८ वैशाख २०८१ शनिबार
राजनीति

दुई राप्रपाबीच विवाद उत्कर्षमा

काठमाडौं- केन्द्रीय कमिटी बैठकबाटै पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति जुटाइसकेका राप्रपा नेपाल र राप्रपाबीच विवाद उत्कर्षमा पुगेको छ। विवादकै कारण दुवै दलबीच एकीकरण सम्भावना क्षीण हँुदै गएको छ।

राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणाले राप्रपा नेपाल गणतन्त्रात्मक हिन्दू राष्ट्रको नीतिमा आए मात्र एकता हुने बताएका थिए। अध्यक्ष राणाको सो अभिव्यक्तिपछि दुवै पार्टीबीच विवाद छताछुल्ल भएको हो।

राप्रपा नेपाल बिहीबारै विज्ञप्ति निकालेर राणाको अभिव्यक्ति खण्डन गरेको छ। 'राप्रपा नेपालले सिद्धान्त परित्याग गरी पार्टी एकता गर्ने विषय परिकल्पनाबाहिरको हो,' सहायक प्रवक्ता मोहन श्रेष्ठले भने, 'अन्त्यन्त कठिन समयमा समेत गर्वसाथ बोकेको विचार परित्याग गर्नुपर्ने आवश्यकता नै छैन।'

कार्यक्रममा राप्रपा अध्यक्ष राणाले हिन्दु गणतन्त्र मानेर जाने, बाँकी विषय महाधिवेशनबाट टुंग्याउने सहमति भएको बताए। उनले पार्टीको चुनावचिह्न हलो हुने विश्वास दर्साएका थिए।

राप्रपा नेपालले भने गाई नै चुनावचिह्न बनाउनुपर्ने पक्षमा रहेको जनाएको छ। कार्यक्रममा राणाले आफू पार्टीको राष्ट्रिय अध्यक्ष र थापा कार्यकारी अध्यक्ष हुने गरी सहमति भएको बताएका थिए।

राणाले पार्टी एकीकरणपछि सरकारमा जाने बताए पनि राप्रपा नेपालले भने निर्णय भइनसकेको जनाएको छ। राणाको अभिव्यक्ति गैरजिम्मेवार रहेको उसको ठहर छ। 'सरकारमा जाने वा नजाने विषयमा पार्टीले कुनै निर्णय गरेको छैन,' श्रेष्ठले भने, 'दुवै केन्द्रीय समिति बैठकले अनुमोदनसमेत गरिसकेको अवस्थामा यस्तो गैरजिम्मेवार अभिव्यक्तिले पार्टी एकताको वातावरण बिगार्ने र एकता नचाहने शक्तिलाई बल पुग्नेतर्फ सचेत रहन आग्रह गर्छौं।' केपी ओली नेतृत्व सरकारबाट अन्तिम समयमा राप्रपा बाहिरिएको थियो भने राप्रपा नेपालले अन्तिम समयसम्मै साथ दिइरहेको छ।

 नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा राप्रपा सहभागी हुने तयारीमा छ भने राप्रपा नेपालको मंगलबार–बुधबार चलेको केन्द्रीय कार्यसमिति बैठकमा अधिकांश सदस्यले प्रतिपक्षमा बस्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा राप्रपा अध्यक्ष राणाले 'स्वाभाविक रूपमा ओलीजीका विरुद्ध उभिएकाले अब प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्छौं' भनेका छन्।

राप्रपा नेपालले एकीकरणका लागि आइतबारसम्मको म्याद तोकेको छ। उक्त दिनभित्र एकीकरण नभए परिस्थिति अर्कै हुन सक्ने उसको चेतावनी छ।

प्रकाशित: १४ श्रावण २०७३ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App