काठमाडौं- असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनमा राजनीतिक दलले व्यापक रुपमा आचारसंहिता उल्लंघन गरेको निर्वाचन पर्यवेक्षक संस्थाले जनाएका छन् ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (संकल्प) ले स्थानीय तहका अघिल्ला दुई चुनावको तुलनामा तेस्रो चरणको चुनावमा आचारसंहिता उल्लंघन बढी भएको जनाएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै यी संस्थाले तीन चरणमा निर्वाचन गर्दा बढी आचारसंहिता उल्लंघन भएको जनाए । अहिले २ नम्बर प्रदेशमा सबै दलबाट आआफ्नो पक्षमा मत पार्न सबै शक्ति प्रयोय गरिरहेको पर्यवेक्षक तीन संस्थाको ठहर छ ।
आचारसंहिता पालना गर्न दलहरूले अटेर गरेपछि निर्वाचन अयोगले पनि कडाइ गर्न छाडेको छ । नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले निर्वाचन आयोग सरकारको लाचार छायाका रुपमा रहन पुगेको बताए । निर्वाचनमा बालबालिकाको व्यापक प्रयोग भएको पनि तीन संस्थाले जनाएका छन् । विगतभन्दा यसपटकको निर्वाचन अभियान ज्यादै भड्किलो एवं खर्चिलो देखिएको उनीहरुको ठहर छ ।
जियोकका अध्यक्ष हिमालयशमशेर जबराले भने, ‘मसल (बल) को प्रयोग कम हुँदै गयो, मनी (पैसा) को प्रयोग बढी हुँदै गयो ।’
नियोकका महासचिव डा. गोपाल सिवाकोटीले भने, ‘अब गरिब नेता भए पनि समस्या पर्ने भयो, गरिब जनता भए पनि समस्या पर्ने भयो । इँटा र ढुंगाको सट्टा पैसालै कसरी कुटिँदैछ भन्ने कुरा २ नम्बर प्रदेशको निर्वाचनमा प्रस्ट देखिएको छ ।’ यस्तै हो भने अब गरीब नेता चुनाव लड्न नसक्ने उनको भनाइ थियो । ‘निर्णायक भोट गरिब जनताकै हुने भएकाले हरेक दलले पैसा देखाएर कसम खुवाउने कार्यले अत्तालिने अवस्था आएको छ’, उनले भने ।
निर्वाचन शिक्षा पनि प्रभावकारी नहुँदा बदर मत बढी नै हुने सम्भावना रहेको उनीहरुको ठहर छ ।
प्रदेश नम्बर २ का ८ जिल्लाका एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालकिा, ५९ गाउँपालिकाका कुल एक हजार २ सय ७१ वडामा निर्वाचन असोज २ गते मतदान हुँदैछ । कुल मतदाता २६ लाख ६४ हजार ९ सय ५० छन् । उनीहरुका लागि ३ हजार ५ सय ७७ मतदान केन्द्र र २ हजार १ सय ६६ मतदान स्थल तोकिएका छन् ।
प्रकाशित: ३१ भाद्र २०७४ ०२:५४ शनिबार