८ वैशाख २०८१ शनिबार
राजनीति

वडाध्यक्ष उम्मेदवारको नागरिकता खारेज

बारा –निजगढ नगरपालिका–४ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका एकजनाको नागरिकता जिल्ला प्रशासन कार्यालय, बाराले खारेज गरिदिएको छ।

 जिल्ला प्रशासन कार्यालयले वडाध्यक्षमा एमालेका उम्मेदवार जयराम कुनवरले थर परिवर्तन गरी विभिन्न मितिमा दुइटा नागरिकता लिएको छानबिनबाट खुलेपछि उनको नागरिकता प्रमाणपत्र खारेज गरेको हो ।

उनले २०६३ माघ २१ गते घुम्ती टोलीमार्फत निजगढ–४ बाट लिएको ३३३१०११/५९९ नम्बरको नागरिकतामा जयराम कुनवर छ । त्यस्तै उनले २०६० वैशाख १४ गते लिएको ९६७३ नम्बरको नागरिकता प्रमाणपत्रमा जयराम कुँवर भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

पछिल्लोपटक जयराम कुनवर थरमा बनाइएको नागरिकता प्रमाणपत्र खारेज गरिएको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए । उनलेएउटै व्यक्तिको दुइटा नागरिकता भेटिएपछि कुनवर थर लेखिएको नागरिकता खारेज गरिएको बताए ।

उनले उम्मेदवारी दर्ता गराउँदा कुनवर थर लेखिएको नागरिकताको प्रमाणपत्र पेस गरेकाले उम्मेदवारी कायम रहने कि नरहने भन्ने निर्णय निर्वाचन अयोगले गर्ने प्रजिअ मानन्धरले बताए । 

मनोनयनपत्रसँगै बुझाएको नागरिकता प्रमाणपत्र खारेज भएपछि उम्मेदवारी खारेज हुने वा नहुने विषयमा चर्को बहस सुरु भएको छ।  

निजगढ नगरपालिका निर्वाचन अधिकृत गोविन्दराज गौलीले एमाले उम्मेदवार कुनवरले मनोनयनपत्र दर्ता गराएको नागरिकता नै खारेज भएको अवस्थामा उनका उम्मेदवारी रहने कि नरहने भन्नेबारे आयोगमा बुझ्ने काम भइरहेको बताए। 
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन अधिकृतको कार्यालयबाट आयोगलाई लिखित जानकारी आएपछि यसबारे कानुनअनुसार उचित निर्णय लिइने जानकारी दिए। 

दाबी विरोध गर्ने दिन कुनवरले दोहोरो नागरिकता लिएको उजुरी नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार सुनिल चौधरीले दर्ता गराएका थिए । उनले किर्ते गरेर दुई दुइटा नम्बर र थर भएको नागरिकता लिएको भन्दै चौधरीले उजुरी दिएका थिए। 

उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालय निजगढले जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरी नागरिकता सम्बन्धमा जानकारी माग गरेको थियो।

एमाले बारा प्रचार विभाग प्रमुख मनोज पौडेलले जयराम कुनवरको नागरिकता राजनीतिक रिसइवी साध्न चुनावको मुखमा आएर खारेज गरिएको आरोप लगाएका छन् । कुनवरको उम्मेदवारी खारेज गरिए एमाले चुप लागेर नबस्ने पौडेलले बताए। 

प्रकाशित: १ आश्विन २०७४ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App