७ वैशाख २०८१ शुक्रबार
राजनीति

निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पुरा: गृहमन्त्री

काठमाडौं- गृहमन्त्री जनार्दन शर्माले २ नम्बर प्रदेशमा असोज २ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गृहमन्त्री शर्माले सरकारले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरिसकेको जनाउँदै मतदाताहरुको सुरक्षाको लागि आवश्यक सुरक्षाको प्रबन्ध गरिएको स्पष्ट पारे।

उनले भने,‘आम मतदाताहरुको सुरक्षाको लागि सरकारले आवश्यक सुरक्षाको प्रबन्ध गरिसकेको छ, सुरक्षाकर्मीहरुलाई परिचालन गरिसकेको छ, म यही मञ्चबाट जनताहरुमा अपिल गर्न चाहन्छु–कि ढुक्क भएर आफ्नो मत हाल्नुहोस्।’

गृहमन्त्रालयले निर्वाचन सुरक्षाको लागि केन्द्रिय सुरक्षा नीति अनुसार नै जिल्ला स्तरमा सुरक्षा योजना कार्यान्वयन गरिसकेको र जस अनुसार पहिलो घेरामा नेपाली प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी, तेस्रो घेरामा नेपाली सेना र राष्ट्रिय अनुसन्धानलाई खटाईएको मन्त्री शर्माले जानकारी दिए।

निर्वाचन मौन अवधि सुरु भैसकेकोले अहिले सबै खाले निर्वाचन प्रचारप्रसार कार्य बन्द भएको पनि उनले जनाए । यो वर्ष निर्वाचन वर्ष भएकोले स्थानीय तहको तेस्रो चरणको निर्वाचन सम्पन्नले आगामी प्रदेश र प्रतिनिधि सभाको दुई वटा निर्वाचनको सफल रुपमा सम्पन्नताको सुनिश्चित गर्ने विश्वास गर्दै शर्माले भने,‘त्यसैले यो निर्वाचनको मतदान प्रक्रियालाई सम्पन्न गर्नको लागि आम मतदाताहरुको उल्लेखनीय सहभागिता होस् र सबै दलहरुको पनि जिम्मेवारी हो।’

सरकारले आचारसंहिताको पूर्ण रुपमा पालना गरेको बताउँदै उनले कोही कसैबाट भएको छ भने यसको अनुगमन गर्ने काम निर्वाचन आयोगको भएको बताए।

प्रकाशित: ३१ भाद्र २०७४ १०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App