coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरीद्वारा ठूलो मात्रामा सुनका गहना बरामद, घटना गुपचुप गर्ने प्रयत्न

धनगढी- प्रहरीले कैलालीका दुई ठाउँबाट भारतवाट चोरी ल्याएको करिब ८ सय ग्राम सुन र हिरा मोती बरामद गरेको छ। चोरी गर्ने ४ जनालाई नियन्त्रणमा लिएर प्रहरीले सार्वजनिक मुद्दा चलाइएको छ। प्रहरीले सुन लगायतको करोडौं रकम बरावरको अमुल्य धातु समातेको कुरालाई गुपचुप राख्ने प्रयत्न गरेको छ। भारतवाट पटक पटक चोरेर आउने सुन, हिरो,मोती र नगद हात पार्न प्रहरीले पक्राउ गरेर सार्वजनिक मुद्दा लगाउने र सवै समान फेला परेपछि रिहा गर्ने गरेको प्रहरी स्रोत बताउँछ। ‘भारतबाट चोरेर ल्याइएको करोडौंको गहना र रकम फेला पारेको सबै घटना प्रहरीले गुपचुप राख्ने गरेको छ’नजिकवाट बुझेका अधिवक्ता गंभिर ऐरले भने।

प्रहरी स्रोतका अनुसार धनगढी विशालनगर तथा बौनियाबाट चोरीका ८ सय ग्राम सुनका गहना तथा हिरा र मोतीका गहना समाते हो।घटनाको प्रहरीले अधिकारीक रुपमा पत्रकारलाई जानकारी दिन आनाकानी गरेको छ। यस अघि धनगढी बसपार्क स्थित एक पसलमा करिव एक अर्व बरावरको हिरा प्रहरीले समातेर गुपचुप गर्न खोजेको समाचार नागरिक दैनिकमा छापिएपछि मात्र सार्वजनिक भएको थियो । पटक पटक चोरेर ल्याएको करोडौंको गहना प्रहरीले समात्ने गरेपनि बाहिर खुल्ने गरेको छैन।

‘महिना फरकमा भारतवाट चोरेर करोडौको सुन, गहना र नगद सुदुरपश्चिममा भित्र्याइने रहेछ ।’जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत रहेका बेला पूर्व प्रहरी प्रमुख  मोहन जोशीले भनेका थिए,‘राजनीतिक दलका केही नेता, टाठावाटा र प्रहरी मिलेर गुपचुप पारिदो रहेछ।’ तत्कालिन प्रहरी उपरीक्षक जोशीको कार्यकालमा चोरेर सुन ल्याएका केही घटना बाहिर आएका थिए। त्यस अघि र पछि प्रहरीले आफै गरी एक घटना पनि बाहिर ल्याएको छैन।

भारतको बैंग्लोरमा काम गर्दै आएका बझाङ घर भएका चार जनाले बैंग्लोरस्थित काम गर्ने घरबाट चोरेर ल्याएका सुनका गहना बरामद गरेको प्रहरी श्रोतले बताएको छ।

धनगढी र बौनियाबाट बरामद गरिए पनि चोरीमा संलग्नलाई नेपालगंज र काठमाडौंबाट पक्राउ गरिएको जनाएको छ। करिब एक साताअघि त्रिनगर भन्सार नाकामा चेकजाँचका क्रममा सुनका केही गहनासहित बझाङ घर भएका कुमार थापा पक्राउ परेका थिए।

दसै–तिहार विशेष सुरक्षा योजना अन्तर्गत भन्सारमा शंकाका आधारमा चेकजाँच गर्दा भारतबाट फर्कन लागेका थापाको झोलामा केही गहना फेला परेका थिए। साथै उमेश धामीको नाममा रहेको एसईई परीक्षाको प्रवेशपत्र समेत भेटिएको थियो।

विना काजगात सुनका गहना भेटिएपछि थापालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक मुद्दा चलाएको थियो । यो घटनालाई प्रहरीले गुपचुप राखेको थियो । ‘यही बीचमा भारतको बैंग्लोरवाट थापाकै समूहले सुन चोरेको खुलेको हो’, एक प्रहरी अधिकृतले भने 'उमेश धामी काम गर्दै आएको घरबाट गहना चोरी भएको हो।'

धामीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । चोरीमा संलग्न अन्य २ जनालाई नेपालगंजबाट पक्राउ गरिएको बताइएको छ। उमेश थापा, अर्जुन खाती कुमार थापा र एक अन्य गरी ४ जनालाई प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ । प्रहरीले मुद्दा चलाइएकाको नाम पनि खुलाएको छैन । हिराका ३ टुक्रा, ३ मोतीका माला पनि प्रहरीले समातेको छ। औंठी, मुन्दालगायत ८ सय ग्राम भन्दा बढीका सुनका गहना र १५ वटा चाँदीका सिक्का पनि बरामद भएको स्रोतले बताएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर चन्दले सुन लगायतको गहना समातेको स्विकार गर्दै कती समातेको हो भनेर हाकिमको अनुमती बिना भन्न नसकिने बताए। प्रहरी कार्यालय कैलालीका प्रमुख अर्जुन चन्द ठकुरी सम्पर्कमा आउन मानेनन् । सुन लगायतको अमुल्य धातु बरामद घटनाको अनुसन्धानमा संलग्न प्रहरी नायव निरीक्षक गजेन्द्र शाहले अनुसन्धान गरेर सवै रिपोर्ट प्रहरी कार्यालयको प्रवक्ता र एसपी लाई बुझाइसकेको उल्लेख गर्दै आफ्नो लेवलवाट भन्न नसकिने बताए।

 

प्रकाशित: २ आश्विन २०७४ १२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App