६ वैशाख २०८१ बिहीबार
समाज

उपत्यकाका सडकमा दिनहुँ जामको सकस

काठमाडौं- कार्यालय समयमा सडकमा धेरै सवारीसाधन गुड्ने हुँदा राजधानीका भित्री सहरमा १०/१५ मिनेट जाम स्वाभाविक भइरहेको छ। सडक संरचनाको कारणले गर्दा पानी परेको समयमा पनि जाम हुने गर्छ।

यस अलावा भिआइपी सवारीमा सडक खाली गर्नपर्ने हुँदा पनि सर्वसाधारणले जामको मार खेप्दै आएका छन्। बिशेषगरी उपत्यकामा जाम हुने यी तीन कारण भएपनि अर्को कारण, 'स्थानीय चाडपर्व' पनि हो।

बिहिबार जगन्नाथ रथयात्राको कारण पनि उपत्यकावासीले घन्टौं जाम खेपेका छन्। रथयात्राका कारण बिहीबार उपत्यकाका अधिकांस सडकका यात्रुले जाम झेल्नु परेको छ। ट्राफिकस“ग यस्ता जाम खुलाउने कुनै योजना र उपाय नभएका कारण ट्राफिक जाम राजधानीको दीर्घ समस्याका रुपमा स्थापित हुदैछ।

पछिल्लो समयमा उपत्यकामा जाम दैनिक जसो विना कारण बढ्दै गएको छ। जाम बढ्नुमा ट्राफिक प्रहरीको कमजोरी रहेको सवारीचालकहरु बताउँछन्। तर ट्राफिक प्रहरी भने चालकको भनाई मान्न तयार छैन्।

 'उपत्यकामा १२ सय ट्राफिक प्रहरी रहेका छन्। प्रत्येक चोकमा ट्राफिकले जिम्मेवारी निर्वाह गरिरहेका छन्,' महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी प्रकाश अर्याल भन्छन, 'सडकले धान्ने भन्दा बढी सवारीसाधन भएपछि ट्राफिकले कसरी गरोस् त ट्राफिक व्यवस्थापन?' अर्यालले प्रश्न गर्दै थपे, 'हिजो भन्दा आज, आज भन्दा भोलि सवारीसाधनको संख्या सडकमा थपिँदो रहेको तर सडकका गुडिरहेका सवारी भने हटाईएको छैन।'

यता यातायात व्यवस्था विभागका अनुसार पनि हरेक दिन नेपालमा सवारीसाधन थपिदो क्रममा छ। हालसम्म देशभरमा कुल २१ लाख ४३ हजार एक सय ८६ वटा सवारी साधन दर्ता भइसकेका छन्। मुलुकमा दिनहुँ ५ सय ५० हाराहारी नयाँ सवारी दर्ता थपिरहेको आँकडाले देखाएको छ। दैनिक २ सयभन्दा बढी सवारीसाधन त काठमाडौंमै मात्र थपिइरहेका छन्। गत भूकम्पपछिको तथ्यांक हेर्दा एक वर्षको अवधिमा काठमाडौं (बागमती यातायात कार्यालय) मा मात्र ८० हजारभन्दा बढी सवारी दर्ता भएका छन्। बागमती अञ्चाल कार्यालयमा २०७२ बैशाकसम्मा ८ लाख १८ हजार ४ सय ४८ सवारी साधन दर्ता भएको तथ्याङक छ। यतीबेला यो संख्या बढेर करिब ९ लाख नाघिसकेको विभागको अनुमान छ। दर्ता भएका मध्ये ९० प्रतिशतभन्दा बढी उपत्यकामै गुड्ने गरेको विभागको जनाएको छ।

पुराना सवारी विस्थापित नहुने तर दैनिक सयौँ सवारी थपिँदै जाने कारणले गर्दा पनि सडकमा सवारी चाप बढेर जाम भईरहेको देखिन्छ। दुई वर्षअघिसम्म काठमाडौं उपत्यकाभित्र दैनिक ५ लाख हाराहारी सवारी दैनिक आउजाउ गर्थे तर अहिले यो संख्या बढेर ६ लाख नाघिसकेको तथ्यांक छ। उपत्यकाका सडकमा देशभरका सवारी आउजाउ गर्ने भएकाले यहाँका सडकमा सधैं जाम हुने ट्राफिक प्रहरी बताउँछन्।

नेपालका सडकमा हरेक दिन सयौं सवारी थपिँदै गएको तथ्यांक सार्वजनिक भए पनि सरकारले हालसम्म एउटा पनि सवारी साधनलाई विस्थापित गर्न सकेको छैन। 'अहिलेसम्म विक्रम ट्याम्पो बाहेक अरु पुराना सवारीलाई सडकबाट विस्तापित हुन सकेका छैनन्,' प्रमुख अर्यालले भने, 'ग्यारेजमा रहेका सबै सवारी सडकमा निस्कने हो भने उपत्यकामा रहेका सडकमा सवारी नै अट्दैनन् अनि किन हुँदैनन् त जाम।' सरकारले २० वर्ष पुराना सवारी हटाउने कानुन व्यवस्था गरेपनि कार्यान्वयनमा आउन सकेको छैन। ०७१ भदौमा मन्त्रिपरिषद्ले २० वर्ष पुराना सवारी हटाउने निर्णय गरेको थियो।

विभागले पुराना सवारी साधन नहटाउने र दैनिक सवारी साधन थपिँदै गएका कारण पनि उपत्यकाका सडक जति चौडा गरे पनि जाममुक्त हुन नसकेको ट्राफिक प्रहरी बताउँछन्। उपत्यकाका केही मुख्य क्षेत्रका सडक सामान्य चौडा भए पनि थपिएका सवारी साधनको दर धेरै गुणा बढेका कारण ट्राफिक जामको समस्याज्यँुका त्युँ रहेको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्› मल्लले बताए।

प्रकाशित: १४ श्रावण २०७३ ०४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App