वन्यजन्तुको अवैध व्यापार

सोमबार, ०२ असोज २०७४, ०८ : ५६ डा. सञ्जय आचार्य

वन्यजन्तुको अवैध व्यापार शदियौँदेखिको विश्वव्यापी समस्या हो । मानिसले जंगली युगमा जनावरको सिकार गरी आफ्नो प्राण धान्ने आदत बसेको भए पनि विस्तारै कृषि जीवन शैलीको विकाससँगै वनस्पतिजन्य खाद्य वस्तुहरूको उपयोगले वन्यजन्तुको सिकार गर्ने प्रवृत्तिमा केही कमी आयो । तर सामन्तवादको वर्गीय चरित्रभित्र सम्भ्रान्त वर्गको मनोरञ्जनका लागि वन्यजन्तुको सिकारलाई विश्वको धेरै भागमा कानुनी मान्यता थियो । नेपालमा पनि राणाकालमा राणा र राज परिवारलाई उनीहरूको इच्छाअनुसार वन्यजन्तुको सिकार गर्न छुट थियो । पञ्चायत कालदेखि राजपरिवारलाई छुटसँगै सर्वसाधारणले पनि अनुमति लिएर केही हदसम्म वनयजन्तु सिकार गर्ने परम्परा सुरु भयो । 

मानव विकासको क्रमसँगै मानव अधिकारको अवधारणा विकास हुँदै गयो र पछिपछि प्राणीको बाँच्न पाउने अधिकारबारे पनि सोच विकसित हुन थाल्यो । त्यसैगरी जैविक विविधता, पारस्परिक प्रणाली (इकोसिस्टम) र प्रकृतिमा विभिन्न प्राणीको जीवनचक्रको स्वाभाविक प्रक्रियाका लागि वन्यजन्तुको सिकार गर्नु अवाञ्छित कार्य मानिन थालियो । वन्यजन्तु आरक्ष र निकुञ्जहरूको स्थापनासँगै वन्यजन्तु सिकार गैरकानुनी हुँदै गयो । तर यति हुँदाहुँदै पनि हाल विश्वमा बर्सेनि झण्डै २० अर्ब अमेरिकी डलर बराबरको वन्यजन्तु र तिनीहरूका शरीरका अङ्गहरूको गैरकानुनीरूपमा व्यापार हुने गर्छ । लोपोन्मुख प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी अभिसन्धिले बाहिर ल्याएको तथ्याङ्कका आधारमा विगत चार वर्षमा साँढे तीन लाख जीवित चरा, २० लाख जीवित सरिसृप (घस्रने) जन्तु, २५ लाख गोहीका छाला, १५ लाख छेपाराका छाला, २१ लाख सर्पका छाला, ७३ टन लोपोन्मुख माछाका सुकुटी, ११ लाख सामुद्रिक मुगा अवैध ढंगले व्यापार गरिए । युरोपेली समुदायभित्र मात्रै १२ हजार अवैध व्यापारका घटना सार्वजनिक भए ।

विगत चार वर्षमा साँढे ३ लाख जीवित चरा, २० लाख जीवित सरिसृप (घस्रने) जन्तु, २५ लाख गोहीका छाला, १५ लाख छेपाराका छाला, २१ लाख सर्पका छाला, ७३ टन लोपोन्मुख माछाका सुकुटी, ११ लाख सामुद्रिक मुगा अवैध ढंगले व्यापार गरिए ।

वन्यजन्तु र तिनीहरूका शारीरिक अङ्गहरूको अन्तिम उपभोक्ताका रूपमा सहरी क्षेत्रका धनाढ्य वर्ग देखिएका छन् भने तिनीहरूले आफ्नो माग पूर्ति गराउन विकासशील राष्ट्रका गरिब र पिछडा वर्गलाई चोरी सिकारीमा प्रोत्साहित गरिराखेका हुन्छन् । नेपालमै पनि चितवन राष्ट्रीय निकुञ्जको सेरोफेरोबाट हुने वन्यजन्तुको चोरी सिकारी र अवैध व्यापारमा प्राप्त जानकारी केलाएर हेर्ने हो भने दलालहरूले निकुञ्ज वरपरका आर्थिकरूपले विपन्न चेपाङ, थारू, दलित समुदायलाई बढी उपयोग गरेका देखिन्छ । भियतनाममा हेर्ने हो भने व्यापारिक प्रयोजनका साथै करिब १० प्रतिशत गरिब भियतनामीहरू पोषणको अभावले वन्यजन्तुहरूको सिकार गरी आफ्नो आवश्यकता पूरा गर्ने गरेका देखिन्छन् ।
विश्वव्यापीरूपमा हेर्ने हो भने पूर्वी र दक्षिणपूर्वी एसिया, युरोप, रसिया र संयुक्त राज्य अमेरिका वन्यजन्तुका शरीरबाट उत्पादन भएका वस्तुहरूको उपयोग गर्ने सबैभन्दा ठूला बजार बनेका छन् । गैंडाको सिङ, हात्तीको दाह्रा, बाघको रौँसहितको छाला, अन्य जनावरका छाला, ससाना जनावरका सुकाइएका शरीर, शरीरबाट निकालिएको रगत र तेल जस्ता वस्तुको उपयोग कतिपय धनाढ्य उपभोक्ताहरूको आदत बनेको छ । यस्ता व्यापार अवैधानिक प्रवृत्तिका हुने हुनाले हालसम्म तिनीहरूको वास्तविक तथ्यांक पनि प्राप्त छैनन् । तर छिटफुटरूपमा भएका अध्ययनले यी अवैध व्यापारका केही मार्गचित्र भने बाहिर ल्याएका छन् । अफ्रिकाबाट चितुवा, गैंडाको खाग, हात्तीको दाह्रा अमेरिका, रसिया, मध्यपूर्व, हङकङ र युरोपमा पठाइन्छ । त्यसैगरी रसियाबाट हिउँ चितुवा, खैरो भालुका बंगारा, अमुर बाघका अंगहरू अमेरिका, युरोप, जापान, कोरिया र हङकङतर्फ लगिन्छन् । दक्षिणपूर्वी एसिया र अस्ट्रेलियाबाट रसियामा अजिङ्गर, अन्य विभिन्न प्रजातिका सर्प, सुगा, ठूला र विषालु मकुरा अवैध ढंगले निर्यात हुन्छन् भने अमेरिकातर्फ बाघ, चितुवा र कङ्गारूहरूको व्यापार हुन्छ । त्यसैगरी दक्षिण अमेरिकाबाट पुतली, लङ्गुर बाँदर, गडियाल गोही, जगुआर चितुवा, मांसभक्षी माछाहरू युरोप र रसियातर्फ लगिन्छन् । यी चितुवा, गोही र माछाका दाँत निकालिन्छन् र धारिला हतियार बनाउन प्रयोग गरिन्छन्। 

वन्यजन्तुको अवैध विश्व व्यापारले विस्तारै दक्षिण एसियालाई पनि गाँज्न थालेको छ । एक शताब्दीको अन्तरालमा यस क्षेत्रमा बाघको संख्या एक लाखबाट ३२०० मा झरेको छ । हुन त सार्क राष्ट्रहरू प्रायः सबैले लोपोन्मुख प्रजातिका लागि अन्तर्राष्ट्रिय अभिसन्धि अनुमोदन गरिसकेका छन् तर पनि यस क्षेत्रका मुलुकमा वन्यजन्तुको चोरी सिकारी र अवैध व्यापार रोकिन सकेको छैन । त्यसमा पनि भारत, पाकिस्तान र नेपालमा यो समस्या चर्को छ । वन्यजन्तुको सिकार र चोरी निकासीसँगै यस क्षेत्रमा वनजन्य जडीबुटीहरूको पनि अनियन्त्रित दोहन अर्को समस्या बनेको छ । यहाँका सबै मुलुकमा वन्यजन्तुको संरक्षणका लागि कानुनी प्रावधान नबनेका होइनन् तर तिनीहरूको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन । त्यसमा कतिपय राजनीतिक दलका नेता र उच्च ओहोदाका कर्मचारीको संलग्नता देखिन्छ । अफ्रिकन मुलुक केन्यामा गरिएका विभिन्न अध्ययनले त्यहाँ संगठित अपराध, भ्रष्टाचार र राजनीतिको बीचमा अनौठो किसिमको अन्तरसम्बन्ध स्थापित भएको देखियो । कतिपय राजनीतिक दल सञ्चालनको आर्थिक आधार नै वन्यजन्तुको अवैध व्यापार देखियो । हुन त यस्ता तथ्य नेपालका लागि पनि नयाँ होइनन् । पञ्चायतकालमा केही सांसदको नाम गैंडाको खाग तस्करका रूपमा आउनु, केही खागसहित पक्राउमा पर्नु नेपालमै पनि देखिएका घटना हुन्। 

दक्षिण एसिया नै वन्यजन्तु र तिनका शरीरका अङ्गहरूबाट बन्ने वस्तुहरूको उपयोग गर्ने आफैँमा ठूलो बजारचाहिँ होइन तर छिमेकका हङकङ, चाइना, कोरिया र दक्षिणपूर्वी एसियाली मुलुकहरू भने वन्यजन्तुको उपभोगका लागि ठूला बजार हुन् । नेपालबाट पनि वन क्षेत्रमा हुने चोरी सिकारी र अवैध व्यापारका गतिविधि यिनै क्षेत्रहरुसँग जोडिएका छन् । छिमेकमा ठूलो बजारको आड र भरोसा प्राप्त भएपछि यी गतिविधि सजिलैसँग नियन्त्रणमा आउन अत्यन्त कठीन छ। 
नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, औद्योगिक क्षेत्र दिनानुदिन विकृतितर्फ बढिरहेको वर्तमान सन्दर्भमा मुलुकको एक भरोसालाग्दो संरक्षण क्षेत्र पनि चोरी सिकारी र अवैध व्यापारको दुश्चक्रमा फस्न सक्छ कि भन्ने अहिलेको चिन्ता हो । नेपाल विश्वमा नै एक उच्च जैविक विविधता रहेको मुलुक हो । भौगोलिक हिसावले मरूभूमि र समुद्रदेखि बाहेक सबै किसिमका भूबनोट नेपालमा छन् । मुलुकको करिब २० प्रतिशत भूमिमा राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र वन्यजन्तु आरक्षण क्षेत्र छन् । तर केही तथ्यले यस क्षेत्रमा थप चिन्ता र चासोको आवश्यकता देखाएका छन् । अरूण उपत्यका र भक्तपुर क्षेत्रमा पाइने काँडे भ्याकुर नेपालमा मात्र पाइने चरा हो तर केही वर्षपहिलेदेखि यो भक्तपुरमा देखापरेको छैन । यही स्थिति अर्ना र हिउँ चितुवाको पनि छ । एक सिङ्गे गैंडाको घनत्व नेपालमा सबैभन्दा बढी छ तर यसको चोरी सिकारी रोकिएको छैन । त्यस्तै पाँच औंले पनि नेपालमा मात्रै पाइने वनस्पति हो । यस्ता असंख्य प्रजातिले नै भौगोलिकरूपमा विविधतायुक्त मुलुक नेपाललाई जैविक विविधताको रूपले पनि धनी बनाएका छन् । यही नै नेपालको पर्यटन उद्योगको आधार हो । नेपालका धेरै सांस्कृतिक धरोहरहरू भूकम्पको मारमा परी अपूरणीय क्षति भएको अवस्थामा पर्यटन विकासका लागि जैविक विविधताको संरक्षण मुलुकका लागि अपरिहार्य बनेको छ । वन, घाँसे मैदान, सीमसार क्षेत्र, दुर्लभ प्राणी र वनस्पतिको संरक्षणमा नै अबको दिनमा नेपालको पर्यटन क्षेत्रको विकास अडिएको हुनेछ ।

वनस्पति र प्राणीहरूको प्राकृतिक लोपभन्दा पनि मानवीय अपराधले तिनीहरूको अस्तित्व हराउँदै जानु ज्यादै चिन्ताको विषय हो । नेपालमा अनियन्त्रित सहरीकरण, जल र वायु प्रदूषण, मौसम परिवर्तन, तापमानमा वृद्धि जस्ता कारणले कतिपय वनस्पति, जलचर र स्थलचर प्राणीहरू संकटमा परेका छन् । त्यसमाथि पनि जंगली जनावरहरूमाथि हुने चोरी सिकारी र अवैध व्यापार समस्याको अर्को पाटो हो । यो कतिपय गरिबहरूको जीवनयापनसँग प्रत्यक्षरूपले सम्बन्धित रहेकाले गरिबी निवारण रणनीतिले पनि वन्यजन्तुको अवैध सिकार र चोरी निकासीलाई सम्बोधन गर्नुपर्ने हुन्छ ।

वन्यजन्तु संरक्षणसँगै जैविक विविधताको आकर्षणबाट पर्यटन क्षेत्रको विकास गरेका क्षेत्र र मुलुक विश्वमा धेरै छन् । क्यारेबियन क्षेत्र, दक्षिण अमेरिकाको एन्डिज पर्वतमालाको शितोष्ण जलवायु क्षेत्र, पूर्वी ब्राजिलको जङ्गली क्षेत्र, माडागास्करको भारतीय समुद्रसँग जोडिएको टापु क्षेत्र, दक्षिण अफ्रिकाको केप वनस्पति र प्राणी उद्यान स्थल, केन्याको तान्जानियासँगको सीमा क्षेत्रमा रहेको मासाइमारा निकुञ्ज, पश्चिम मलेसिया र इन्डोनेसियाको सीमा क्षेत्र यसका उदाहरण हुन्।







यसमा तपाईको मत

अन्य समाचार

“नाडा अटो शो २०१९” आयोजना गरिने

“नाडा अटो शो २०१९” आयोजना गरिने

नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालद्वारा यही भाद्र १० देखि १५ गते सम्म ...

रिलायन्स लाइफ इन्स्योरेन्सको सभा

रिलायन्स लाइफ इन्स्योरेन्सको सभा

रिलायन्स लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ...

एलबिइएफको पहिलो दिक्षान्त

एलबिइएफको पहिलो दिक्षान्त

एसिया प्यासिफिक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लर्ड बुद्घ एजुकेसन फाउन्डेसन क्याम्पसले आफ्नो पहिलो दीक्षान्त समारोह सम्पन्न गरेको छ । ...

टाटा ह्यारियर चाँडै नेपाली बजारमा (भिडियो )

टाटा ह्यारियर चाँडै नेपाली बजारमा (भिडियो )

नाडा अटो सो २०१९ मा टाटाले नयाँ एसयुभी गाडी ह्यारियरलाई एच फाइभ नाम दिएर नेपाली बजारमा भित्र्याउन लागेको जनाएको छ।

हुवावेले ल्याउँदै छ आफ्नै म्याप्स - गुगल म्याप्सलाई चुनौती

हुवावेले ल्याउँदै छ आफ्नै म्याप्स - गुगल म्याप्सलाई चुनौती

गुगल म्याप्सलाई टक्कर दिँदै हुवावेले आफ्नै म्याप्स ल्याउने भएको छ ! ...

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad