७ वैशाख २०८१ शुक्रबार
विचार

कसरी नछुने ? किन नछुने ?

नेवार समुदायमै हुर्केबढेका कतिपय मानिसहरूलाई महिनावारी बार्ने तथा छाउपडी प्रथाबारे जानकारी हुँदैन । किनभने नेवार समुदायमा केटीहरूले दैनिक जीवनमा गरिएका कुनै पनि काम रजस्वलाको समयमा गर्नलाई रोकतोक छैन । महिलाहरूले रजस्वलाको समय र अरू समयमा आफ्नो दैनिकी बदल्नु पर्दैन, न आफू अछुतो व्यवहारबाट पिल्सिनुपर्छ।

महिलाको रजस्वला बार्ने प्रथा आजको समाजमा यथावत रहे तापनि हिन्दु समुदायभित्रै पनि नेवार समुदायमा गुफा बसेपछि महिनावारी बार्नु पर्दैन । नेवार समुदायमा छोरीहरूलाई पहिलो महिनावारी नहुँदै १२ दिनसम्म एउटा कोठामा राखी गुफा (बाह्रा) राख्ने चलन छ । यसको मुख्य उद्देश्य केटीहरूलाई यौन शिक्षा दिनु हो । परिवारका सबै सदस्यसामु शारीरिक परिवर्तन तथा यौनसम्बन्धी कुरा गर्न अप्ठेरो हुने हुनाले १२ दिनसम्म केटाहरूको उपस्थिति नहुने गरी बाह्रा राखिन्छ ।

केही समयअघि म त्रिचन्द्र कलेजमा बिहानी कक्षा पढ्दै थिएँ । नियमित कक्षामा आई पढ्ने एक जना साथी कलेज आउन छोडी । अर्काे दिन आउली नि त भन्ने सोचमा बसेँ । अर्काे दिन पनि कक्षामा नआएपछि उत्सुकता लाग्यो र घण्टाघर नजिक बसेर फोन गरेँ । अनि थाहा पाएँ, उनकी जेठानी दिदी नछुने (महिनावारी) भइछिन् । र उनी भान्छाको कामधन्दा सकाउन बसेकीले पो बिहानको कलेज आउन नभ्याएकी रहिछिन् ।

चार जनाको परिवार उनीहरू दुई कोठामा नयाँबजारमा बस्दै आएका छन् । उनी, उनका श्रीमान्, जेठाजु र जेठानी । ब्राह्मण परिवारका उनीहरू आजको समयमा पनि महिनावारी जस्तो सामान्य कुरामा अझै पनि पुरानो सोचमा अटल छन् । जेठानी नछुने भएपछि उनले चार दिन कलेज छुट्टी लिनुपर्ने हुन्छ । किनभने, नछुने भएको चार दिनसम्म उनकी जेठानी दिदी भान्छामा छिर्नुहुन्न र खाना बनाउने र खुवाउने जिम्मा उनको काँधमा आइपर्छ । साथै नछुने भई ननुहाएको चार दिनसम्म कुनै पनि पुरुषलाई छुनु पनि हुँदैन । 

उनीजस्तै ब्राह्मण परिवारकी अर्की सहपाठी पनि आफ्नी आमा र आफू एकैपटक पर सर्दा खाना पकाएर खुवाउन, धाराबाट पानी ल्याउनलगायतका घरायसी कामका लागि काकाकी छोरीलाई बोलाएको अनुभव सुनाउँछिन् । उनी भन्छिन्, “हाम्रो संस्कृतिमा त अहिले पनि नछुने हुँदा भान्छामा पस्न हुँदैन । खाना अरूले पकाएर दिन्छन् र आफूले जुठो गरेको थाल, गिलास आफैँले माझेर सुकाएपछि मात्र त्यो जुठो भाँडा भान्छामा लग्नुपर्छ । चार दिनसम्म बारेर नुहाएपछि मात्रै चोखो हुन्छ र भान्छामा छिर्न पाइन्छ । यसका साथै गाईभैँसीलाई घाँस काट्न त हुन्छ तर कुनै पनि फलफूलका बोटबिरुवा छुनु हुँदैन । यदि छोयो भने ती बोटबिरुवा सुक्छन्, मर्छन् भन्ने मान्यता छ ।”

क्षत्री र बाहुन समुदायमा यति कडा नियम लागू हुँदो रहेछ महिनावारीमा । तर नेवार, थारू, तामाङ, गुरुङ, राई, लिम्बूजस्ता जनजातिमा भने यति धेरै बन्देज छैन । सुदूरपश्चिम क्षेत्रमा रहेको छाउपडी प्रथामा पनि विशेषगरी बाहुन, क्षत्री, ठकुरी परिवारका महिला यो परम्पराबाट बढी पीडित छन् । 

नुवाकोट घर भई हाल बानेश्वर बस्दै आएकी मेरी तामाङ सहपाठी महिनावारी हुँदा भान्छाको काम लगायत सबै काम गर्छिन् । तर, मन्दिर जाने तथा पूजा सामग्री मात्रै छुन नहुने उनको परम्परा रहेको बताउँछिन् । नेपालको हिन्दू समाजमा महिनावारी र यसका कारण अछुतो व्यवहार हुँदै आएका घटनाहरूमा जनजातिइतरका महिला बढी पिल्सिएका छन् । नेवार जातिको सन्दर्भमा महिनावारी हुँदा भान्छामा जाने, पुरुषलाई छुनेलगायत सबै काममा छुट छ । महिनावारी हुँदा वा नहुँदाका दिनचर्यामा कुनै फरक हुँदैन, पूजापाठमा मात्रै सहभागी हुँदैनन् । 

महिनावारी बार्नु कुरीति हो वा महिलाको स्वास्थ्यको ख्याल राखी बनाइएको नियम हो ? यससम्बन्धी आआफ्नै विचार होला । महिनावारी बार्नुका फाइदा वा बेफाइदाको सन्दर्भमा विश्लेषकका आआफ्नै मत होलान् । यो सानो लेखको उद्देश्य ती मतको पाटो केलाउनु होइन । कुरो यत्ति हो, महिनावारी हुँदा जनजातिमा ‘अछूत’ व्यवहार हुँदैन, अलि कम हुन्छ ।

 

प्रकाशित: २ आश्विन २०७४ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App