१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राजधानीमा कडा हङकङ फ्लु

काठमाडौं- यस वर्ष मौसमी फ्लुका रुपमा परिचित इन्फ्लुएन्जा 'ए' र 'बी' भाइरस संक्रमण विगतभन्दा कडा पाइएको छ। राजधानी उपत्यकामा हङकङ फ्लु भनिने इन्फ्लुएन्जा 'ए' र बाहिरी जिल्लामा 'बी' भाइरसका बिरामी बढिरहेको चिकित्सक बताउँछन्।

एक सातायता मौसमी फ्लु संक्रमण तीव्र रहेको स्वास्थ्य मन्त्रालयअन्तर्गत राष्ट्रिय इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखा र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएका छन्। 'उपत्यकामा हङकङ फ्लु फैलिएको देखिन्छ, इलाममा बी संक्रमण बढी पाइयो,' महाशाखा प्रमुख डा. बाबुराम मरासिनीले भने।

यीमध्ये कडा मानिने हङकङ फ्लु संक्रमण विगत वर्षभन्दा बढी रहेको शुक्रराज ट्रपिकल अस्पतालका विभाग प्रमुख डा. शेरबहादुर पुनले जानकारी दिए। 'अस्पताल आएका बिरामीमा परीक्षण गर्दा यी दुवै भाइरस पाइएका छन्, 'ए' संक्रमण पहिलेभन्दा बढी कडा  पाइएको छ,' उनले भने।

हङकङमा सन् १९६८ मा पहिलोपटक देखा परी केही मानिसको ज्यानसमेत गएको हुनाले इन्फ्लुएन्जा 'ए' लाई हङकङ भनिँदै आएको छ। यो भाइरस पछि एसिया हुँदै अमेरिकासम्म फैलिएको थियो। 'यस वर्ष अन्य समयको भन्दा कडा देखिन्छ, वयष्क उमेरकालाई पनि आक्रमण गरेको छ, रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाएको पाइएको छ, डा. पुनले भने।

राजधानीको टिचिङ अस्पतालमा पनि इन्फ्लुएन्जाका लक्षण बोकेका दैनिक ६० जनाजति बिरामी आउने गरेको फिजिसियन डा. नीरज बमले बताए। 'उनीहरूमा ज्वरो आउने, घाँटी दुख्नेजस्ता समस्या छ,' उनले भने, 'बूढाबूढी, बालबालिका, कुपोषित, पे्रसर, मधुमेह, दम, अंग प्रत्यारोपण गरेकाहरूका बढी जोखिमयुक्त छ।'

चिकित्सकका अनुसार बिरामीमा ज्वरो आउने, जिउ दुख्ने, रुघा लाग्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण पाइएको छ। 'कतिपयलाई पातलो दिसा हुने समस्या छ,' डा.पुनले भने, 'बाढीपहिरो तथा भूकम्पले विस्थापित समूहमा यो रोगको जोखिम बढी छ। इन्फ्लुएन्जा भाइरस समूहमा चाँडो फैलने भएकाले सावधानी अपनाउन चिकित्सक सुझाउँछन्। सकेसम्म भिडमा नजान, गइहाले पनि मास्क प्रयोग गर्न उनीहरूको  सुझाव छ।

प्रकाशित: १४ श्रावण २०७३ ०४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App