coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

वीरगन्ज महानगरमा दलहरुको अन्तिम जोडबल

वीरगन्ज- वीरगन्ज महानगरमा स्थानीय तह निर्वाचनको परिणाम आफ्नो उम्मेदवारहरुको पक्षमा पार्न राजनीतिक दलहरुले मौनअवधी सुरु हुन अगाडीको अन्तिम दिन शुक्रवार अन्तिम जोडबल बढाएका छन्। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, एमाले नेता बामदेव गौतम, राष्ट्रिय जनता पार्टीका एक अध्यक्ष शरदसिंह भण्डारी लगायत नेताहरु पर्सामा ओइरिएका छन्।

उनीहरु आ–आफ्ना उम्मेदवारको पक्षमा बेग्लाबेग्लै सभाहरुमा आ–आफ्ना दावी र बाचाहरु गरेका छन्। अन्तिम चुनावी सभामा नेताहरुको भाषण विकासका दावीहरुमा मात्र सिमित नभएर मधेस फकाउनेतिर केन्द्रीत भएको छ। शुक्रवार दिउँसो प्रधानमन्त्री देउवाले नेपाली काँग्रेस पर्साले वीरगन्जमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै आफ्नो पार्टी सधैदेखी मधेसी लगायतको अधिकारको पक्षमा रहीआएको दावी गरे। ‘हामीले मधेसका जनताको भावनालाई कदर गर्दै संविधानमा केही सुधार गरौं भनेर प्रयास गर्यौ, मधेसी जनतालाई अधिकार दिउँ भनेर संशोधन प्रस्ताव संसदमा लग्यौं,’ देउवाले भने, ‘तर एमालेले एमालेले भोट हालि दिएन र संसोधन प्रस्ताव पारित हुन सकेन ।’ उनले मधेसको पक्षधर को हो र मधेसलाई अधिकार दिन नचाह्ने को हो ? भन्ने फरक छुट्याउन आग्रह गरे।

मधेसवादी भनिएका दलहरु आफै आपसमा मिल्न नसकेको उनले बताए। नेपाली काँग्रेस पर्साका सभापति वीरगन्ज हानगरपालिकाका मेयर उम्मेदवार अजय द्विवेदी समेतका काँग्रेस उम्मेदवारलाई जिताउनु पर्ने अह्वान गर्नेमा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोईराला, पूर्व उप प्रधानमन्त्री विमलेन्द्र निधी, लगायत थिए । माओवादी केन्द्रका अध्यक्ष दहालले कुर्ता गम्छा लगाएर वीरगन्जको माइस्थानमा आयोजित सभालाई सम्बोधन गर्दै अब वीरगन्जको बिकास आफ्नै पार्टीको नेतृत्वमा सम्भव हुने बताएका छन् । दिउसो उनले पोखरिया नगरपालिकामा आयोजित सभालाई सम्बोधन गरेका थिए । देशकै आर्थिक स्रोतको नगर नै विकासमा पछाडी रहनु पछाडी यहाँबाट प्रतिनिधित्व गर्ने राजनीतिक नेतृत्व चुकेको हो भन्ने उनको ठहर थियो । एमाले नेता बामदव गौतमले पर्सागढी नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै आफ्नो पार्टीको नेतृत्वमा नै देश र तराई मधेसको विकास सम्भव भएको दावी गरे ।

यसअघि बिहीवार राति वीरगन्जको बगहीमा रात्रिसभालाई सम्बोधन गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय विकासका लागि स्थानीय सरकारको नेतृत्व फेरम नेपालले गर्ने दावी गरे। उनले वीरगन्ज महानगरमा फोरम नेपालका उम्मेदवार विजय सरावगीको जित हुन गइरहेको दावी गर्दै काँग्रेस, एमाले र माओवादी जस्ता हार्नु र फोरम जित्नु भनेको मधेसको जितको रुपमा बुझ्नु पर्ने बताए। शुक्रवार बिहान रेशमकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै राजपा अध्यक्ष मण्डलका शरदसिंह भण्डारीले मधेस मुद्दाको सम्मानका लागि र विकासका लागि स्थानीय सरकारमा राजपाको जित हुनु पर्ने तर्क गरे। सबै दल र उम्मेदवारहरु निर्वाचनमा सफलताका लागि अन्तिम कसरतमा जुटेका छन्।

 

प्रकाशित: ३० भाद्र २०७४ १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App