८ वैशाख २०८१ शनिबार
कला

कामसँगै नाम

धादिङकी दिविसा बस्यालले राजधानी काठमाडौंमा बसेर ब्युटिपार्लर चलाएकै दुई वर्ष भयो । सधैँ अरुलाई सुन्दर बनाएर सिँगार्ने उनी गत साता भने आफैँ सिँगारिएर ¥याम्पमा उत्रिन् । यसरी आफैँ सिँगारिएर सार्वजनिक हुनु उनका लागि जीवनकै नौलो अनुभव बन्यो । चमकधमकसहितको ¥याम्प अनि चारैतिर धेरै मान्छेको हुटिङले उनीमा नयाँ उत्साह भरियो । सानो पार्लरभित्र आउने केही ग्राहकसँग गरेका कुराकानीभन्दा फरक माहोलमा उनी पहिलोपटक सहभागी भएकी थिइन् ।
पत्रिकामा सूचना देखेपछि एकपटक प्रयास गरौँ न त भनेर उनी ब्युटिसियन डिभा २०१७ को प्रतिस्पर्धामा सामेल भएकी थिइन् । व्यवस्थापनमा स्नातक सकेकी उनी आफ्नो कामसँगै समाजमा परिचय बनाउने चाहना राख्छिन् । अनि आफूजस्तै युवतीलाई अगाडि बढाउन चाहन्छिन् । प्रतिस्पर्धामा फस्र्ट रनरअप बनेपछि उनको त्यो सपना पनि पूरा भएको छ । ‘पहिले त पार्लर आउनेले मात्र चिन्दथे, तर अहिले कति ठाउँबाट फोन आउन थालिसक्यो,’ उनले भनिन्, ‘फोनमै फिल्म खेल्ने अफर पनि आउन थालेको छ । ’
राजधानीमा पढ्दापढ्दै सिकेको पार्लरको सामान्य ज्ञानलाई नै उनले पेसामा रूपान्तरण गरिन् । जागिर खोज्न दशतिर धाउनुभन्दा आफैँले केही गर्नुपर्छ भन्ने ऊर्जाले उनले काठमाडौं मलमा वल्र्ड अफ हेयर पार्लर सञ्चालन गरिन् ।
यसले उनको गुजारा मात्र चलेन, नयाँ बाटो समेत खोलिदियो । ब्युटिपार्लरसम्बन्धी ज्ञान भएकालाई सहभागी गराएर सञ्चालित ब्युटिसियन डिभाले उनको व्यक्तित्व विकासमा सघाउ पुगेको छ । ‘नयाँ प्रविधिका कुरा सिक्ने मौका पाएँ, अनि जानेका कुरा सिकाउन पनि पाएँ,’ उनले थपिन्, ‘छरिएर बसेका धेरै मजस्तै ब्युटिसियनसँग भेट हुने अवसर पनि मिल्यो ।’ फोटोजेनिक अनुहारकी उनलाई हिरोइन बन्नेभन्दा पनि व्यावसायिक ब्युटिसियन बनेर नाम कमाउने धोको छ । यसअघि पनि उनले नायिका करिश्मा मानन्धर, मरिष्का पोखरेल लगायतलाई शृंगार गरिसकेकी छन् ।
युवतीको सुन्दरतासँगै क्षमता उजागरका लागि टिन प्रिन्सेस डिभा र ब्युटिसियनका लागि ब्युटिसिएन डिभा २०१७ को प्रतिस्पर्धा राजधानीमा गत साता भएको थियो ।
चौथो संस्करणको ब्युटिसिएन डिभाको ताज रञ्जिता केसीले पहिरिइन् । उनी पनि ब्युटसियन पेसामै आबद्ध छन् । क्षमता विकाससँगै प्रतिस्पर्धाले मानिससँग घुलमिल हुने वातावरण दिएको उनले उल्लेख गरिन् ।
सेकेन्ड रनरअपको ताज भने सुष्मा प्रधानले हात पारिन् । ब्युटिसिएन डिभाको उपाधि जित्नेले क्राउनसहित ५० हजार, फस्र्ट रनरअपले ३० र सेकेन्ड रनरअपले २० हजार रुपैयाँ बराबरको पुरस्कार हात पारे ।
त्यस्तै, विजेताले छात्रवृत्ति समेत पाएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका डाइरेक्टर राज फैंजुले बताए । मिस ब्युटिसिएन डिभामा १३ प्रतिस्पर्धी थिए ।
त्यस्तै, दोस्रो सोही दिन भएको टिन प्रिन्सेस डिभा २०१७ को ताज प्रनिता प्रधानले हात पारेकी छन् । प्लस टु अध्ययन गरिरहेकी प्रनिता प्रतियोगिताले आफूलाई नयाँ ऊर्जा मिलेको सुनाउँछिन् । अझ राम्रो पढ्नुपर्ने रैछ, अनि धेरै कुरा सिक्नुपर्ने रैछ भन्ने ज्ञान प्रतियोगिताका क्रममा सिकेको अनुभव उनले सुनाइन् ।
त्यस्तै, एलिजा ओली फस्र्ट रनरअप बनेकी छन् भने सेकेन्ड रनरअपको ताज रोशिका शाक्यले उचालेकी छन् । टिन प्रिन्सेसका लागि १५ टिनएजरले प्रतिस्पर्धा गरेका थिए ।
टिन प्रिन्सेस डिभाका विजेताले २५ र २५ हजार रुपैयाँ बराबरको क्राउनसहित पुरस्कार प्राप्त गरे । त्यस्तै, उनीहरूलाई विज्ञापन खेल्ने अवसर, अस्ट्रेलियाका लागि छात्रवृत्ति लगायतको सुविधा पनि प्रदान गरिएको थियो । दुवै प्रतियोगिताको विजेतालाई रेडियन्टकी कार्यकारी निर्देशक श्रीषा बैदार फैंजुले उपहार तथा छात्रवृत्ति प्रदान गरेकी थिइन् । प्रतियोगिता कार्यक्रमको कोरियाग्राफी राज फैंजुले गरेका थिए भने एनी तन्डुकारले डे«स डिजाइनिङ गरेकी थिइन् । प्रतियोगितामा सहभागीले गायकी, नृत्य, अभिनय लगायत आफ्ना प्रतिभा प्रस्फुटन गरे ।
यस प्रकारको प्रतिस्पर्धाले बढ्दो उमेरका युवतीमा आत्मविश्वास बढाउने र सामाजिक वातावरणमा बाँच्न सिकाउने कार्यकारी निर्देशक श्रीषा फैंजु बताउँछिन् ।

प्रकाशित: ३१ भाद्र २०७४ ०३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App