८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रसंघबाट फर्कदा प्रधानमन्त्री ओमान जाने

फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७२औं महासभामा सहभागी भएर स्वदेश फर्कने क्रममा खाडी राष्ट्र ओमानको भ्रमण गर्ने भएका छन् । ओमानको राजधानी मस्कटमा उनले तीन रात बिताउने कार्यक्रम छ । प्रधानमन्त्री देउवा राष्ट्रसंघ महासभामा सहभागी हुन असोज ३ गते अमेरिकाको न्युयोर्क प्रस्थान गर्नेछन् । असोज ९ गते उनी ओमान आइपुग्ने कार्यक्रम छ । 

‘प्रधानमन्त्रीज्यू राष्ट्रसंघको महासभामा सहभागी भई फर्कने क्रममा ओमानको भ्रमण गर्ने कार्यक्रम तय भएको छ,’ उनका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए, ‘ओमानमा प्रधानमन्त्रीज्यूले खाडी राष्ट्रमा रहेका नेपाली राजदूत र ओमानका उच्च अधिकारीसँग भेटघाट गर्नुहुनेछ।’ 

चौथो पटक देशको प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाले गर्न लागेको ओमान तेस्रो विदेश भ्रमण हो । प्रधानमन्त्री भएपछि उनले पहिलो विदेश भ्रमण भारतको गरेका थिए भने दोस्रो विदेश भ्रमण अमेरिकाको गर्दैछन् । भ्रमण कार्यक्रमअनुसार प्रधानमन्त्री देउवा राष्ट्रसंघ महासभामा सहभागी हुन १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ३ गते अमेरिका प्रस्थान गर्नेछन्। 

राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग संक्षिप्त भेटवार्ता गर्ने अवसर भने उनले गुमाउनेछन् । राष्ट्रसंघको महासभामा सहभागी हुन जाने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई अमेरिकी राष्ट्रपतिले रात्रिभोजमा बोलाउने अभ्यास छ । रात्रिभोजमा सहभागी हुने क्रममा राष्ट्रध्यक्ष तथा सरकार प्रमुखहरूले अमेरिकी राष्ट्रपतिसँग संक्षिप्त कुराकानी गरी फोटो खिचाउने प्रचलन छ। 

‘हाम्रा प्रधानमन्त्रीज्यू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुन नभ्याउने हुनुभएको छ । जुन दिन प्रधानमन्त्रीज्यू काठमाडौंबाट अमेरिकातर्फ उड्नुहुनेछ त्यही दिन अमेरिकी राष्ट्रपतिले रात्रिभोज आयोजना गर्नुहुनेछ । अमेरिकी राष्ट्रपतिसँग संक्षिप्त कुराकानी गर्न उहाँ (प्रधानमन्त्री देउवा) ले पाउनुहुन्न,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । अमेरिकी राष्ट्रपतिले आयोजना गर्ने रात्रिभोजमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा सहभागी हुनेछन्।

अघिल्ला वर्षहरूमा जस्तो चीनका राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग पनि नेपालका प्रधानमन्त्रीको राष्ट्रसंघ महासभाको साइड लाइनमा भेटवार्ता हुनेछैन । यसपटकको महासभामा चिनियाँ राष्ट्रपति सी जिन्पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुवै नजाने भएका छन् । दुवै देशको नेतृत्व विदेशमन्त्रीले गर्ने भएका छन्। 

‘प्रधानमन्त्रीज्यू राष्ट्रसंघको महासभामा जानुको स्वार्थ भनेको छिमेकी देशका समकक्षीसँग साइड लाइनमा कुराकानी गर्न पनि हो तर यस्तो भेटवार्ता अहिले हुँदैन । चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री दुवै महासभामा सहभागी नहुने खबर प्राप्त भएको छ,’ स्रोतले भन्यो । नेपालले चिनियाँ राष्ट्रपतिसँग साइड लाइन वार्ताका लागि समय माग गरेको थियो, जवाफमा चिनियाँ राष्ट्रपति सहभागी नहुने खबर आएको थियो । 

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवाले असोज ७ गते राष्ट्रसंघको ७२औं महासभालाई सम्बोधन गर्नेछन् । सोही दिन उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्ससँग द्विपक्षीय वार्ता गर्नेछन् । महासभाको साइड लाइनमा प्रधानमन्त्री देउवाले असोज ५ गते अफगानिस्तानका राष्ट्रपति महम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद अब्बासीसँग भेटवार्ता गर्नेछन् । उनले कोलम्बीय विश्वविद्यालयको ‘वल्र्ड लिडर्स फोरम’ लाई सम्बोधन गर्ने परराष्ट्रले जनाएको छ । प्रधानमन्त्री देउवाले असोज ६ गते इस्टोनियाका राष्ट्रपति कृस्टी कालजुलियडसँग पनि भेटवार्ता गर्नेछन्। 

प्रधानमन्त्री देउवाको असोज ८ गते साँझ न्युयोर्कबाट ओमानतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । उनी असोज ९ गते ओमानको राजधानी मस्कट पुग्नेछन् । । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर पनि त्यो दिन ओमान पुग्नेछन् । मस्कटमा त्यहाँस्थित नेपाली दूतावासले ‘रिजनल कन्फ्रेन्स’ (क्षेत्रीय सम्मेलन) आयोजन गर्नेछ। 

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार भट्टराईका अनुसार सम्मेलनमा खाडी राष्ट्रमा रहेका नेपाली राजदूत सहभागी हुनेछन् । साउदी अरब, युनाइटेड अरब इमिरेट्स, कतार, कुवेत, बहराइनका लागि नेपाली राजदूत सम्मेलनमा सहभागी हुने जनाइएको छ । ‘खाडी राष्ट्रमा ठूलो संख्यामा नेपाली रहेका छन् । त्यहाँको वस्तुस्थिति के छ, नेपाली कामदारको अवस्था के छ, केकस्ता समस्या छन् भन्ने प्रधानमन्त्रीज्यूले बुझ्न चाहनुभएको छ,’ उनले भने। 

प्रधानमन्त्री देउवा असोज १० र ११ गते ओमानमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । उनको ओमानका समकक्षीसँगको भेटवार्ता भने अझै तय भइसकेको छैन । ओमानस्थित नेपाली दूतावासले ओमानी समकक्षी (सुल्तान) सँग भेटवार्ताका लागि समय मिलाउन प्रयास गरिरहेको छ । प्रधानमन्त्री देउवा असोज १२ गते ओमानबाट स्वदेश फर्कने कार्यक्रम छ। 

 

प्रकाशित: २ आश्विन २०७४ ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App