८ वैशाख २०८१ शनिबार
राजनीति

‘सहयोग जारी रहन्छ’

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको शान्ति र समृद्धिको दिशामा सहयोग कायमै रहने प्रतिबद्धता दोहोर्‍याएका छन् । ट्रम्पले संविधान दिवसको तीन दिन अगावै शुभकामना सन्देश पठाउँदै यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन् । 

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शनिबार पठाएको शुभकामना सन्देशमा राष्ट्रपति ट्रम्पले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । राष्ट्रपति ट्रम्पले सन्देशमा लेखेका छन्, ‘यहाँहरूले असोज ३ गते संविधान दिवस मनाउँदै गर्दा सबै अमेरिकी नागरिकका तर्फबाट तपाईंलाई बधाई छ । यो दिन तपाईंका देशका लागि एक महान् दिन हो र संयुक्त राज्य अमेरिकाका नागरिक तपाईंहरूको लोकतन्त्रको यस उत्सवलाई स्वागत गर्न चाहन्छन्।’

नयाँ संविधान जारी भएपछि नेपालले महत्त्वपूर्ण प्रगति हासिल गरेको औंल्याउँदै ट्रम्पले सन्देशमा लेखेका छन्, ‘भूकम्पपछिको पुनर्निर्माणले तीव्रता पाएको छ भने लाखौं नेपाली नागरिकको जीविकोपार्जनको अवस्थामा पनि सुधार हुन थालेको छ ।’ ट्रम्पले नेपालको अर्थतन्त्रमा उल्लेखनीय सुधार आएको भन्दै त्यसको वृद्धिका लागि तयारी अवस्थामा पुगेको जनाएका छन् । सन्देशमा उनले भनेका छन्, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा त तपाईंहरूले २० वर्षमा पहिलो पटक स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुभएको छ, जुन लोकतान्त्रिक सरकारका लागि उल्लेखनीय कोसेढुंगा हो।’

अमेरिकाको साझा सिद्धान्तप्रति नेपालको प्रतिबद्धताका लागि धन्यवाद दिँदै टम्पले शान्ति र समृद्धिको दिशामा नपालको जारी प्रगतिप्रति अमेरिकी सहयोग कायमै रहने स्पष्ट पारेका छन्।

प्रकाशित: १ आश्विन २०७४ ०५:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App