coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बिरामी मृत्यु प्रकरण : ओममा दोस्रो दिन पनि तनाव

काठमाडौं- पिनासको शल्यक्रियापछि मृत्यु भएकी बुटवल शंकरनगरकी ३७ वर्षीया अहेव कमला भट्टराईको आफन्त पक्ष र ओम अस्पतालबीच सहमति नहुँदा बिहीबार पनि ओम अस्पताल दिनभर तनावग्रस्त रह्यो ।
अस्पतालको लापरबाहीको कारण कमलाको मृत्यु भएको र अस्पतालले गल्ती स्वीकार नगरेको भन्दै उनीहरूले दिनभर अस्पताल हाताभित्र प्रदर्शन जारी राखे । आन्दोलनका कारण अस्पतालमा बिहीबार बहिरंग सेवा सुचारु हुन सकेन ।
घटनाको विषयमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच पटक–पटक वार्ता भए पनि वार्ता टुंगोमा पुग्न सकेन । ‘फोन गर्दै बैठक रद्द गर्दै फेरि बोलाउँदै गरे, गल्ती स्वीकार्न सकेनन्,’ मृतकका भतिज अर्जुन भट्टराईले भने । मृतकका आफन्तले अस्पतालले लापरबाही गरेको गल्ती स्वीकार्नुपर्ने, आफन्तलाई क्षतिपूर्ति दिनुपर्ने र शल्यक्रियामा सरिक चिकित्सकको भिडियो फुटेज दिनुपर्ने माग राख्दै आएका छन् । भनेको बेलामा सम्बन्धित चिकित्सक आउन नसक्नु, जथाभावी औषधी चलाइनु जस्ता लापरबाहीको कारण बिरामीको मृत्यु भएको आशंका आफन्त पक्षले गर्दै आएका छन् ।
घटनाको बिषयमा अस्पतालका निर्देशक डा.जागेश्वर गौतमसँग सम्पर्क हुन सकेको छैन । अस्पतालले भने बिरामीको मृत्यु चिकित्सकको लापरबाहीले नभएको बताउँदै स्वास्थ्य मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन टोलीलाई छानबिनमा पूर्ण सहयोग गर्न आफूहरू तयार रहेको बताएको छ । बिरामीको मृत्युलाई लिएर विवाद भएपछि स्वास्थ्य मन्त्रालयले बुधबार डा. विनोदमान श्रेष्ठको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

 

प्रकाशित: ३० भाद्र २०७४ ०६:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App