८ वैशाख २०८१ शनिबार
समाज

खोटाङमा आवधिक नगर विकास योजना निर्माण सुरु

खोटाङ– खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक नगर विकास योजना निर्माण प्रकृया सुरु गरिएको छ । नगरलाई आधुनिकीकरण गर्दै देशकै नमूना र गन्तव्य नगर बनाउने लक्ष्यकासाथ रुपाकोट मझुवागढी नगरपालिकाको दीर्घकालिन र अल्पकालिन आवधिक योजना निर्माण प्रकृया सुरु गरिएको हो ।

स्थानीय विकास मन्त्रालयले मुलुकका ९० वटा नगरको आवधिक नगर विकास योजना निर्माण गर्ने र कार्यान्वयन गर्ने योजना अनुशार मुलुकमै पहिलोपल्ट रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक नगर विकास योजना निर्माण प्रकृया थालिएको हो । आवधिक नगर विकास योजना निर्माणका लागि भदौ २२ गतेदेखि परामर्श एबं वेसलाईन सर्भेका काम थालिएको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए । 

रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक नगर विकास योजना निर्माण र कार्यान्वयन सम्बन्धी मोडललाई स्थानीय विकास मन्त्रालयले मुलुकका अन्य नगरपालिकामा ‘रेफ्लीक्यान्ट’ गर्नेगरी आवधिक योजना निर्माण सुरु गरेको हो । ‘आवधिक योजना बनाउने हाम्रो नगरपालिका देशकै पहिलो भएको छ,’ मेयर रिजालले भने, ‘यही नगरपालिकाको सिकाई, अनुभव र उपलब्धीका आधारमा स्थानीय विकास मन्त्रालयले अन्य नगरपालिकामा योजना निर्माण गर्ने र आधुनिकीकरणका काम गर्ने लक्ष्य छ ।’ प्रत्येक वडास्तर, जिल्ला स्तर, काठमाडौंमा वसिरहेका बुद्धिजिवी लगायतसँग छलफल र परामर्शका आधारमा आवधिक नगर विकास योजनालाई टुंगो लगाइने नगरपालिकाले जनाएको छ । 

स्थानीय तहमा जनप्रतिनिधि चुनिएलगत्तै नगरपालिकाले स्वीस सरकारको सहयोगमा आवधिक नगर विकास योजना निर्माण सुरु गरेको हो। दीर्घकालिन र अल्पकालिन आवधिक योजना अनुसार नगरपालिकामा बढीमा ६ वटा योजनालाई प्राथमिकीकरण गर्दै मास्टर प्लान बनाइने नगरपालिकाले जनाएको छ । मास्टर प्लान बनाउनका लागि सहरी विकास मन्त्रालयले सहयोग गर्ने मेयर रिजालले बताए ।

रुपाकोट मझुवागढी नगरपालिकालाई नेपालकै नमूना र गन्तव्य शहर बनाउनका लागि आवश्यकता र महत्वका आधारमा २ अर्वसम्मको विभिन्न आयोजना छनौट गरिने नगरपालिकाले जनाएको छ । आवधिक नगर विकास योजना निर्माणका लागि शहरी विकास मन्त्रालय र स्वीस सरकारले कन्सल्टेन्सी ‘हायर’ गर्ने जनाइएको छ । स्थानीय विकास मन्त्रालयले देशमा ९० वटा आधुनिक शहर विकास गर्ने योजनालाई रुपाकोट मझुवागढी नगरपालिकाबाट कार्यान्वयन सुरु गरेको हो । आवधिक नगर विकास योजना निर्माणका लागि एसडिसीका दीपक एलमर नेतृत्वको ७ सदस्यीय टोली दिक्तेल आएर प्रारम्भिक छलफलपछि फर्किएको छ । 

प्रकाशित: ३० भाद्र २०७४ ११:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App