coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेले देशमा द्वन्द्व फैलाउने काम गर्‍यो : प्रधानमन्त्री देउवा

बारा- प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेले मुलुकमा द्वन्द्व फैलाउन काम गरिरहेको आरोप लगाएका छन्।

नेपाली कांग्रेस बाराले कलैयामा आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पहाड र मधेसबीचको दुरी बढाउन एमाले लागेको आरोप लगाए।

देउवाले कम्युनिस्टहरु बहुदलवादी बन्नै नसक्ने भएकोले मधेसी समुदाय उनीहरु तर्फ  लाग्न नहुने सुझाव दिए।

मधेसमा बसोबास गर्ने मधेसी, आदिवासी जनजाती, अल्पसंख्यक, दलित लगायतका समुदायलाई अधिकारबाट बंचित गराउनको लागि एमालेले आफ्नो सम्पूर्ण शक्ति परिचालन गरेको उनले बताए।

एमाले मधेस विरोधी रहेकै कारण प्रधानमन्त्री देउवाले मधेसी समुदायले अहिले मतदान मार्फत काँग्रेसलाई विजयी गराई एमालेलाई पाठ सिकाउनु पर्ने तर्क गरे।

मधेसवादी दलहरु एमालेकै बाटोमा लागेर मधेस र पहाडबीच द्वन्द्व फैलाउने कार्यमा सहयोग गरेको आरोप देउवाको छ।

देउवाले असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचन र मंसिरमा हुने निर्वाचनबाट कांग्रेसले बहुमत ल्याएर संविधान संशोधन गरेर मधेसलाई अधिकार सम्पन्न गराउने आश्वासन दिए। मधेसलाई अधिकार सम्पन्न बनाउने एकमात्र पार्टी नेपाली कांग्रेस भएको बताउँदै प्रधानमन्त्री देउवाले मधेसले अधिकार नपाएसम्म नेपाली कांग्रेस विश्राम नलिने बताए।

कार्यक्रममा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भोट लिने बेलामा एमाले र मधेसवादी दल अहिले मधेसी समुदायको हक अधिकारको लागि लड्ने झूठो आश्वासन दिइरहेको र त्यो आश्वासनमा नलाग्न आग्रह गरे।

पौडेलले २००७ साल देखि देशको प्रत्येक सत्ता परिवर्तनको लागि गरिँदै आएको आन्दोलनमा मधेस र मधेसी समुदायको ठूलो भूमिका रहेकोले एमालेले त्यो भूमिका विर्सेर मधेसीलाई अपमान गर्ने काम मात्र गरेको आरोप लगाए।

कार्यक्रममा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले मधेसवादी दल र एमालेले जहिले पनि मधेसी स्वाभिमानलाई गिराउने कार्य गरेकोले ती पार्टीहरुमाथि विश्वास नगर्न आग्रह गरे।

प्रकाशित: ३० भाद्र २०७४ ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App