(कु)तर्क भर्सस तथ्य

शनिबार, ३१ भदौ २०७४, १० : २२ नागरिक

डा. महेशराज पन्त

 

इतिहासको आत्मा भनेको तथ्य र प्रमाण हो । अचेल तथ्य र प्रमाणविनै ‘ऐतिहासिक’ पुस्तक दाबी गर्ने थुप्रै ‘विद्वान्’ देखापरेका छन् । अखबारी लेख मात्र होइन, ‘अनुसन्धानात्मक’ पुस्तकसमेत हावादारी देखिएका छन् । यसै सन्दर्भमा २०७४ भदौ २१ गते एउटा अन्लाइन पत्रिकामा कमलप्रकाश मल्लको सन्दर्भमा म, मेरो काम र संशोधन–मण्डललाई समेत जोडेर लेखिएको लेख मैले चाख मानी पढेँ । उनै लेखकले झण्डै सात महीनाअघि पनि संशोधन–मण्डललाई नै ‘प्रतिवादी’का रूपमा उभ्याउने प्रयास गरेका थिए ।


‘ज्ञानको पूर्वीय परम्परामा हुर्किएका’ भनी मलाई त्यस लेखमा भनिएको छ । सबभन्दा पहिले त, ‘पूर्वीय’ शब्द व्याकरणबाट बन्दैन, त्यही अर्थमा ‘पौरस्त्य’ वा ‘प्राच्य’ शब्द बन्छ । त्यसमाथि, ‘भारतवर्षको’ अर्थात् वर्तमान भारतबाट बिच्केकाको शब्दमा ‘दक्षिण एशियाको’ भन्ने अर्थमा व्याकरण नमिल्ने ‘पूर्वीय’ वा व्याकरण मिल्ने ‘पौरस्त्य’ र ‘प्राच्य’ शब्द आजभोलि चलेका छन् । तर यस अर्थमा यी शब्दको प्रयोग गर्दा चीनको सुदीर्घ परम्परालाई नजरअन्दाज गरेको हुन्छ । म भारतीय परम्पराको विद्यार्थी हुँ, तर प्राच्य परम्परामा विद्याको लामो परम्परा भएको चीन पनि पर्ने हुनाले मलाई ‘पूर्वीय परम्परा’को भन्दा अतिव्याप्तिदोष लाग्ने हुनाले यति बोल्नुपरेको हो ।

उनको अहिलेको लेखमा लेखिएका कुरा अन्तिम सत्य जस्तो गरी ‘विद्वान्’हरूले समेत प्रशंसामय टिप्पणी गरेको देखियो । अहिले उठाइएका विषयबारे साढे ३३ वर्षयतादेखि म निरन्तर लेखिरहेको छु । एक महीनाअगाडि मात्र पनि मैले त्यस्तै विषयमा लेखिसकेकोले (‘हिन्दू इतिहासकार ?’, ‘राजधानी’, २०७४।४।२८।७, ९, १० पृ.) अहिले फेरि आफ्नो राय प्रकट गरिहाल्ने विचारमा म थिइनँ । ‘गतानुगतिको लोको न लोकः पारमार्थिकः’ अर्थात् ‘साधारण मानिस अरूको पछि लागेर हिँड्छ, ऊ वास्तव कुरा बुझ्दैन’ भने जस्तै लोकमा भ्रम पर्ने डर हुँदा केही लेख्नु राम्रो होला भनी प्रबुद्ध र निष्पक्ष पाठकले भनेकाले यो लेख कोर्दैछु ।
त्यस लेखको शीर्षकैबाट कुरा उठाऊँ । मेरो तर्पmबाट सत्यको उद्घाटन हो, झगडा होइन । सत्यको उद्घाटन गर्न बस्दा जसको विरोधमा लेखिएको छ, विषय स्पष्ट पार्न उसको मनसाय र कामकारवाईको विषयमा पनि लेख्नुपर्ने नै हुन्छ । यसैलाई ‘झगडा’ भन्ने हो भने मलाई केही भन्नु छैन । मैले अन्यत्र लेखे जस्तै, मतभेदको ‘मूल विषय त प्राचीन विद्याको पढाइमा जीवन समर्पित गर्ने, परीक्षा गर्दा जे ठहरिन्छ त्यही लिने, सिद्धान्तमा विचलित नहुने प्रवृत्तिको र प्राचीन विद्या फोसाको रूपमा ग्रहण गर्ने, वर्गविशेषको संतुष्टिको लागि पहिलेबाटै स्थापित सिद्धान्तको पुष्टिको लागि लाग्ने, मौकापरस्त हुने प्रवृत्तिको द्वन्द्व हो’ (‘राजधानी’, २०७४।४।२८।७, १० पृ.) ।
‘प्राध्यापक मल्ल साहित्यका विद्यार्थी थिए । आधुनिक शिक्षा पाउने सुरूआती पुस्ताका थोरै भाग्यमानी नेपालीमध्ये उनी एक हुन्’ भनी त्यस लेखमा लेखिएकोले यस विषयमा केही टिप्पणी गर्नुपरेको छ ।
‘आधुनिक शिक्षा’ भनेर यहाँ अङ्ग्रेजी शिक्षातर्पm इङ्गित गरिएकोले कमलप्रकाश मल्ल पक्कै पनि ‘सुरूआती पुस्ताका’ थिएनन् । त्रिचन्द्र कलेज खुलेको १८ वर्षपछि उनी जन्मेकाले उनलाई ‘आधुनिक शिक्षा पाउने सुरूआती पुस्ताका’ भन्न मिल्दैन । उनको बाबुको पुस्ताका रुद्रराज पाण्डेय (वि.सं. १९५७–२०४३) र भैरवबहादुर प्रधान (वि.सं. १९५८–२०३४) आदिले त्यस्तै शिक्षा पाई प्रतिष्ठित भएकाले उनी कसरी ‘सुरूआती पुस्ताका’ भए ? धनमान कमाउनुलाई नै भाग्यको पर्याय मान्ने हो भने मलाई केही भन्नु छैन ।
भारतविजय गर्दै गएपछि ब्रिटिस इस्ट इन्डिया कम्पनीले ‘रगत र रङको दृष्टिले भारतीय भए पनि रुचि, विचार, बोलीचाली र बुद्धिले अङ्ग्रेज भएका मानिसहरूको वर्ग बनाउन’ (थोमस बाबिङ्टन मकौली (वि.सं. १८५७–१९१६)को वि.सं. १८९१ को मिनिटबाट मेरो उल्था) अङ्ग्रेजी शिक्षा चलाएपछि भारतमा मुसलमानको ६ सय वर्षको शासनले पनि हिन्दूहरूको जीवनपद्धतिमा खास असर नपरेकोमा अङ्ग्रेजी शिक्षाले गर्दा हिन्दूहरूको सोचविचारमा परिवर्तन आउन थाल्यो । अङ्ग्रेजी शासनको गढ बङ्गाल भएकोले नयाँ विचारधाराको ठूलो प्रभाव बङ्गालमा पर्न जाँदा पन्ध्रौँ शताब्दीमा प्राचीन ग्रीस र रोमको ज्ञानबाट यूरोपमा आएको जागर्ति बुझाउन ‘पुनर्जन्म’ बुझाउने ‘रिनेसन्स्’ शब्दको सिको गरी यस नयाँ विचारधाराबाट आएको चेतनालाई ‘बेन्गली रिनेसन्स्’ भन्ने नाउँ दिइयो । यूरोपमा प्राचीन विद्याको परिशीलनबाट ‘पुनर्जागर्ति’ भएको थियो भने बङ्गालमा चाहिँ प्राचीन विद्याको यथाशक्य उछित्तो गर्ने कामले ‘पुनर्जागर्ति’ भन्ने नाउँ पायो । यिनै बङ्गाली बाबूहरूकै निर्देशनमा नेपालमा अङ्ग्रेजी शिक्षा चलेकोले यहाँ पनि प्राचीन विद्याको हदसम्म नाश हुन गयो, बङ्गालीको ठाउँमा मराठाहरूको अगुवाइमा नेपालमा अङ्ग्रेजी शिक्षाको शुरूवात भएको भए प्राचीन विद्याको यतिसम्मको उछित्तो हुँदैनथ्यो कि ? यसैले नयराज पन्त (वि.सं. १९७०–२०५९)को शब्दमा हाम्रा अङ्ग्रेजीबाजहरू ‘काला अङ्ग्रेज’ (‘हाम्रा उद्देश्य र कार्यप्रणाली’, खिलशर्म–राजीवलोचनजोशीस्मारक–प्रतिष्ठान, काठमाडौँ, २०५९, ९ पृ.)भन्दा बढी हुन सकेनन् । यसैले आपूmले मूलतः अङ्ग्रेजी साहित्य पढे पनि त्यस विषयमा हजारौँ हजार विद्वान्हरूले दिमाग खपाइरहेकाले त्यसमा आफ्नो वर्चस्व देखाउन लरतरो किसिमले संभव नभएकोले नै नेपालको पुराविद्यामा आधारभूत ज्ञान नहुँदा नहुँदै पनि सोधी सोधी शोध गर्न कमलप्रकाश मल्ल आएका हुन् ।
आजभोलि धेरैले लेख्ने गरे जस्तै, संशोधन–मण्डलको पाठशालालाई त्यस लेखमा पनि ‘गुरुकुल’ भनिएको छ । हाम्रो पाठशालाको अर्थमा यस शब्दको प्रयोग मैले संझेसम्म सबभन्दा पहिले कमलप्रकाश मल्लले गरेका हुन् (‘इम्पेक्अब्ल् हिस्टोरिओग्रफि इन् नेपाल्ः अ रिबट्अल्’, नेपाल स्टड्इ सेन्टर, काठमाडौँ, ई.सं. १९८४) । पछि त्यही पाठशालाका स्नातक ज्ञानमणि नेपाल (वि.सं. १९८९ मा जन्म)ले आफ्नो एउटा पुस्तकको शीर्षकमै ‘गुरुकुल’ शब्दको प्रयोग गरेपछि
(‘मेरो गुरुकुलीय शिक्षा र सहपाठी’, ज्ञानगुनप्रकाशन, काठमाडौँ, २०५४) संशोधन–मण्डलको पाठशाला ‘गुरुकुल’ शब्दले व्यवहृत हुन थाल्यो । ‘गुरुकुल’ शब्दले हाम्रो पाठशालाको स्वरूप बुझाउन सक्दैन भनी मैले झण्डै १४ वर्षअगाडि खुलाएर लेखिसकेकोले (गुहनाथ पौडेल, ‘औँसीको रात’, आगम प्रकाशन, काठमाडौँ, २०६० मा छापिएको, मेरो ‘औँसीको रात पढ्दा’, ३ पृ.) त्यही कुरा दोह¥याउनुको कुनै तुक छैन ।
‘उनको इतिहास लेखन खासगरी पृथ्वीनारायण शाह केन्द्रित छ । पृथ्वीनारायण र शाहवंशबारे धेरै अध्ययन अनुसन्धान गरेकाले उनले नेपालको इतिहासलाई पृथ्वीनारायण शाह केन्द्रमा राखेर व्याख्या गर्ने गरेका छन्’ भनी त्यस लेखमा मेरो विषयमा लेखिए पनि यो कुरा तथ्यभन्दा निकै टाढा छ । पृथ्वीनारायण शाहको विषयमा मैले खोजी गर्दै नगरेको होइन, तर उनको विषयमा मैले त्यत्ति काम गरेको छैन । अन्वेषणसम्बन्धी मेरो करीअरको शुरूवात खास गरी लिच्छविकाल र मल्लकालको इतिहासबाट भयो र पछि वि.सं. १८७१–७२ मा ब्रिटिश भारत र नेपालको लडाइँको विषयमा अन्वेषण गरी केही वर्ष मैले बिताएँ । त्यसपछि अन्वेषणको मेरो दायरा फराकिलो हुँदै जाँदा संस्कृतवाङ्मयका शाखाप्रशाखाको विषयमा केही अन्वेषण मैले गरेँ । अहिले म खास गरी संस्कृत कोषविद्या, नेवार लोकयात्रा, नेपालको प्राचीन कालदेखिको मसीजीवीको इतिहास र नेपालमा गएका भूकम्पको नालीबेली खोज्ने काममा लागिपरेको छु । यसैले मेरा लेख राम्ररी पढ्दै नपढी हचुवाको भरमा माथिका वाक्य लेखिएको छ ।
‘ज्ञानको पूर्वीय परम्परामा हुर्किएका’ भनी मलाई त्यस लेखमा भनिएको छ । सबभन्दा पहिले त, ‘पूर्वीय’ शब्द व्याकरणबाट बन्दैन, त्यही अर्थमा ‘पौरस्त्य’ वा ‘प्राच्य’ शब्द बन्छ । त्यसमाथि, ‘भारतवर्षको’ अर्थात् वर्तमान भारतबाट बिच्केकाको शब्दमा ‘दक्षिण एशियाको’ भन्ने अर्थमा व्याकरण नमिल्ने ‘पूर्वीय’ वा व्याकरण मिल्ने ‘पौरस्त्य’ र ‘प्राच्य’ शब्द आजभोलि चलेका छन् । तर यस अर्थमा यी शब्दको प्रयोग गर्दा चीनको सुदीर्घ परम्परालाई नजरअन्दाज गरेको हुन्छ । म भारतीय परम्पराको विद्यार्थी हुँ, तर प्राच्य परम्परामा विद्याको लामो परम्परा भएको चीन पनि पर्ने हुनाले मलाई ‘पूर्वीय परम्परा’को भन्दा अतिव्याप्तिदोष लाग्ने हुनाले यति बोल्नुपरेको हो ।
त्यस लेखअनुसार ज्ञानको भारतीय परम्परामा व्याख्या र विश्लेषणमा भन्दा याथाथ्र्यमा अर्थात् त्यस लेखको शब्दमा ‘एक्वीरेसी’मा जोड दिइन्छ भन्ने बुझिन्छ । कुनै घटनाको वर्णनमा नै याथाथ्र्य छैन भने त्यसको व्याख्या र विश्लेषण कति सही हुन्छ ?
कमलप्रकाश मल्ल र महेशराज पन्त (वि.सं. २००१ मा जन्म)को विवादको विषयवस्तुलाई लिएर ‘लामो समय त्रिभुवन विश्वविद्यालयमा इतिहास अध्यापन गरेका प्राध्यापक’ त्रिरत्न मानन्धर (वि.सं. २००२ मा जन्म)लाई त्यस लेखमा एकलो निर्णायक बनाइएको रहेछ । उनको भनाइअनुसार ‘संशोधन मण्डलको ध्यान धेरै तिथिमिति र राजा–महाराजाको नाम कुन ठीक भन्नेतिर हुन्थ्यो, ‘एक्वीरेसी’मा उहाँहरूले ध्यान दिनुभयो । त्यसैले, उहाँहरूबीच एकअर्काको काम नरूचाउने परिस्थिति थियो ।’ राजेन्द्र महर्जनले झण्डै ७ महीनाअगाडि बोलेको ‘संशोधन मण्डल र मल्लले इतिहासलाई हेर्ने दृष्टिकोण फरक भएका कारण यो मतभेद सुरू भएको थियो । ‘संशोधन मण्डलले तिथिमिति र एक्वेरेसीमा बढी जोड दिएको देखिन्छ’ महर्जन भन्छन्, ‘कमलप्रकाश मल्ल यसको विश्लेषणात्मक अध्ययनमा रूचि राख्नुहुन्थ्यो । त्यसैले यो मतभेद सिर्जना भएको जस्तो लाग्छ’ ’ भन्ने कुराकै प्रतिध्वनि त्रिरत्न मानन्धरले बोलेको कुरामा छ ।
संशोधन–मण्डल र कमलप्रकाश मल्लको बीचको मतभेद तिथिमिति र राजा–महाराजको नाउँको विषयमा होइन, प्राचीन कालमा नेपालराज्यको सीमा, मल्लकालमा नेपालखाल्डोमा नेपाली भाषाको स्थिति र वर्तमान कालमा नेपालसंवत्को राष्ट्रिय मान्यता जस्ता विषयमा हो ।
पशुपतिशमशेर जङ्गबहादुर राणा (वि.सं. १९९८ मा जन्म) र कमलप्रकाश मल्लको सम्पादनमा आर्थिक विकास तथा प्रशासनकेन्द्रबाट ‘नेपाल् इन् पर्स्पेक्टिभ्’ भन्ने पुस्तक वि.सं. २०३० मा निस्कियो । नेपालको भुवनकोष अर्थात् भूगोल, नृतŒव, इतिहास, संस्कृति, भाषा, साहित्य आदिको विषयमा ती ती विषयका विज्ञहरूद्वारा तयार गरिएको त्यस पुस्तकमा सम्पादकहरूले लेखेको ‘इन्ट्रडक्शन्’ अर्थात् ‘उपोद्घात’को एउटा पृष्ठका २ पङ्क्तिको र अरू पृष्ठका १२ पङ्क्तिको मात्र सप्रमाण खण्डन गरी लामै लेख मैले वि.सं. २०३१ मा प्रकाश गरेँ (‘नेपाल् इन् पर्स्पेक्टिभ्मा देखिएका इतिहाससम्बन्धी अशुद्धि’, ‘पूर्णिमा’ ३२ पूर्णाङ्क, २०३१, २५०–२६५ पृ.) । मेरो त्यस लेखको विषयमा त्यहाँ ‘यसमा उनले ‘नेपाल इन पस्र्पेक्टिभ्स’मा भएका लेखमा रहेका तिथिमिति र नामका त्रुटि केलाउँदै मल्ल र राणामाथि व्यङ्ग्य गरे’ भनी लेखिएकोले यस विषयमा केही लेख्नुपरेको छ ।
मेरो त्यस लेखमा तिथिमिति र नामका त्रुटिका विषयमा कतै केही लेखिएको छैन । सम्पादकहरूको ‘इन्ट्रडक्शन्’मा ‘नेपालखाल्डोमा राज्य गर्ने २९ जना किरात राजाहरूको लामो शासनको उल्लेख गोपालराजवंशावलीमा परेको छ’ (६ पृ.बाट मेरो उल्था) र ‘उनन्तीस किरात राजाहरूमध्ये पहिला राजाको रूपमा गोपालराजवंशावलीमा यलम्बरको नाउँ लेखिएको छ’ (७ पृ.बाट मेरो उल्था) लेखिएकोमा ‘गोपालराजवंशावली’का वाक्य उतारी ‘गोपालराजवंशावलीमा ३२ जना किरात राजाहरूको नाउँ उल्लेख गरिएको र एते द्वात्रिंस किरातराजा (यी बत्तीसजना किरात राजा) भनी लेखिएको स्पष्ट देखिन्छ । यस कारण गोपालराजवंशावलीमा २९ जना किरात राजाहरूको उल्लेख परेको छ भनी मल्लज्यू र राणाज्यूले लेख्नुभएको कुरा सर्वथा अप्रामाणिक ठहरिन्छ’ (‘पूर्णिमा’ ३२ पूर्णाङ्क, २५१–२५३ पृ.) भनी मैले लेखेको थिएँ ।
‘जिष्णुगुप्त (अन्दाजी ई.सं. ६४२)भन्दा अगाडिका हाल बचेका कुनै उत्कीर्ण लेखमा पनि नेपालखाल्डोका विहारहरूको बारेमा एक शब्द पनि परेको छैन । यसबाट राजवंश बौद्धमार्गी थिएन भन्ने स्पष्ट हुन्छ । ... हाँडिगाउँको अंशुवर्माको अभिलेख (ई.सं. ६३८)मा ६ वटा विहारको नाउँ किटिएको छ । ... कुरा के भने लिच्छविहरूले आपूmसँगै नेपालखाल्डोमा कट्टर किसिमको वैष्णव मत र दोस्रो तहको महत्त्व दिएर शैव मत ल्याए । ... पछि यो राजवंश नेपालमा जमिसकेपछि हिन्दू धर्मका अरू अरू सम्प्रदाय पनि लिच्छविहरूले नेपालमा ल्याएको देखिन्छ । सातौँ शताब्दीको आधाआधीभन्दा पहिल्यै शैव सम्प्रदायको केही प्रभाव जमिसकेको हुनुपर्छ । अंशुवर्माको एउटा उत्कीर्ण लेख (साँगाको ई.सं. ६३६ को)मा पशुपतिभट्टारकपादानुगृहीतो (भगवान् पशुपतिको पाउको कृपापात्र) यस किसिमको प्रशस्ति लेखिएको छ ।’ (‘नेपाल् इन् पर्स्पेक्टिभ्’, ७–८ पृ.बाट मेरो उल्था) भन्ने सम्पादकहरूको यस लेखाइको खण्डनमा ‘पूर्णिमा’का १२ पृष्ठ खर्च गरेको थिएँ (३२ पूर्णाङ्क, २५४–२६५ पृ.) ।
वि.सं. २०३८ मा मैले नेपालसंवत्को राष्ट्रिय मान्यताको अनौचित्यको विषयमा अखबारमा केही लेख प्रकाशन गरेको थिएँ । पछि ती लेखको संग्रह पनि छापियो (‘नेपालसंवत्को राष्ट्रिय मान्यताको अनौचित्य’, संशोधन–मण्डल, काठमाडौँ, २०३९) । कमलप्रकाश मल्लका भाइ मल्ल के सुन्दर (वि.सं. २००५ मा जन्म)को सम्पादकत्वमा निस्कने साप्ताहिक पत्रिका ‘इनाप’को गाइजात्रे अङ्क (२०४०।५।८।४)मा सरकारबाट चार हजार रुपैयाँ खाई मैले नेपालसंवत्को विरोध गरेँ भनी छापियो । नयराज पन्तहरूको ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’ (जगदम्बा–प्रकाशन, ललितपुर, २०२८, १२१५–१२१६ पृ.)लाई मेअरी शेप्अर्ड स्लसरले ‘ई.सं. १७६९ पछिको नेपालको इतिहासमा विशिष्ट महत्त्व भएको अवदान’ (‘नेपाल् मण्डल’, ७८ पृ.बाट मेरो उल्था) भनी लेखेकोमा कमलप्रकाश मल्लले आपत्ति जनाउँदै लेखेको कुराको खण्डन गर्ने प्रसंगमा मैले ‘इनाप’मा मेरो विरोधमा लेखिएको कुराको पनि चर्चा गरेको थिएँ (‘के श्री ५ पृथ्वीनारायण शाहको उपदेश संशोधन–मण्डलको विद्वताको अनुपयुक्त नमूना हो त ?’, ‘पूर्णिमा’ ५८ पूर्णाङ्क, २०४०, २०–२२ पृ.) । नेपालसंवत्को राष्ट्रिय मान्यताको पक्षमा याक्टिभिस्टको रूपमा मल्ल के. सुन्दर मात्र नलागी उनका दाजु बौद्धिक रूपले अझ उग्र रूपले लागेकाले नेपालसंवत्को प्रसंगमा मैले कमलप्रकाश मल्ललाई पनि मुछेकोमा ती निर्णायकले ‘ ‘इनाप’का सम्पादक प्राध्यापक मल्लका भाइ मल्ल के. सुन्दर थिए । यसमा कमलप्रकाश मल्ल आपैंm संलग्न थिएनन्’ भनी लेख्नुको अर्थ के हो ?
पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१)को उपदेश उनकै पालाको होइन भन्ने कुराको सूत्रपात मलाई थाहा भएसम्म ‘अ लेट् म्यान्युस्क्रिप्ट्’ अर्थात् ‘पछिको लेखोट पुस्तक’ भनी वि.सं. २०४० मा कमलप्रकाश मल्लले गरेका हुन् (‘द लिमिट्स् अप्m सर्फेस् आर्कीअल्अजि’, ‘कन्ट्रिब्युशन्ज् टु नेपालीज् स्टड्इज्’ ११ ठेली १ अङ्क, १३२ पृ.) । कमलप्रकाश मल्लको यस वाक्यांशबाट मूल पुस्तक होइन कि सारिएको पुस्तक पछिल्लो कालको भन्ने आए पनि यसको विवक्षित अर्थ के हो भनी मैले साढे ३३ वर्षअगाडि नै यो कुरा स्पष्ट पार्न उनलाई आग्रह गरेको थिएँ (‘पूर्णिमा’ ५८ पूर्णाङ्क, २५ पृ.) । तर मूल पुस्तक होइन कि त्यस उपदेशको विषयवस्तु नै पछिल्लो कालको हो भनी कमलप्रकाश मल्लको वाक्यको अर्थ लगाउने परम्परा चल्दै आएको छ । ‘दिव्योपदेश कसले रचेका हुन् र यो कहिले रचिएको हो भन्ने कुरामा विवाद छ । आफ्नो राष्ट्रिय कार्यसूची अघि बढाउनको लागि दिवंगत राजा महेन्द्रले यसलाई खोतलखातल गरेर निकालेका थिए भन्ने दाबी केही मानिसले गरेका छन् । यस दाबीको पक्षमा चित्त बुझ्ने खालको प्रमाण छैन’ (योगेश राज, ‘एक्स्पिडिशन् टु नेपाल् भ्याल्इः द जर्नल् अप्m क्याप्टिन् किन्लक्’, जगदम्बा–प्रकाशन, ललितपुर, ई.सं. २०१२, १९–२० पृ. बाट मेरो उल्था) भन्ने लेखाइलाई त्यस परम्पराको पक्षमा औँल्याउन सकिन्छ । राजा महेन्द्र
(वि.सं. १९७७–२०२८, राज्यकाल वि.सं. २०११–२०२८)को पालामा पृथ्वीनारायण शाहको उपदेश खोतलखातल गरेर निकालिएको भन्ने कुरा नपत्याउँदा नपत्याउँदै पनि राजा महेन्द्रका बाबु राजा त्रिभुवन (वि.सं. १९६३–२०११, राज्यकाल वि.सं. १९६८–२०११)कै पालामा वि.सं. १९९२ मै सूर्यविक्रम ज्ञवाली (वि.सं. १९५५–२०४२)ले यस उपदेशको उपयोग आफ्नो ‘पृथ्वीनारायण शाह’ (नेपाली साहित्यसम्मेलन, दार्जिलिङ)मा गरेको कुरा माथि उद्धरण गरिएको वाक्य लेख्नेले कसरी बिर्से, आश्चर्य लाग्छ । माथि उद्धरण गरिएको वाक्यभन्दा निकै अगाडि बढी अर्का लालबुझक्कड यस्तो लेख्न पुग्छन्– ‘इतिहासका अध्येता योगेश राजका अनुसार यो ‘दिव्योपदेश’का ‘लेखक र प्रवचनको समय विवादास्पद रहेको छ ।’ उनले ‘द जर्नल अफ क्याप्टेन किनलक’को पादटिप्पणीको रूपमा उक्त कुरा लेखेका हुन् । त्यसो त केही मानिसले उपदेशको पाठ राजा महेन्द्रले आफ्नो राष्ट्रवादी एजेन्डालाई अगाडि बढाउन ‘उत्खनन’ गरी पत्ता लगाएको दाबीसमेत गरेका छन् । तर योगेश राजको मत छ, त्यस्तो दाबीमा कुनै विश्वसनीय प्रमाण फेला परेको छैन । काठमाडौंको केलटोलमा फेला पारिएको बताइने उपदेश वास्तवमा कसरी लेखियो, तिनका पुराना पाठ के–कस्तो थियो, त्यसलाई सक्कली पाठको रूपमा डेढ सय वर्षसम्म कसरी सुरक्षित राखियो भन्ने प्रश्नमा सन्देहको कमी छैन, पाठमा संशोधन भएको हुनसक्ने गुञ्जायस त छँदैछ’ (राजेन्द्र महर्जन, ‘दिव्योपदेश र हेगियोग्राफी’, ‘कान्तिपुर’, २०७०।९।२५।५, ७ पृ.) ।
अब बाँकी रह्यो यो उपदेश कहिले लिपिबद्ध भयो भन्ने कुरा । ‘यो टिपोटमा श्री ५ पृथ्वीनारायण शाहलाई बुढा महाराज भनी सम्बोधन गरिएकाले यो टिपोट अवश्य पनि श्री ५ रणबहादुर शाहको शासनकालमा भएको हुनुपर्छ । पहिलो टिपोट कहाँ छ ? यो अझै पनि शोधको विषय भएको छ भन्ने मलाई लागेको छ’ (बलरामदास डंगोल, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको स्वर्णमय दिव्य उपदेश’, ‘अभिलेख’ ३ अङ्क, २०४२, १०१ पृ.) भनी राष्ट्रिय अभिलेखालयको मुखपत्रमा त्यस अभिलेखालयका प्रधानअनुसन्धानअधिकारीले लेखेका छन् । ‘इतिहासकार एवं वर्तमानमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति त्रिरत्न मानन्धरले वि.सं. २०७० पुस २४ गते नेपाल र एसियाली अनुसन्धान केन्द्र, कीर्तिपुरमा आयोजित विचार गोष्ठीमा बताएअनुसार योगी नरहरिनाथ र इतिहास शिरोमणि बाबुराम आचार्यबाट प्रकाशित प्रति अन्य प्रचलित कागजहरूबाट वि.सं. १८५८ तिर साफी गरिएको प्रति हो’ भनी ‘कान्तिपुर’ दैनिकमा ‘पाठक मञ्च’मा छापिएको पत्रमा लेखिएको छ (सुशीलकुमार गौतम, ‘दिव्योपदेशप्रतिको दृष्टिकोण’, २०७०।९।२८।१, ६ पृ.) । यताबाट दुवै थरीको विचारमा उपदेशको जुन पुस्तक पाइएको छ, त्यो टेक्स्ट्युअल क्रिटिसिज्मको भाषामा अटोग्राफ अर्थात् मूल प्रति त हुँदै होइन, उपदेशको विषयवस्तु पनि तत्कालै लेखिएको पनि होइन ।
त्यस उपदेशको उठानमा पृथ्वीनारायण शाहलाई ‘बुढा महाराजा’ भनी चिनाइएकोले रणबहादुर शाह (वि.सं. १८३२–१८६३, राज्यकाल वि.सं. १८३४–१८५५)को पालामा यो टिपोट भएको हुनुपर्छ भन्ने अभिलेखालयको जिकिर छ । रणबहादुर शाह वि.सं. १८३४ देखि १८५५ सम्म गद्दीमा बसेका र पछि वि.सं. १८६० मा बनारसबाट फर्केपछि उनले फेरि राज्यको बागडोर वि.सं. १८६३ मा नमारिएसम्म आफ्नो हातमा लिएकाले यति समयलाई अभिलेखालयले उनको शासनकाल भन्ने शब्दले बुझाएको हुनुपर्छ । उता अर्को विचारअनुसार वि.सं. १८५८ तिर साफी गरिएको प्रति यो हो भन्ने भएकोले रणबहादुर बनारसमै भएको वेलामा यो प्रति तयार भएको बुझिन्छ । अहिले भएको प्रति मूल प्रति हो वा साफी गरिएको प्रति हो भन्ने निर्णय गर्नुभन्दा जरूरी त मूल कहिले लिपिबद्ध भयो भन्नेतर्फ विचार गर्नुपर्छ ।
‘बुढा महाराजा’ भन्ने शब्दले यहाँ पृथ्वीनारायण शाहलाई नै चिनाइएको हो भन्ने विषयमा नयराज पन्तहरूले लेखेको कुरा यस प्रसंगमा उल्लेखनीय छ (‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’, जगदम्बा–प्रकाशन, ललितपुर, २०२८, १२१५–१२१६ पृ.) । आफ्नो ‘रघुवंश’ (८।२२)मा कालिदासले राज्य छोडी बसेका राजा रघुलाई ‘नवेतर’ अर्थात् नयाँभन्दा फरक, पुराना’ भन्ने शब्दले र उनका उत्तराधिकारी, गद्दीनशीन छोरा राजा अजलाई चाहिँ ‘नव प्रभु’ अर्थात् ‘नयाँ राजा’ भन्ने शब्दले बुझाइएको छ । राज्यच्युत, ३४ वर्षका राजा राजेन्द्र (वि.सं. १८७०–१९३८, राज्यकाल वि.सं. १८७३–१९०४)लाई वि.सं. १९०४ मा ‘श्री ५ बुढा महाराजा’ भनी तात्कालिक सरकारी पत्रमा लेखिएकोले लगत्तैका भूतपूर्व राजालाई ‘बुढा महाराजा’ भन्ने चलन चलेको देखिन्छ । यसैले पृथ्वीनारायण शाहको मृत्युपछि लिपिबद्ध उपदेशमा भूतपूर्व राजालाई बुझाउन ‘बुढा महाराजा’ शब्दको प्रयोग भएको देखिन्छ भन्ने निष्कर्ष छ । यस कारण छोरा प्रतापसिंह शाह (वि.सं. १८०६–१८३४, राज्यकाल वि.सं. १८३१–१८३४)कै पालामा पृथ्वीनारायण शाह ‘बुढा महाराजा’ भइसकेकाले त्यही समयमा यो उपदेश लिपिबद्ध भयो भनी मान्नमा के आपत्ति ?

(नोट : यस आलेखमा प्रयुक्त भाषा, शब्द र शुद्धाशुद्धि सम्पादन गरिएको छैन । यो लेखकको निजी विचार हो, यसले नागरिक दैनिकको सम्पादकीय नीतिलाई प्रतिनिधित्व गर्दैन ।)

 





 


यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

नेपाली सहित करिब तीन सय मार्केटिङ कम्पनीहरुको सहभागिता रहेको ‘फ्लेम अवार्ड एसिया २०१९’ मुम्बईको शान्ताक्रुज होटेलमा हुने भएको छ ।

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। ...

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (NATTA ) र नेपाल क्लियरिङ्ग हाउस (NCHL) बीच NATTA का सदस्य ट्राभल एजेन्टहरु...