८ वैशाख २०८१ शनिबार
राजनीति

जसले नेपाल सुहाउँदो चिकित्सक जन्माए

काठमाडौं- डाक्टरको उत्पादन– त्यो पनि नेपालमा! करिब चार दशकअघि यो तथ्य सुनाउँदा धेरै जसोको यस्तै जवाफ हुन्थ्यो। कतिपय त चिकित्सा विज्ञानजस्तो क्षेत्रमा संसारमा नबिक्ने जनशक्ति उत्पादन गरेर देशको बेइज्जत गर्न हुन्न भनेरसमेत लागे। स्वयं विश्व स्वास्थ्य संगठन र छिमेकी मुलुक भारतसमेत नेपाली मोडलको विपक्षमा थियो।

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का तत्कालीन डिन डा. मोइन साहले ती सबै सोचलाई चुनौती दिए र साबित गरेर देखाए, 'नेपालमा पनि देशसुहाउँदो डाक्टर तयार पार्न सकिन्छ, त्यो पनि नवीनतम अवधारणा र सिद्धान्तमा आधारित।'

तिनै स्वप्नद्रष्टा चिकित्सकको सोमबार ९२ वर्षको उमेरमा निधन भएको छ। 'उहाँले नै नेपालमा चिकित्सा शिक्षा अध्ययनको जग  बसाल्नुभएको हो,' आइओएम पहिलो ब्याचका टपरसमेत रहेका स्वास्थ्य मन्त्रालयका सहसचिव डा. बाबुराम मरासिनीले भने, 'आज चिकित्सा शिक्षामा जे–जति उपलब्धि भएको छ, त्यसको जग त्यही थियो।'

त्यतिबेला आइओएममा पढेका मध्ये डा. मरासिनीसहित चर्चित फिजिसियन डा. अर्जुन कार्की, डा. शंकरमान राईदेखि हालका स्वास्थ्यसचिव डा. सेनेन्द्रराज उप्रेतीसमेत त्यतिबेलैका उत्पादन हुन्। थुप्रै चिकित्सक हाल विदेशमा स्थापित भएर काम गरिरहेका छन्। त्यसबाहेक थुप्रै चर्चित चिकित्सक एचएचको पृष्ठभूमिबाट आएका हुन्।

संसारमा चिकित्साशास्त्रको अध्ययनसम्बन्धी चल्तीका मान्यता र अवधारणा एवं प्रवृत्तिबारे उनले गहिरो अध्ययनपछि नेपालसुहाउँदो चिकित्सा मोडल तयार पारेका थिए। त्यतिबेला पाठ्यक्रम तयार पार्नकै लागि तनहुँ, धनकुटा, बारा र सुर्खेत पुगेर स्थानीयमा भएका स्वास्थ्य समस्याबारे अध्ययन गरेर त्यसका आधारमा पाठ्यक्रमको ढाँचा निर्माण गरेका थिए। सोही आधारमा नेपालमा त्यतिबेलाका प्रमुख स्वास्थ्य समस्या आँखा, नाक, कान, घाँटी, मातृ र बालस्वास्थ्यका छुट्टाछुट्टै विषयवस्तु पाठ्यक्रममा राखिएको थियो।

आइएससी गरेका विद्यार्थी एमबिबिएस पढाउने पद्धतिलाई चुनौती दिँदै उनले मध्यमस्तरका स्वास्थ्य जनशक्ति हेल्थ असिस्टेन्ट, नर्सिङ, आयुर्वेद असिस्टेन्ट, फार्मेसी, प्रयोगशालाजस्ता विषय पढेका २२ जनालाई छानेर २०३६ सालमा पहिलो ब्याच पढाउन थालेका थिए।

त्यतिबेला पढाइ सकेर आइओएमको पहिलो ब्याच निस्किने समय आइसक्दा पनि बजारमा संस्थानमा पढेका विद्यार्थी कुनै हालतमा पनि राम्रा डाक्टर हुन सक्दैनन् भन्ने चर्चा थियो। त्यसलाई चिर्न उनले पहिलो ब्याचका विद्यार्थीको गुणस्तर प्रमाणित गर्न क्यानडा, बेलायत, भारतजस्ता देशका ख्यातिप्राप्त विश्वविद्यालयका वरिष्ठ प्राध्यापक, डाक्टरलाई बाह्य परीक्षकका रूपमा बोलाएका थिए।

बाह्य परीक्षा सम्मिलित जाँचबाट १२ जना मात्रै पास भएका थिए। बाह्य परीक्षकले समेत नेपालको चिकित्सक कुनै पनि मेडिकल स्कुलको भन्दा कमजोर नभएको बताएपछि नेपालको उत्पादनले वैधता पाएको थियो। 'अन्तर्राष्ट्रिय व्यक्तिलाई ल्याएर स्वतन्त्र परीक्षा गराउँदा पनि खरो उत्रिन नसकेपछि बल्ल नेपालको चिकित्सा शिक्षाले मान्यता पाएजस्तै भयो,' आइओएमकै पूर्व डिन डा. रमेशकान्त अधिकारी भन्छन्। यसरी मध्यमस्तरको जनशक्तिबाट चिकित्सक बनाउने प्रचलन आठ वर्षसम्म चलेर बन्द भएको थियो।

डाक्टर साहको सोचबाटै नेपालमा एक किसिमको कम्युनिटी ओरिएन्टेड मेडिकल स्कुलको सुरुआत भएको थियो। मध्यमस्तरको स्वास्थ्य कार्यकर्ता भएर मात्र डाक्टर हुन पाइन्छ भन्ने अवधारणाका पछाडि उनको तर्क गाउँमा काम गर्नसक्ने र गाउँको अवस्था बुझेको चिकित्सक चाहिन्छ भन्ने नै थियो। 'अस्पतालमा मात्रै बसेर पढ्ने होइन कि समुदायमा पनि जानुपर्छ भन्ने सोच थियो उहाँको,' डा. अधिकारी भन्छन्। डा. साहकै सम्झना समुदायमा काम गर्ने स्वास्थ्य जनशक्तिलाई उहाँले पुर्‍याएको योगदान अतुलनीय रहेको डा. अधिकारी बताउँछन्।

त्यसअघि जनरल शल्यचिकित्सकका रुपमा वीर अस्पतालमा लामो समय बिताएका साहले नयाँ मोडलमा आधारित पढाइ सुरु गरेर मेडिकल शिक्षाविद्लाई समेत चुनौती दिएका थिए। उनले करिब चार दशकअघि देखेको सपना यथार्थ बनेर अहिले नेपालमा प्रत्येक वर्ष २ हजार डाक्टर उत्पादन भइरहेका छन्। 'भारतमा हुने पढाइको अनुकरण नगरी जिल्ला–जिल्लामा डिजिज सर्वे गरेर नेपालसुहाउँदो चिकित्सक उत्पादन सुरु गरे,' आइओएमका पूर्व डिन डा. अधिकारी मोहिनलाई सम्झन्छन्। 'उहाँ तेज र इनोभेटिभ मस्तिष्क भएको मान्छे हुनुहुन्थ्यो,' अधिकारी भन्छन्, 'गाउँमा काम गरेका र खारिएका मान्छेलाई डाक्टर बनाउँछु भन्ने आँट गज्जबकै थियो।'

विसं १९८४ सालमै राणा प्रधानमन्त्री चन्द्रशमशेरले नेसनल सिभिल मेडिकल स्कुलका रुपमा पहिलो मेडिकल कलेज खोले पनि त्यो सफल भएको थिएन। विसं २०१५ सालमा बिपी कोइराला सरकारले मेडिकल कलेज खोल्ने भनेर विभिन्न देशमा छात्रवृत्ति कोटा मागेर एनाटोमी फिजियोलोजी पढाउन पठाए पनि सपना पूरा नहुँदा सरकार अपदस्थ भयो।

त्यो सपना साकार बनाउने मन राजा महेन्द्र र वीरेन्द्रको समेत थियो। बेलायतमा कार्यरत साहलाई महेन्द्रले बेलायत भ्रमणका क्रममा भेटेर फर्किन आग्रह गरेर फर्काएका थिए। २०२८ सालको नयाँ शिक्षा नीतिपछि उनलाई ०२९ सालमा राजाले नै आइओएमको डिन बनाएका थिए।

त्यसबीचमा राजा वीरेन्द्रले नै उनलाई नेपालमै डाक्टर उत्पादन थाल्न भनेपछि अगाडि बढ्न सकेका थिए। सोही क्रममा २०३३ साल मंसिरमा राजा लावालस्करसहित आइओएम गएर साहलाई ठाडो प्रश्न गरेको डा. मरासिनी सम्भि्कन्छन्।

'म आइओएममै थिएँ। यति धेरै गाडी किन आए भनेर चासो राख्दा राजाले सोधेछन्, 'नेपालमा डाक्टर कहिलेदेखि उत्पादन सुरु हुन्छ?' डा. मरासिनी भन्छन्, 'हक्की साहले भनेछन्, ६ महिनाभित्र।'

छ महिनाभित्र नसके पनि उनले आठ महिनामै २०३४ साल साउन ३२ देखि आइओएममा डाक्टरी पढाइ सुरु गराएका थिए। १९९४ मा मात्रै त्रिवि शिक्षण अस्पताल बनेकाले त्यसअघि वीर, कान्ति, प्रसूतिगृहलगायत अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गरिएको थियो।

विसं २००६ सालका एसएलसी टपरसमेत रहेका साहलाई धेरै चिकित्सक असाधारण क्षमताका चिकित्सकका रुपमा लिन्छन्। मुस्लिमको छोरा भएर पनि उनले एसएसलसीमा ५० पूणर्ांकको संस्कृत विषयमा ४८ नम्बर ल्याएको कुरा निकै चर्चित बनेको थियो। त्यो क्षमता उनले चिकित्सा पेसा र ८ वर्षसम्म डिनको रुपमा काम गर्दासमेत देखाए।

'डा. अञ्जनीकुमार शर्माको जस्तो मुख (मिठो बोली व्यवहार) डा. गंगोल (दिनेशनाथ) को जस्तो साहस र डा. साह (मोइन) को हात भएपछि मात्र परफेक्ट सर्जन भइन्छ,' डा. मरासिनी सम्भि्कन्छन्।

त्यसबेला ग्लास गो, लन्डन र एडिनबराको गरी बेलायतमा तीनटा एफआरसिएस थिए। उनले तीनै वटा रोयल कलेजको कोर्स गरेका थिए। आइओएम बनाउन सघाउनेमा डा. भीष्म प्रसार्इं, शेखरबाबु रिजाल, डा. गोपाल आचार्य, डा. हेमांग दीक्षितको नाम अगाडि आउँछ।

प्रकाशित: १४ श्रावण २०७३ ०१:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App