coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कर्मचारी अझै पुगेनन् मतदान केन्द्रमा

नियुक्ति र पारिश्रमिक बुझ्न लाइनमा बसेका कर्मचारीहरू । तस्बिर : मदन ठाकुर

रौतहट – रौतहटका निर्वाचन आयोगका कर्मचारी अझै मतदान स्थलमा खट्न नसक्दा व्यवस्थापन भद्रगोल देखिएको छ । मतदान केन्द्रमा पुगेर शुक्रबार मतदाता परिचयपत्र वितरण गर्नुपर्ने कर्मचारीहरु निर्वाचन कार्यालयको लापरवाहीको कारण नियुक्ति र पारिश्रमिक बुझ्न बिहानदेखि लाइनमा बसेका छन् । बिहान आठबजेदेखि लाइन बसेका कर्मचारीहरुले पारिश्रमिक नपाएका कारण मतदानस्थलमा पुग्न सकेका छैनन्।

विहीबारै सम्पूर्ण कर्मचारीलाई खटाइसक्नु पर्ने कर्मचारीहरु नियुक्ति, पारिश्रमिक र निर्वाचन सामग्री बुझ्नमा लागेका छन् तर निर्वाचन कार्यालयले व्यवस्थापन गर्न नसक्दा जताततै भद्रगोल देखिएको छ । निर्वाचन कार्यालयले समयमा कर्मचारी व्यवस्थापन गर्न नसकेकोले मतदान केन्द्रमा खट्ने कर्मचारीहरु पनि अन्यौलमा परेका छन्।

निर्वाचन कार्यालयको भद्रगोल चरम देखिएको छ । निर्वाचनमा मतदान अधिकृतको रुपमा खटिएका जिल्ला पशु सेवा कार्यालय रौतहटका अधिकृत दिनानाथ यादवले यस किसिमको भद्रगोल कहिल्यै नदेखिएको बताएका छन् । निर्वाचन कर्मचारीले आफूहरुलाई पारिश्रमिकको लागि बिहान आठ बजे बोलाएको भए पनि अहिलेसम्म पारिश्रमिक नदिएको र मतदान केन्द्रमा जान नपाएको बताएका छन् । निर्वाचन कार्यालयले मतदान केन्द्रमा खट्ने कर्मचारीहरुलाई समयमा नियुक्ति नदिँदा मतदान केन्द्रमा समयमा कर्मचारीहरु खट्न सकेका छैनन्।

समयमा नियुक्ति र पारिश्रमिक नपाएका कर्मचारीहरु मतदान केन्द्रमा पुग्न नसकेपछि मतदाता परिचय पत्र वितरण प्रभावित भएको छ । केही कर्मचारीले नियुक्ति र निर्वाचन सामग्री बुझे पनि पारिश्रमिक पाउन नसक्दा बिहानदेखि जुद्ध माध्यमिक विद्यालयमा बसेका छन् । कर्मचारीहरू मतदान केन्द्रमा पुग्न नसकेपछि मतदाताहरू मतदान केन्द्र पुग्दै फर्किन थालेका छन् । जिल्लाको ४३४ मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालित भए पनि अधिकांश ठाउँमा कर्मचारी नपुगेका कारण फर्किएका छन्।

जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख राजन श्रीवास्तवले मुख्य निर्वाचन कार्यालयले समयमा नियुक्ति र पैसा दिन नसकेकोले व्यवस्थापनमा केही असहजपना देखिएको स्वीकार्छन् । विहीबारभन्दा शुक्रबार निर्वाचन सामग्री बुझ्न आउने कर्मचारीको संख्या तेब्बर भएको श्रीवास्तव बताउँछन् । अहिलेसम्म मतदान केन्द्रमा कर्मचारी पुग्न नसकेको विषयमा श्रीवास्तव केही बोल्न चाहेनन्।

रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धब बहादुर थापाले मतदानसँग सम्बन्धित सम्पूर्ण सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन् । निर्वाचनसँग जोडिएको अन्य विषय आफूसित सम्बन्धित नभएको प्रजिअ थापाको भनाइ छ।

मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालले कर्मचारी व्यवस्थापन भइरहेको र कर्मचारी मतदान केन्द्रतर्फ गइसकेको बताए । निर्वाचन कर्मचारीको पारिश्रमिक वितरण भइरहेको अधिकृत ढकाल बताउँछन् । सयौँ कर्मचारी नियुक्ति र पारिश्रमिक बुझ्न लाइनमा बसेको तर सम्बन्धित कर्मचारी नरहेको विषयमा अधिकृत ढकालले व्यवस्थापन भइरहेको बताए।

निर्वाचन आयोगका अनुगमन टोली प्रमुख वीरेन्द्र यादवले कर्मचारी व्यवस्थापनमा केही त्रुटि भएको देखिएको स्वीकार गरेका छन् । कर्मचारी व्यवस्थापनमा ढिलाई भएको विषयमा आफू अनुसन्धान गर्न आएको र केन्द्रीय निर्वाचन आयोगलाई जानकारी गराइसकिएको यादवले बताएका छन्।

प्रकाशित: ३० भाद्र २०७४ ०८:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App