coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

गणतान्त्रिक मण्डले दल १, २, ३...!

निरंकुश शासन व्यवस्थामा शासकहरू स्वेच्छाचारी हुनु स्वाभाविक हो । तर, प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रमा प्रवेश गरेको मुलुकमा शासकहरू बेलगाम र हराम हुनु स्वाभाविक होइन । सत्ता वा प्रतिपक्षमा रहेका राजनीतिक नेतृत्वको कुशासन शैलीमाथि सशक्त ढंगले प्रतिकार गर्न सक्ने एउटा पनि राजनीतिक दल वा नेतृत्व देखापर्न नसक्नु हाम्रो राजनैतिक शासन व्यवस्थामै उठेको सबैभन्दा ठूलो प्रश्न हो। 

सञ्चार माध्यमहरूले देखाएको सक्रियताबाहेक अहिले माफियातन्त्रविरुद्ध चारैतिर मौनता छ । सरकारमा बस्ने र नबस्ने राजनीतिक दलहरू भ्रष्टाचारमा लिप्त छन् । प्रमुख दलका शीर्षहरू भ्रष्टाचारको नाइके बनेका छन् । शेरबहादुर देउवा, प्रचण्ड, केपी ओलीसँग कुन कुन भ्रष्टचारीको सम्बन्ध छ, यिनीहरू कुन कुन भ्रष्टचारीका संरक्षक हुन् र यिनीहरूले कसरी पैसा असुल गर्छन् ? राजनीतिमा चाख राख्ने प्रायः सबैलाई थाहा छ । यिनीहरूलाई सुपात्र मान्ने जनमत छैन । यिनीहरूबाट अपेक्षा पनि छैन । तर पनि यिनीहरूको नेतृत्व निर्विकल्प जस्तो देखिन्छ । चुनाव हुन्छ । यिनीहरूको संयन्त्रले चुनाव जित्छ । यिनीहरूले नै मिलेमतोमा सत्ता चलाउँछन् । चरम आर्थिक अनियमिततामात्र होइन, यिनीहरूले लिने हरेक निर्णयले नेपाली समाज हरेक दिन नैतिक, चारित्रिक तथा सांस्कृतिक रूपमा धराशयी बनिरहेको छ। 

अहिलेका सबै दलहरूलाई रोल नम्बर दिए हुन्छ । उदाहरणका लागि, गणतान्त्रिक मण्डले दल १, २, ३ इत्यादि । सत्ता, प्रतिपक्ष र संसद्मा गणतान्त्रिक मण्डले दल मात्र छन् ।

२०६२—६३ को आन्दोलनपछि यति भ्रष्ट राजनीतिक दलहरूबाट हामीले शासित हुनुपर्छ भन्ने सायद कसैको कल्पनामा पनि थिएन । पूर्ण गणतन्त्रमा प्रवेश गरिसकेपछि खुला राजनीतिमा आएको माओवादी सबैभन्दा भ्रष्ट दल बन्छ, नेपाली कांग्रेसले मुट्ठीभर भ्रष्टाचारीहरूको राजनीतिक सुनिश्चितताका लागि संसद्मा अग्रपंक्तिमा वकालत गर्छ, एमाले स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण गर्ने मेडिकल माफियाका पक्षमा कम्मर कसेर मैदानमा उत्रन्छ भन्ने कुरा आममानिसका लागि कल्पनाको विषय पनि थिएन । गणतन्त्र आयो, नेता सुध्रन्छन्, देश बनाउँछन्, यही नै अपेक्षा थियो । तर सबै उल्टो भयो । लोकतन्त्रका नाममा न्यूनतम राजनीतिक आदर्श र नैतिकताबाट च्युत विभिन्न राजनीतिक दलको आवरणमा उदाएका भ्रष्ट नेताहरूबाट शासित हुने नियति भोगेका आम सर्वसाधारणमा राजा वा सेनाकै शासन ठीक भन्ने जनमत पनि बिस्तारै बढिरहेको देखिन्छ। 

सायद नेपालको इतिहासमा माफियाहरू यति धेरै शक्तिशाली र संगठित कहिल्यै पनि थिएनन् होला । अब को मन्त्री बन्ने र नबन्ने, कसलाई न्याय दिने र नदिने भन्ने कुरा पूर्णरूपमा माफियाको हातमा गयो । जानी नजानी राजनीतिक नेतृत्व नै माफिया नायकका रूपमा देखापर्न थाले । न्यूनतम राजनीतिक आदर्श र नैतिकता भएका प्रजातान्त्रिक दल कहीँ कतै पनि आदर्श नमिल्ने दलसँग सत्ता साझेदारी गर्दैनन् । कमल थापा, दीपक बोहरा, सुनील थापा, पशुपति शमशेरजस्ता नितान्त उल्टा राजनीतिक शक्तिसँग सत्ता साझेदार गर्नेहरूको प्राथमिकता कहिल्यै पनि सुशासन हुनै सक्दैन । राजनीतिक दलभित्र माफिया र भ्रष्ट प्रवृत्ति हाबी भएकै कारण अहिलेको राजनीतिक समीकरण देखापरेको हो । दीपक बोहराजस्तो प्रवृतिलाई निर्लज्ज मन्त्रीमण्डलमा सामेल गरेर देशको प्रधानमन्त्री बनिरहने लालसा बोक्ने शेरबहादुर देउवा लोकतन्त्रका लाज हुन् । नेपाली कांग्रेसको नाम परिवर्तन गरेर ‘गणतान्त्रिक मण्डले नेपाली कांग्रेस’ राखियो भने मात्र उनको लाज बच्न सक्नेछ। 

राजनीतिक नेतृत्वले हाम्रो पुस्तालाई धोका दियो । जब सत्ता सञ्चालनमा केपी शर्मा ओली, कमल थापा, पशुपतिसमशेर, शेरबहादुर अनि प्रचण्डको समीकरण देखापर्छ, यी फरक राजनीतिक दलहरू हुन्, यिनीहरू आफ्नो राजनीतिक सिद्धान्त र आस्थामा अडिग छन् भनेर विश्वास गर्ने आधार केही पनि बाँकी रहँदैन । यिनीहरू फरक राजनीतिक दलको आवरणमा देखापरेका एकै किसिमका मण्डले स्वार्थ समूह हुन् । यिनीहरूले नेतृत्व गर्ने स्वार्थ समूह सत्तामा रहेसम्म नेपालमा कुशासन मात्र मौलाउने हो । यो भ्रष्ट प्रवृत्तिको मण्डले नेतृत्वलाई सत्ताच्यूत गर्न अब अर्को जनआन्दोलनको विकल्प छैन । यो दुखद हो, हिजो जसको साथमा मण्डलेहरूविरुद्ध मुर्दावादको नारा लगायौँ, आज उनीहरूकै विरुद्धमा भ्रष्ट नेतृत्व मुर्दावाद भन्दै नारा लगाउनुपर्ने दिन आयो। 

कतिपय मानिस तर्क गर्छन्, राजनीतिक दलहरू खराब छैनन्, केही नेता मात्र खराब हुन्, नेपाली कांग्रेस, एमाले, माओवादीभित्र पनि राम्रा नेता छन् । सायद होलान पनि तर दलीय नेतृत्व यति स्वेच्छाचारी र भ्रष्ट हँुदा पार्टीभित्र चुइँक्क बोल्न वा विद्रोह गर्न नसक्ने ती राम्राहरू पाखण्डी हुन् । राजनीतिक दलहरूभित्र राम्रा भनिएकाहरूको बीचमा ध्रुवीकरण हुन सक्यो भने मात्र पनि त्यसले केही हदसम्म राज्य र राजनीतिक दलहरूमा चुलिएको माफियागिरीलाई चुनौती दिन सक्थ्यो होला । तर, हरेक पार्टीभित्र संस्थागत बनेको गुटबन्दीको राजनीतिले यो सम्भावनालाई पनि समाप्त पारिदिएको छ । हरेक पार्टीभित्र गुट छ र गुटको नेतृत्वमा माफियागिरी हाबी छ। 

समय यस्तो भइसक्यो कि, सबै राजनीतिक दलहरूको नाम एउटै राखिदिएर यिनीहरूलाई रोल नम्बर मात्र दिए हुन्छ । उदाहरणका लागि, गणतान्त्रिक मण्डले दल १, २, ३ इत्यादि । अहिले सत्ता, प्रतिपक्ष र संसद्मा गणतान्त्रिक मण्डले दल मात्र छन् । त्यसैले कति रोल नम्बर भएको मण्डले दल कति महिनाको अन्तरालमा सत्तामा जाने भनेर पहिल्यै क्यालेन्डर बनाइदिए हुन्छ । आर्थिक भ्रष्टाचार मात्र हाम्रो चिन्ता होइन । लामो नेतृत्वबाट आएका दल र तिनका नेताहरू मण्डले प्रवृत्तिमा रूपान्तरित बने । यो हाम्रा लागि ठूलो चिन्ताको विषय हो । राजनैतिक निष्ठा र आदर्श नै नभएका दलहरूले देश चलाउनु निरंकुुश शासनभन्दा पनि घातक छ । निष्ठा र आदर्शविनाका राजनैतिक स्वार्थ समूहहरूको हातबाट राजनीतिलाई फिर्ता ल्याउनु अहिले हाम्रो पुस्ताका लागि सबैभन्दा ठूलो चुनौती हो । अब सबैले बोल्नैपर्छ, गणतान्त्रिक मण्डले दलहरू मुर्दावाद ! अब सोचौँ, गणतन्त्रको आवरणमा यस्तै माफिया मण्डले दलहरूबाट शाषित हुने कि यिनीहरूविरुद्ध विद्रोह गर्ने ? 

प्रकाशित: २ आश्विन २०७४ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App