही वर्ष चल्ने नै छ । नेपाली राष्ट्रियता साँघुरिएर भारतीय सर्भरभन्दा माथि उठे यही २ नम्बर प्रदेशलाई काठमाडौँले राष्ट्रियता खतरामा छ भनी तानेर ल्याउनेछ ।

नेपालको संविधानले २ वर्षको चक्र पूरा गरेर उत्सव मनाइरहेको छ यतिखेर । मलाई भने संविधान र जिन्दर रिषिदेवबीच तालमेल मिलाउन गाह्रो भइरहेको छ । कहाँ छ जिन्दर रिषिदेव नेपालको संविधानमा ? नेपालको संविधान भाग २ धारा १० को औचित्य छ ?  संविधान र जिन्दर रिषिदेवबीच तालमेल नमिल्दा नेपालको अखण्डता र सार्वभौमसत्ता कसरी पो चिरस्थायी र टिकाउ होला ? हेक्का राखौँ । 

 








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad